विराटनगर, २३ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको जागृती आधारभूत विद्यालय अगाडि झण्डा हल्लाउँदै एउटा गाडी विद्यालयको मुख्य गेटमा रोकियो । सो गाडीको अगाडि प्रहरीको गाडी थियो । प्रहरीको गाडी अगाडि हुनु अनि पछाडि झण्डा हल्लाउँदै गाडी आएको देखेपछि कुनै मन्त्री आएको होला भनेर धेरैले अड्कल काटे ।
दिउँसोको २ बजेर ५० मिनेट थियाे, विद्यालय बन्द भईसकेको थियो । भित्र हेर्दा विद्यालयमा एकजना शिक्षक भेटिईन्, उनको नाम थियो अमृता चौधरी । झण्डा हल्लाउँदै त्यहाँ पुगेका थिए संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल थिए । उनी विद्यालयमा पस्दै गर्दा विद्यालयका अध्यक्ष पनि देखिए । तर त्यो बेलासम्म विद्यालय बन्द भईसकेको थियो ।
विद्यालयमा पुग्ने बितिकै मन्त्री पोरखेलले विद्यालयको अवस्थाको बारेमा अध्यक्ष उपेन्द्र बस्नेतसँग बारेमा जानकारी लिए । अध्यक्ष बस्नेतले विद्यालयको अवस्था निकै नै समस्याग्रस्त रहेको बताए । विद्यालयका प्रधानाध्यापक कहिल्यै नआउने अनि आएर पनि हाजिर मात्र गरेर हिँड्ने गरेको गुनासो अध्यक्ष बस्नेतले सुनाए ।
श्री जागृती आधारभुत विद्यालयमा स्थायी दरबन्दी एकजनाको मात्र भएपनि विद्यालयमा पठन-पाठनको लागि सहयोगी शिक्षक २ जना रहेका छन् । स्थायी शिक्षकको दरबन्दीमा गणेश अधिकारी छन् । उनी नियमित विद्यालय आउँदैनन् ।
[caption id="attachment_78949" align="alignright" width="367"]
विद्यालयका प्रअ गणेश अधिकारी[/caption]
स्थानीयका अनुसार उनी विद्यालयमा बिहानै १० बजेतिर कहिलेकाँही आउँछन् धेरै दिनको हाजिर गरेर फर्किन्छन् । लामो समयसम्म यस्तो समस्या भएपनि विद्यालय व्यवस्थापन समितिले केही महिना अगाडि अध्यक्ष आफैँ आएर हाजिरी रजिस्टरमा रातो समेत लगाएका थिए ।
छलफलकै क्रममा आइपुगेका विद्यालयका अभिभावक तथा स्थानीय भवानी तिम्सिनाले मन्त्रीसमक्ष विद्यालयको अवस्था बिग्रिएको बताए । विद्यालयका प्रधानाध्याक गाणेश अधिकारीको लापरवाहीका कारण जग्गादाता केदार अर्यालले विद्यालयका लागि दिएको ४ कट्ठा १ धुर जग्गा समेत संरक्षण गर्न नसकेको बताए ।
पहिला दिएको जग्गा ४ कठ्ठा १ धुरमा पर्खाल लगाउँदा ३ कठ्ठा २ धुरमा मात्र लगाएको उनको भनाइ थियो । पछि विद्यालयको जग्गा छुट्याउने बेलामा विद्यालयका प्रअ अधिकारीले विद्यालयको जग्गा समेत संरक्षण नगरेको तिम्सिनाले बताए । क्षेत्रफल थाहा भएका शिक्षकले यस्तै हो भनेर छाडीदिएको उनीहरूको भनाइ छ । नापी कार्यालयले जग्गा नमिलेको भनेपछि मात्र आफुहरुलाई यो बारेमा थाहा भएको स्थानीय बताउँछन् ।
विद्यालयमै पढाउँदै आएकी अमृता चौधरीले मन्त्रीसँग आफ्नो गुनासो सुनाउँदै भनिन्, ‘मन्त्री ज्यु प्रअ शिक्षक सर कार लिएर कहिलेकाहीँ आउनुहुन्छ । पढाउनुहुन्न तर हामीलाई धम्क्याएर जानुहुन्छ । हामीलाई कारमा आउने शिक्षक हैन पढाउने शिक्षक पठाईदिनु पर्यो ।’
पढ्न आउने विद्यार्थीको संख्या ६० जना मात्र भएको स्कूलमा शिक्षक नआउँदा विद्यार्थी पनि आउन छाडेको उनले बताईन् । मन्त्रीले अधिकारीको बारेमा धेरै गुनासा आएपछि शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख राजेन्द्र बुढाथोकीलाई विद्यालयका बारेमा जानकारी लिएका थिए । बुढाथोकीले विद्यालयका शिक्षक अधिकारीको बारेमा पटक पटक गुनासाहरु आउने गरेको जानकारी गराए ।
विद्यालयका शिक्षक गणेश अधिकारी लामो समयदेखि जग्गा कारोवारीको रुपमा परिचित छन् । उनी जग्गाको कारोवारमा समय दिने तर विद्यालयलाई समय नदिने गरेको पाइएको हो । विद्यालयमा गएर पढाउन भन्दापनि बाहिरी काममा व्यस्त हुने उनलाई विद्यालयका कर्मचारी तथा सहयोगीले केही सोध्यो भने समेत थर्काउने गरेको आरोप लागेको छ ।
आफैं अनुगमनमा पुगेको पहिलो विद्यालयको यस्तो अवस्था देखेका मन्त्री पोखरेलले खेताला शिक्षकहरुकै कारण शिक्षाको अवस्था बिग्रिएको भन्दै यस्ता शिक्षक कार्वाहीलाई कार्वाही गर्ने बताए । उनले यो एउटा विद्यालय मात्र नभई धेरै यस्ता विद्यालयहरु रहेकोले कसरी व्यवस्थित गर्ने भन्ने बारेमा शिक्षा नीति बन्ने प्रक्रियामा रहेकोले अब कार्वाहीको रुपमा अगाडि लैजाने बताए ।
मन्त्री पोखरेलले आफु पहिला मन्त्री भएकै बेला यो विद्यालयको गुनासा पटक–पटक आएको कारण आफु कस्तो विद्यालय रहेछ भनेर अनुगमनमा आएको बताए । मन्त्री पोखरेलले जागृती आधारभुत विद्यालय मात्र हैन विराटनगर महानगरपालिका १ पाखरीयामा रहेको 'पोखरीया माध्यामिक विद्यालय', बुढीगंगा गाउँपालिकामा रहेको 'नरग्राम माध्यामिक विद्यालय'को समेत अनुगमन गरेका छन् ।