बुढीगंगामा अन्तरजातीय भागी विवाह प्रकरण : पानी नदिएको विषयमा अनुसन्धान सुरु

<span class='c1'>बुढीगंगामा अन्तरजातीय भागी विवाह प्रकरण :</span> <span class='c2'>पानी नदिएको विषयमा अनुसन्धान सुरु</span>

विराटनगर, ३१ बैैशाख ।  दलित मुसहर युवा र थापा क्षत्री युवती भागेसँगै दलित वस्तीमाथि खानेपानी नै नदिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। थापा परिवारका प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएर प्रहरीले बयानसमेत लिएको छ।

साथै मुसहर युवासँग भागेकी युवतीको खोजी पनि सुरु गरिएको मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।   मोरङको बुढिगंगा गाउँपालिका २ सख्माटोलका ऋषिदेव परिवारका युवा सनी ऋषिदेवले छिमेकी सिर्जना थापा मगरलाई भागाएका थिए। हालसम्म उनीहरू नभेटिएको प्रहरीको भनाइ छ। दुवै जनाले प्रेम विवाह गरेर भागेको आफन्तले दाबी गरेका छन्। गत चैतमा सम्पन्न एसइई परीक्षा सकिएको अन्तिम दिन चैत १८ गते सनि र सिर्जना भागेका थिए। उनीहरूका बाबु ठाकुर ऋषिदेव र रामु थापाबीच विगतमा सुमधुर सम्वन्ध रहे पनि ठाकुरका छोराले रामुको छोरी भगाएर लगेपछि उनीहरूबीचको सम्बन्ध शत्रुतापूर्ण बनेको थियो।

छोरीलाई आफ्नै जमिनमा बस्ने तल्लो जातको ऋषिदेवले भगाएपछि थापा परिवार मुसहर परिवारको पिउने पानीको मुहान बन्द गरिदिने र उनीहरूलाई विस्थापन नै गर्ने योजनामा रहेको सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। थापा समुदायले ऋषिदेव वस्तीको ट्युबेल हटाइदिएको भन्दै पीडितले प्रहरीमा उजुरी दर्ता गरेका थिए। ‘पानी खान नदिएको विषय छुट्टै विषय हो,’ एसपी केसीले भने, ‘यस विषयमा हामीले अनुसन्धान गरेका छौं।

कारबाहीको प्रक्रिया सुरु गरेका छौं।’ केसीले भागेकी १८ वर्षीय युवतीको खोजीका लागि परिवारले आग्रह गरेको कारण खोजी सुरु गरिएको बताए। ‘आफ्नी छोरी हराएको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेका छन्,’ एसपी केसीले भने, ‘यो विषयमा परिवारसँग बुझ्ने र सूचना लिने काम गरेका छौं।’

छोरी भगाएपछि थापा परिवारले छोरा खोजेर ल्याउन ठाकुरलाई दबाब दिँदै आएका छन्। सनीका मामा दिपनारायण ऋषिदेवका अनुसार दुई जना भागेपछि आक्रमणमा पनि थापा परिवार उत्रिएको थियो। वडाअध्यक्ष चौधरीले मुसहर समुदायमाथि कुटपिट भएको र सानो जातको केटाले मगरकी छोरी भगायो भन्ने अभियोगमा पानीको स्रोत नै बन्द गरी दिने घटना भएको बताए। यतिबेला सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेव त्यहाँबाट विस्थापित भएका छन्। बारम्बार कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि छोरा खोज्न भनेर हिँडेका उनीहरू घर फर्किएका छैनन्। ठाकुरको घर यतिबेला खाली छ।

तीन साता अघि गाउँमा ठूलै झडप भयो। घटनामा १० जना घाइते भएका थिए। थापा परिवारका घाइते ६ जना र ऋषिदेव परिवारका ५ घाइते भए। तर थापा परिवारको उपचार खर्च मुसहर परिवारले नै ब्यहोर्न बाध्य भएको छ। घाइते भएका मुसहरहरूले पनि उपचार नै पाएनन्। थापा परिवारको आक्रमणमा घटना भएको भए पनि उनीहरूको उपचार खर्च १३ हजार मुसहर परिवारले नै तिर्नु परेको थियो।

मुुसहर बस्तीमाथि जाइलागेका रामु थापाले छोरी फिर्ता ल्याइदिन आग्रह गर्दा नमानेपछि समस्या भएको बताएका छन्। आफूहरूबीच राम्रै सम्बन्ध भए पनि छोरी भगाएर लगेपछि खोजेर ल्याउन भने पनि नमानेको उनले बताए। थापा परिवारले ऋषिदेव परिवारलाई छोरी बेचिदिएको आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्