विराटनगर, १७ वैशाख । विराटनगरमा रहेर लामो समयदेखि रंगक्षेत्रमा काम गर्दै आएका रामभजन कामतद्धारा लिखित मिता आब कोना चलब नाटक मञ्चन हुने भएको छ ।
काठमाडौँमा रहेको मण्डला नाटकघरमा आगामी वैशाख २० गतेदेखि विराट मैथिल नाट्य कला परिषदले पहाडी र मधेशी समुदायको सम्बन्धको कथालाई समेटेर तयार पारिएको नाटक मञ्चन गर्ने भएको छ ।
विराटनगरका रंगकर्मी रामभजन कामतद्धारा लिखित तथा निर्देशित नाटक बैशाख २० गतेदेखी जेठ ५ गतेसम्म मञ्चन गर्ने तयारी भएको हो । हरेक दिन साँझ ५ः१५ बजे र शनिवार १ बजे र ५ः१५ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।
पहाडी र मधेशी समुदायबिचमा हुने बैमनश्यताका कारण र तिनले राष्ट्रिय एकतामा पार्ने असरमा केन्द्रीत भएर नाटक तयार गरिएको निर्देशक कामतले बताए । नाटकमा मैथिली र नेपाली दुवै भाषामा संवाद बोलिने उनको भनाई छ ।
‘नाटकमा जातीयता र राष्ट्रिय एकतालाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजेका छौँ, निर्देशक कामतले भने, अनेकन ऐतिहाँसिक महत्वको मैथिल संस्कृतिलाई पनि मुख्य गरि नाटकमा प्रस्तुत गरेको छु ।’
नाटकमा निर्देशक कामत सहित, मिलन नेपाली, सुनिता घिमिरे, भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, कौशिला कामत, सञ्जय गुप्ता, अमृता श्रेष्ठ, आदित्य झा, अमृत स्वाँर लगायतका कलाकारले अभिनय गरेका छन् ।