कबोल गरेको चारआना सुन दाइजो दिन बाँकी हुँदा मनिषाको हत्या !

<span class='c1'>कबोल गरेको चारआना सुन दाइजो दिन</span> <span class='c2'>बाँकी हुँदा मनिषाको हत्या !</span>

सिरहा, २३ बैशाख ।सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।

विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षड्यन्त्र भएको आरोप लगाए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

‘७ वैशाखमा ज्वाइँसहित छोरीलाई बिदा गरेको थिएँ,’ उनले भक्कानिँदै भने, ‘यातनाका कारण छोरीको मृत्यु भएपछि बिरामी छे भन्ने खबर आयो, मोबाइलमा कुरा गर्न खोज्दा सुतिसकेकी छ भन्दै सम्धिनीले कुरासमेत गर्न चाहिनन् ।’

मण्डलका अनुसार करिब १५ लाख मूल्य पर्ने घडेरी नौ लाखमा बेचेर एक्ली छोरी मनीषाको गत १६ फागुनमा भएको विवाहमा कबोलअनुसारको चारआना सुन दिइएको थिएन ।

‘त्यही सुनका कारण छोरीलाई घरमा पति, सासू, नन्दसहितले लगातार मानसिक तथा शारीरिक यातना दिन थालेको थाहा पाएपछि ३० चैतमा छोरीलाई घरमा ल्याएर ७ वैशाखमा बिदा गरेको थिएँ,’ उनले भने ।

गत १६ फागुनमा गोलबजार चोहर्वाका रघुनाथले एक्ली छोरी मनीषाको सिरहा नगरपालिका–१४ खिरौनाका २२ वर्षीय रामरेश मण्डलसँग सामाजिक परम्पराअनुसार विवाह गरिदिएका थिए ।

विवाहमा डिस्कभर मोटरसाइकल, एकतोला सुन, लत्ताकपडा, भाँडाकुँडा, भोजभतेरसहित करिब १० लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।

‘विवाहकै वेलामा डिस्कभर मोटरसाइकल, नगद डेढ लाखसहित सवातोला सुन दिने कबोल गरे पनि खर्चले नपुगेपछि चारआना सुन बाँकी थियो,’ उनले भने, ‘विवाहमण्डपमै ज्वाइँले त्यसबारे विवाद झिकेका थिए, साथै कन्यादानका वेलामा मनीषाकी मामाले दिएको बाच्छीको पनि नगद नै माग गरेका थिए।’

विवाहमा बाँकी रहेको चारआना सुन र कन्यादानको रकम माग गर्दै ज्वाइँ, सम्धिनी र नन्दले विवाहपछि छोरीलाई यातना दिएर १९ वैशाख राति ज्यान नै लिएको उनको दाबी छ ।

‘घटना भएको राति छोरीलाई सन्चो छैन भन्दै छिमेकीले खबर गरेपछि सम्धिनीलाई फोन गरेर उपचारका लागि तत्काल लैजानुस्, सबै खर्च व्यहोर्छु भनेँ,’ उनले भने ‘सम्धिनीले सुतिसकेकी छ भन्दै फोन काटिन्, अत्तालिएर राति साढे १२ बजेतिर छोरीको घर पुग्दा छोरीको प्राणपखेरु उडिसकेको थियो।’

छोरीको मृत्युपछि रघुनाथले उनको विवाहमा दिएको डिस्कभर मोटरसाइकल फिर्ता ल्याएका छन् । मनीषाकी बाबुले छोरीको हत्या भएको आरोपसहित जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिएपछि सोधपुछका लागि झिकाइएका पति रामरेश र सासू तारादेवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले शुक्रबार नै पति र सासूलाई नियन्त्रणमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्