विराटनगर चैत्र २७ ।
सुरुङा–४, झापा घर भई दैनिक ज्याला मजदुरी गर्दै आएका ४५ वर्षिय लखन माहोलीको टाउकोमा रहेको ट्युमरको विराट मेडिकल कलेज हस्पिटलले सफलताका साथ शल्यक्रिया गरेको छ । हस्पिटलको न्युरो सर्जरी विभागका चिकित्सकहरुद्वारा लखन माहोलीको टाउकाको सफलतापुर्वक शल्यक्रिया गरेका हुन् ।
बिरामी लखन महोलीका अनुसार लगभग १५ वर्षको उमेरमा नै टाउकोको पछाडी भागमा सानो मासुको डल्लो देखिएको थियो । उक्त मासुको डल्लोको आकार क्रमिक रुपले वृद्धि हुँदै गएतापनि यत्तिका वर्षसम्म पनि डल्लोले केही समस्या गरेको थिएन । उनले पनि डल्लोले कुनै समस्या नदेखाएपछि उपचारमा ध्यान पनि दिएका थिएनन् । तर, विगत २–३ महिना देखि बेस्सरी टाउको दुख्दै मासुको डल्लोको आकार अत्याधिक रुपमा वृद्धि भयो । आर्थिक अवस्था कमजोर भएका माहुली आफ्नो उपचार गर्ने की मजदुरी गर्ने भन्ने दोधारमा रहे ।
समस्या बढ्दै जाँदा उपचार कै क्रममा झापाका विभिन्न अस्पतालहरुमा उपचारका लागी धाएता पनि समस्याको समाधान भने हुन सकेन । झापामा अत्याधिक पैसा उपचार र जाँचमा खर्च भएपछि दिनदिनै आर्थिक तथा स्वास्थ्य समस्या पनि बढदै गएको बिरामीकी श्रीमती प्रमिला माहुलीले बताइन् । यसै क्रममा उनीहरु उपचारको लागी विराटनगर आए ।
बिराटनगरकै एक अस्पतालमा देखाउदा समेत त्यहाँका चिकित्सकले उपचार सम्भव नभएको भन्दै कमजोर आर्थिक अवस्था भएका माहुलीलाई चिकित्सकले फर्काइदिए । यस्तैमा उनीहरुले अस्पतालकै कुनै कर्मचारीबाट उक्त रोगको उपचार बिराटनगर टंकीसिनुवारी स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपलब्ध रहेको जानकारी दिए । अनी उनीहरु विलम्ब नगरीकन बिराट मेडिकल कलेज आए । ‘हामीले त आश नै मारिसकेका थियौं, धन्न त्यहाँका मान्छेहरुले यहाँ जान भने ।’ उनले भने ।
त्यसपछि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्यूरो विभागमा कार्यरत न्यूरो सर्जन डा. माधब देव र डा. शिलक राम चौधरीले बिरामीको समस्या बुझ्दै बिरामीको अवस्था र आवश्यकता अनुसार सिटि स्क्यान लगायत अन्य आवश्यक जाँचहरु गराई बढेको ट्यूमर निकाल्न शल्यक्रिया गर्नुपर्ने सल्लाह बिरामी र उनका श्रीमतीलाई दिए । र, उनको सफल उपचार हुने आश्वासन पनि दिए । त्यसपछि परिवारकै सल्लाहमा गत चैत्र १९ गते माहुलीको टाउकोको सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालियो ।
अहिले बिरामीको अवस्था समान्य रहेको उपचारमा संलग्न न्यूरो सर्जन डा. माधव देवले बताए । यता बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्ना श्रीमानले वर्षौंदेखि पालेको रोग निको भएपछि श्रीमती प्रमिला माहुली समेत दंग छिन् ।