फेरबदल हुँदै मौसम प्रणाली , यो वर्ष चाँडै जाडो शुरु

फेरबदल हुँदै मौसम प्रणाली , यो वर्ष चाँडै जाडो शुरु

चाँदनी हमाल

काठमाडौँ, चैत ६ गते । यो वर्ष चाँडै जाडो शुरु भयो । झण्डै १२ वर्षपछि हिउँदमा काठमाडाँैं उपत्यका वरपरका डाँडामा हिउँ प¥यो । त्यस्तै ‘प्रिमनसुन’ अगाडि नै सक्रिय भयो ।
विगत चार वर्षको तुलनामा यो वर्ष मौसम अलि फरक देखिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजेन्द्र शर्मा बताउनुहुन्छ ।

उहाँको भनाइ छ, “जाडो र गर्मी विस्तारै बढ्ने र सिमसिम पानी पर्ने प्रवृत्तिमा विगत वर्षको तुलनामा धेरै फरक आएको छ । अहिले जाडो वा गर्मी एक्कासि बढ्छ, पानी ह्वार्रर्र पर्छ । यो राम्रो लक्षण होइन । यसले कतै हाम्रो मौसमी प्रणाली अतिवृष्टि र अनावृष्टितर्फ त जाँदै छैन भन्ने शङ्का गर्न सकिन्छ ।”
साथै, नेपालको जमिनमा पानीको सतहमा कमी आएर सुक्खा बढ्ने किसिमको मौसम प्राणाली उन्मुख भइरहेको अनुमान विभागले गरेको छ ।

यस्तै, वर्षायाममा एक्कासि धेरै पानी पर्दा पहाडमा अचानक पहिरो जाने, तराईमा डुबान हुने र हिमताल फुट्ने उच्च जोखिम बढेको मौममविद् शर्माले उल्लेख गर्नुभयो ।
पछिल्ला चारवर्ष तथा सन् १९७१ देखि २०१४ सम्मको ४३ वर्षको अवधिको मौसम फेरबदलको प्रवृत्ति हेर्दा प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम वृद्धि भइरहेको विभागकै अर्का वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

मौमसविद् मानन्धरका अनुसार पानी पर्ने दरमा भने वार्षिक माइनस १.३३३ मिलिमिटरका दरले कमी आइरहेको छ । नेपालको जलवायु प्रवृत्ति विश्लेषण सन् १९७१ देखि २०१४ नामक प्रतिवेदन अनुसार पूर्व मनसुनको अवस्थामा प्रतिवर्ष माइनस ०.०८१ मिलिमिटरका दरले कमी आएको छ ।
मनसुनको समयमा समेत माइनस ०.०८५ मिलिमिटरका दरले प्रतिवर्ष वर्षात् कम भइरहेको छ । हिउँदे वर्षामा माइनस ०.३२४ मिलिमिटरका दरले कमी आइरहेको छ । जसको असर नेपाल जस्तो कृषि प्रधान देशमा हुने मनसुनी खेतीमा सिधै पर्ने गरेको उहाँले बताउनुभयो ।

डिसेम्बर ३१, २०१८ को दिन यसवर्षको सबैभन्दा चिसो दिनका रूपमा रेकर्ड भएको विभागका मौसमविद् शर्माको भनाइ छ । उक्त दिन माइनस ०.५ डिग्री सेल्सियस सम्म तापक्रम झरेको थियो ।
एक्कासि बढेको यो चिसो चैत पहिलो सातासम्म घटेको अनुभव सर्वसाधारणले गरेका छैनन् । दिउँसो केहीबेर ह्वात्तै तातो अनुभव गरिन्छ तर अपराह्नपछि फेरि चिसो बदली हुने क्रम जारी नै छ ।
शर्माका अनुसार यसवर्ष जसरी चिसो ह्वात्तै बढ्यो तातो पनि उही स्तरमा बढ्ने अनुमान छ । काठमाडौँमा २०१८ को जुलाई २१ का दिन सबैभन्दा तातो अनुभव गरियो । त्यस दिन ३३.६ डिग्री सेल्सियस तापक्रम कायम रहेको थियो । देशभरको अवस्था हेर्दा अत्यधिक चिसो हुने जुम्लामा २०१९ जनवरी ७ मा सबैभन्दा कम माइनस ८.७ डिग्री सेल्सियस चिसो रेकर्ड भएको थियो ।

त्यसैगरी, अत्यधिक गर्मी हुने स्थान धनगढीमा २०१८ मे २३ का दिन देशकै सबैभन्दा बढी ४१.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । २०१८ को अक्टोबर महिनामै पोखरामा सबैभन्दा बढी पानी परेको थियो । यो महिना भरमा १५६.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
एकवर्ष अघि अक्टोबर महिनामा दार्चुलामा माइनस १.५ डिग्री सेल्सिियस तापक्रम रेकर्ड भएको थियो । गर्मीको रेकर्ड भने मे महिनामा भैरहवामा सबैभन्दा बढी ३७.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । ढिला गरी सुरु भएको मनसुनको अवस्थामा सुधार हुँदै २०१७ को अगष्टमा काठमाडौँमा अत्यधिक वर्षा भएको रेकर्ड विभागको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्