सिरहा, २० साउन । सिरहामा पछिल्लो डेढ महिनायता मात्रै डुबेर मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
प्रहरीका अनुसार असारमा वर्षाको पानी जमेको खाल्डाखुल्डीमा पाँचजना र एकजना खोलामा डुबेका थिए । साउन महिनामा खाल्डोमा चारजना बालबालिका, खोलामा एक/एक बालिका र महिला, पोखरीमा चारजना बालिका र दुईजना बालक डुबेका थिए ।
पछिल्लो समय सिरहामा डुबेर मृत्यु हुनेको घटना बढेको प्रहरीले जनाएको छ । खाल्डाखुल्डी, पोखरी र खोला बालबालिकाको लागि ज्यानमारा बन्दै गएको स्थानीय अगुवा बताउँछन् ।
धेरैजसो घटना अभिभावक काममा जाँदा खेल्ने क्रममा बालबालिकाको ज्यान जाने गरेको प्रहरीले जनाएको छ । बालबालिकालाई एक्लै छोडेर अभिभावक बाहिर जान नहुने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराको भनाइ छ ।
स्थानीय अगुवा भने छेउछाउका खाल्डाखुल्डी नपुरिकनै त्यसै छोड्नाले यस्ता घटना भएको बताउँछन् । गाउँपालिका तथा वडा कार्यालयले यस्ता खाल्डाखुल्डी नपुरिदिँदा बालबालिकाको ज्यान जाने गरेको उनीहरुको गुनासो छ । खाल्डोमा डुब्दा प्राथमिक उपचारको पनि व्यवस्था गाउँमा नहुँदा अप्ठ्यारो पर्ने गरेको स्थानीयको गुनासो छ ।अन्नपुर्ण पोष्ट