काठमाण्डौ १६ असार । भक्तपुरको चाँगुनारायण ७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी इश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो ।
हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी इश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ४ घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २३ वर्षीय मोहम्मद नौसाद, भारतको जनक भगत, ईडी – ३५ नई अशोक नगर, बसुंधारा ऐक्लेवका २४ वर्षीय अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मधुमनीका २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी इश्वरी भराई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोरी इश्वरी र सिरहा घर भइ पूरानो ठिमी बस्दै आएका मोहम्मद नौसादबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यसबाट बँच्न छोरीले नै नौसादसँग सल्लाह गरी १२ लाख रुपैयाँ दिएर मार्न लगाएको खुलेको छ । नौसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर सावित्रीको हत्या गरेको अनुसन्धानमा पाइएको महानगरीय अपराध महाशाखा टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सहकुल थापाले बताउनुभयो ।