बिराटनगर,मङ्सिर ०५ : कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउनु भएको छ । पछिल्लो घटनाक्रमले विदेशी हस्तक्षेप बढदै गएको पुष्टी भएको उहाँको भनाई छ । राजनीतिक संक्रमण लम्बिएको कारण विदेशी हस्तक्षेप बढ्दै गएको उहाँको भनाइ थियो ।
नेपाल डेमोक्रेटिभ लयर्स एसोसिएसनको २४ स्थापना दिवसको अवसरमा विराटनगरमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले दुई छिमेकी मुलुकलाई मात्रै हस्तक्षेपको आरोप लाग्ने गरेको भन्दै अन्य मुलुकको समेत चलखेल सुरु भइसकेको बताउनु भयो । कोइरालाले तोकिएकै समयमा संविधान जारी गरी राजनीतिक संक्रमण अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो ।
सभासदसमेत रहेका कोइरालाले पछिल्लो राजनीतिक ध्रुवीकरणले माघ ८ गते संविधान जारी नहुने सम्भावना बढ्दै गएको उल्लेख गर्नु भयो ।
संघीयतासहितका विवादित विषयलाई थाँती राखेर भए पनि तोकिएको समयमा संविधानको मस्यौता जनताबीच लिएर जानुपर्ने उहाँको भनाइ थियो ।
नेता कोइरालाले संविधान देशको मूल कानुन भएकाले मधेसवादी र माओवादीलाई पनि समेटेर संविधान जारी गर्नुपर्नेमा जोड दिनु भयो । एमाले र कांग्रेसले ल्याएको प्रस्ताव अन्तिम नभएकाले मधेसवादी र माओवादीले पनि आ–आफ्नो प्रस्ताव ल्याएर छलफल गर्न खुला उहाँको भनाई छ ।
कार्यक्रममा सभासद अमृत अर्यालले जस्तोसुकै परिस्थिति आए पनि माघ ८ मा संविधान जारी गर्नुपर्नेमा जोड दिनु भयो । राजनीतिक अन्यौलको गाँठो तीनै पार्टीका शीर्ष नेता बसेर फुकाउनुपर्ने उहाँको भनाई छ । स्थापना दिवसको अवसरमा बारका पूर्व उपाध्यक्ष सीताराम राईलाई सम्मान गरिएको थियो ।