हिमालझै अटल शिर ,
सुर्यझै चम्किला आंखाहरु,
सेतो गुरांसझैं ढकमक्क फुलेका दारि,
नागबेली बिर्साउने गलबन्दि,
शरिरसगै सपक्क टांसिएर रमाइरहेको झोला
म सम्झिरहेंछु
प्रोफेसर को
छायांमा - लाखौ विद्यार्थीको मुहार चम्कन्थ्यो , भाग्य फक्रन्थ्यो
आखांमा -सम्पूर्ण सृस्टिको रहस्य झल्कन्थ्यो,
बोलिमा -ज्ञानको मधुर मोहनी पाइन्थ्यो,
हातले अक्षरका पहाडहरु उभ्याइरहन्थे
ए, क्षितिज !
जबाफ दे-
यतीबिघ्न अक्षरका पहाडहरु सजाएर,
यि नजरबाट
कता हराएका छन - प्रोफेसर ?
यि फांटिला मस्तिस्कहरुमा
हरपल अक्षरका पालुवाहरु उब्जाइरहने,
कर्मबिर -कहाँ, के गर्दैछन ?
बर्तमान हरेक प्रहरहरुमा
उनले उभ्याएका दर्जनौ चुचुराबाट
हामफालिरहेछन
हजारौं अक्षरहरु आकशभित्र
र
चम्किरहेछन ताराहरु,
उडिरहेछन चराहरु
इन्द्रेणी सजिएर हृदयभित्र – भरिरहेछ स्नेहको रङ,
बगिरहेछन प्रेम उमार्दै
चुचुरोबाटै प्रेमिल अक्षरका नदिहरु
प्रोफेसरको एक फुकाइको सितलताले
लाडिएर उफ्रन्थे हत्केलाका सितहरु
र निदारमा घाम मुस्कुराउथ्यो
तर आजभोलि ,
किन देखिदैनन प्रोफेसर ?
किन भेटिदैन,चारै दिशा मगमगाउने ज्ञानको सुगन्ध ?
ए, अक्षरहरु !
कतै तिम्रो पहाड
प्रोफेसरलाई कुल्चिएर उभिएको त छैन?