‘वृहत विराट क्षेत्र विकाससँग प्रदेश राजधानीको कुनै साइनो छैन’

<span class='c1'>‘वृहत विराट क्षेत्र विकाससँग प्रदेश</span> <span class='c2'>राजधानीको कुनै साइनो  छैन’</span>

विराटनगर, १० बैशाख । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले वृहत विराट क्षेत्र विकाससँग प्रदेश राजधानीको कुनै साइनो नभएको बताएका छन् ।

प्रदेश सभामा छलफल भइरहेको वृहत विराट क्षेत्र विकास सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले यसलाई राजधानीसँग जोडेर नहेर्न आग्रह गरे । ‘यो विधेयक विशुद्ध विकाससँग सम्वन्धित छ, यसको राजधानीसँग कुनै साइनो सम्वन्ध छैन,’ मन्त्री कार्कीले भने ‘राजधानी अन्यत्र सार्ने वा एक भन्दा बढी ठाउँमा छर्नका लागि पनि यसको भूमिका छैन ।’  विराट क्षेत्रको ऐतिहासिक पृष्ठभूमिलाई लिएर विकासको योजना बनाउन सरकारले विधेयक तयार गरेको उनले प्रस्ट पारे ।

विधेयकको उद्देश्य नै स्पष्ट नभएको भन्ने प्रश्नको जवाफमा उनले ऐतिहासिक विराट क्षेत्रको विकास गर्नु प्रमुख उद्देश्य भएको जवाफ दिए । ‘विभिन्न दातृ निकायहरुले लगानी गर्न योजनाहरुको खोजी गर्ने तर सरकारसँग योजना नहुने अवस्था छ,’ मन्त्री कार्कीले भने ‘योजना अभावमा लगानीकालागि पहल गर्न नसक्ने अवस्था अन्त्य गर्न सरकारले यस्ता अरुपनि अवधारणाहरु तयार गर्दै जाने छ ।’ विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा प्रदेश सभाका २३ जना सांसदहरुले सहभागि थिए । प्रदेश सभामा सबैभन्दा धेरै सैद्धान्तिक र तार्किक बहस यसै विधेयकमाथि  भएको थियो । विधेयकमाथि छलफल गर्दै सांसदहरुले विधेयकको नियतमाथि नै आशंका गरेका थिए । उद्देश्य प्रष्ट नभएको, राजधानी छर्ने नियत राखेको, क्षेत्र समेट्दा विभेद गरेको, पहाडमा जाने बजेट कटौती गर्न खोजेको,षड्यन्त्र गरेको जस्ता दजर्नौ प्रश्न र आरोपहरु लगाएका थिए ।

मन्त्री कार्कीले विकास बजेटमा कटौती नहुने भन्दै आश्वस्त पारे । उनले सरकार स्पष्ट दृष्टिकोणकासाथ अघि बढिरहेको भन्दै कुनै षड्यन्त्र र छलछाम गरिरहनु पर्ने आवश्यकता नरहेको टिप्पणी पनि गरे ।  कानून निर्माण गर्दा सरोकारवाला पक्षसँग छलफल नगरेको र कुन तालुक अड्डाको मातहतमा सो संरचना रहने भन्ने स्पष्ट नभएको भन्ने सांसदहरुको प्रश्न थियो ।

मन्त्री कार्कीले तालुक अड्डाको विषयमा विधेयक अस्पष्ट रहेको स्वीकार गर्दै संशोधन मार्फत पूर्ण बनाउनु पर्ने बताए । उनले विधेयक तयार गर्दा सम्वन्धित मन्त्रालयको आवश्यकता अनुसार तयार पार्ने र छलफलकालागि निश्चित प्रकृया पुरा गरेर संसदमा आउने भएकोले पहिले नै छलफल गर्न आवश्यक नरहेको टिप्पणी गरे ।

उनले कानून मस्यौदा समितिसँग आवश्यकताका आधारमा छलफल गर्ने बाहेक अरुसँग छलफल गर्ने परिपाटी नभएको पनि बताए ।  प्रदेश सभाले छिट्टै प्रदेशको नाम र राजधानी टुंगो लगाउने उनको विश्वास छ । संसदमा बोल्ने क्रममा उनले नाम र राजधानी छिटै टुंगिने बताए ।

प्रदेश सभाको चालु अधिवेशन वैशाख २२ गते अन्त्य गर्ने तयारी सरकारले गरेको छ । यहि अवधिभित्र प्रदेशको नाम र राजधानी टुंगिने मन्त्री कार्कीले अनौपचारिक सम्वादका क्रममा पनि बताए ।   यसैबीच प्रदेश सभाको बैठकमा सामाजिक विकास समितिका सभापति सरिता थापा खड्काले प्रदेश खेलकुदका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल गरी प्रतिवेदन पेश गरे । अत्यन्त सुक्ष्म अध्ययन पछि तयार पारिएको प्रतिवेशनमा ८९ बुँदामा संशोधन गर्न सुझाव दिइएको छ । ४६ दफा रहेको विधेयकमा ८९ संशोधनको सुझाव दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्