ताप्लेजुङ, २४ फागुन । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिल्यै पनि सात जना एउटै हेलिकप्टरमा नचढेको बताए ।
भट्टराईले पाथीभराबाट हेलिकप्टरमा सात जना चढाएर लैजानुले दुर्घटनाका बारेमा विभिन्न आशंका उब्जाएको बताए । ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना भएर ठूलो क्षति ब्यहोर्नुपरेको थियो, यसपटकको दुर्घटनाले पनि धेरै आशंका उब्जाएका छन्’, उनले भने। पाथीभरामा जाँदा हेलिकप्टरबाट फुङलिङमा रहेको आर्मीको ब्यारेक वा सुकेटारमा छोडेर ४ जना मात्र जाने गरेको उनले बताए ।
सरकारले घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरिसकेकाले सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त रहेको भट्टराईले बताए । हिमाली क्षेत्रको भूगोल विकट र मौसम पनि परिवर्तनशील हुने हुँदा त्यस क्षेत्रको हवाई उडानमा विशेष ध्यान दिनुपर्नेमा सांसद भट्टराईले जोड दिए । दुर्घटनाको जोखिम पहाड र तराई सबैतिर हुने भन्दै उनले सावधानी अपनाए क्षति न्यूनिकरण गर्न सकिने बताए ।
पाथीभरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अन्तरष्ट्रिय उच्च पदस्थ व्यक्तिहरुलाई भ्रमण गराउने प्रयास भइरहेको समेत भट्टराईको भनाइ थियो । ‘पर्यटन व्यवसाय ताप्लेजुङको समृद्धिको आधारस्तम्भ हो’, उनले भने, ‘त्यसैले यो जिल्ला सुरक्षित रहेको सन्देश दिनका लागि भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई समेत छिट्टै ल्याउने प्रयास गरिरहेका छौँ ।’
ताप्लेजुङमा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनामा निधन भएकाको स्मृतिमा पुङलिङमा एउटा स्मृति पार्क बनाउने पहल गरिने भट्टराई बताउनुभयो ।
श्रद्धाञ्जली सभामा बोल्दै उहाँले पछिल्लो पुस्तामा सम्भावना बोकेका नेता र अहिलेको सरकारका गतिशील मन्त्रीको रुपमा रवीन्द्र अधिकारीलाई सम्झिनुभयो ।
दुर्घटनाको अघिल्लो दिन पनि ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नतिका विषयमा अधिकारीसँग भट्टराईले कुरा गरेको बताउनुभयो ।
नेकपाले मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा फुङलिङमा श्रद्धाञ्जली सभा गरेको थियो ।