प्रेम देवान ।
विराटनगर, १२ चैत । भर्खर्रै संचालनमा आएको विराटनगरको नयाँ टर्मिलन बसपार्क ५ वर्षकालागि पब्लीक प्राईभेट पार्टनरसिपमा शुरु भएकाे छ ।
विराटनगर महानगरपालिका र वसपार्क व्यवस्थापन समितिको साझेदारीमा ५ बर्षका लागि (पि.पि.पि) साझेदारीमा गएको हो । विराटनगर ११ मा रहेको टर्मिनल बसपार्क गत माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । नगर विकास कोषको ८ करोड ४३ लाख ऋण सहयोगमा महानगरपालिकाले बसपार्क निमार्ण गरेको थियो ।
प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले नयाँ टर्मिनल बसपार्कको उद्घाटन गरेपछि केही समयको लागि महानगरपालीकाले नै संचालन गर्दैै आएको थियो । करिब डेढ महिना आफैले सञ्चालन गरिपछि पब्लिक प्राईभेट पार्टनरसिपमा ठेक्का दिएको महानगरपालिकाका प्रवक्ता एवम् वित्तिय ब्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानले जानकारी दिए । अब बसपार्कको सम्पुर्ण व्यवस्थापनको काम समितिले नै हेर्ने प्रधानले भने । विभिन्न बस व्यावसायी, मजदुर संङगठन, कर्मचारी , टोल सङगठन, वडा कार्यलय र महानगरको सयुक्त साझेदारीमा पब्लिक पार्टनर सिपमा लगेको हो ।
बसपार्क एक नम्बर प्रदेश कै नमुना टर्मिनल बसपार्कको रुपमा चिनाउन लागेको बस पार्क व्यावस्थापन समितिका संयोजक पदम श्रेष्ठले बताए । ‘मासिक नगर कोषको लागि व्याज तिर्न मासिक ६ लाख दिने सर्तमा बसपार्क व्यवस्थापन समितिले ठेक्का लिएको छ, ’ उनले भने । यसका लागि प्रत्येक वर्ष ५ प्रतिशतले ब्याज बढाउने सर्त रहेको छ । हाल बसपार्कमा ११ जना कर्मचारी रहेका छन् ।
बसपार्कमा माथिल्लो तल्लमा रेष्टुरेन्ट, लगेज रुम र प्रशासन कक्ष रहेको छ । ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुका लागि वेइटिङ रुम, रेष्टुरेन्ट, ब्यागेजहरु राख्ने स्थान रहेको छ । तर पुर्ण ब्यवस्थापन भएको छैन ।
बस टर्मिनलको भुईँतल्लामा आउट र इन डोर रहेको छ । सबै तिर ८ वटा टिकट काउन्टर रहनेछ । आगामी बैशाखदेखि बसपार्क भित्र क्यान्टिन संचालनमा ल्याउने तयारी भईरहेको छ ।