रबिन्द्र बराल
रंगेली, ३१ बैशाख ।
मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ८ कुडेलीकको बिश्वकर्मा टोल छ । यहाँ बसोवास इलयाज मियाँका २२ बर्षका छोरा रहेमान मियाँको टाउकामा ठुलो घाउ छ तर उपचार हुन् सकेको छैन। उनी उपचारको सहयोगको आग्रह गर्दै सुनवर्सी नगरपालिका गए तर नगरपालिकाले आर्थिक सहयोगको नामा जम्मा २ हजार दियो । उनी त्यही रकम लिएर फर्किए ।
एक बर्ष अगाडि बिधुत लाईन बनाउने क्रममा टाउकोमा करेट लागेपछि उनको शरीर समेत कमजोर भयो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण एक बर्ष बितिसक्दा समेत उनले आफ्नो टाउकोमा रहेको गहिरो घाउको उपचार गर्न पाएका छैनन् ।
दैनिक ज्याला मजदुरी गरेर घर खर्च चलाउँदै आएका रहेमान अहिले परिवार पाल्न गाउँ घरमा मागेर छोरा छोरीको पालन पोषणमा छन् । एक छोरा, तीन छोरी र श्रीमती रहेका उनको आर्थिक अबस्था कमजोर भएकै कारण समस्या आएको उनले बताए ।
केही महिना अगाडि रंगेली अस्पतालमा उपचार गराउन आएका उनको टाउकोमा छाला लगाउ डाक्टरले सुझाव दिएको थियो । अन्यत्र गएर उपचार गराउन सम्भव नभए पछि अहिले उनले राम्रो अस्पतालमा गएर उपचार गराउन नसकेको बताए ।
सुनवर्सी नगरपालिकाले आर्थिक सहयोगको पत्र लेखिदिए पछि उनले सोही पत्र देखाउदै रंगेली बजारमा उपचारका लागि रकम माग्दै उपचारको याचना गरिरहेका छन् ।
उनले उठाएको रकमबाट उपचार त गरेका छैनन् नै बिहान बेलुकाको छाक टार्नमा प्रयोग गर्दै आएका छन् ।