कविराज घिमिरे
धनकुटा । कुनै समय बाह्रै महिना घँघेरु र चुत्रो घारीले छोपिने धनकुटाको उपल्लो भेग यतिबेला तरकारीले ढाकिन थालेको छ ।
व्यवसायिक तरकारी उत्पादनमा लागेपछि गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर पनि फेरिन थालेको छ ।
धनकुटा नगरपालिका २ गुराँसेका ५३ बर्षीय गोविन्द सारु मगर पहिले आफ्नो जग्गामा आलु खेती गरी त्यसबाट धान साटेर जीविकोपार्जन गर्दथे ।
त्यसबाट केही महिनामात्र खान पुग्ने भएकाले दैनिक मजदुरी नगरी सुखै थिएन ।
तर करिब डेढ दशकयता भने उनलाई आलुसँग धान साट्न न त बेशी झर्नुपरेको छ न त काम खोज्दै अरुको ठाउँठाउँमा भौतारिनुपरेको छ ।
व्यावसायिक तरकारी खेतीमा लागेपछि उनको जीवनस्तर नै बदलिएको छ ।
गोविन्द जस्तै धनकुटाको उपल्लो भेगका झण्डै १५ हजार किसानले बेमौसमी तरकारी खेतीबाट लोभलाग्दो प्रगति गरेका छन् ।
कृषिलाई मुख्य पेशा बनाएका उनीहरुले एक रोपनी क्षेत्रफलबाटै बार्षिक दुइलाखसम्म आम्दानी गर्ने गरेका छन् ।
वार्षिक रुपमा तीन फसल बाली उत्पादन गर्ने उनीहरुले माटोमै उज्वल भविष्य देखिरहेका छन् ।
सिप्रट नामक संस्थाको सहयोगमा करिब २०६० सालदेखि व्यावसायिक तरकारी खेतीमा लागेका उनीहरुले बन्दाकोपी, मटरकोसा, फुलकोपी, आलु मुलालगायतका तरकारी उत्पादन गरिरहेको स्थानीय इन्द्र सारु मगर बताउँछन् ।
अधिकांश परिवारले तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेको देखेपछि पछिल्लो पुस्ता पनि यसैतर्फ आकर्षित छ ।
विदेशमा गर्ने परिश्रम यहीँ लगाए झन राम्रो कमाइ हुने उनीहरुको विश्वास छ । -इमेज