काठमाण्डौ,१८ साउन । शनिबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले शनिबार केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसकै प्रभावले अहिले देशभरीकै मौसम आशिंकदेखि सामान्य बदली भइरहेको छ । मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ ।
यस्तै, शनिबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । दिउँसो र राति केही ठाउँमा चट्याङ पनि पर्न सक्ने भएकाले सर्तक रहन मौसमविदहरुले आग्रह गरेका छन् ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनी गतिविधि कमजोर बनिरहेको छ । यो रेखा नेपालतर्फ सरेपछि अहिले कमजोर बनेको मनसुन पुनः सक्रिय हुनेछ ।
आइतबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।