विष्णुप्रसाद पोखरेल
दमक, भदौ ३१ गते । विस्फोटक पदार्थ बनाउने र पड्काउने कार्यमा संलग्न विप्लप नेतृत्वको प्रतिबन्धित नेकपाका नेता र कार्यकर्ताहरु पक्राउ परेका छन् ।
पक्राउमा मुख्य अभियुक्तसहित तीनजनालाई हतियारसहित पक्राउ गरिएको र एकजना विस्फाेटक पदार्थ बनाउने प्राविधिक रहेको प्रहरीको भनाई रहेको छ ।
सोमबार बेलुका बिर्तामोड–४ स्थित विधुत प्राधिकरण पछाडि रहेको एक घरमा डेरा गरी बस्दै आउनु भएका मकवानपुर भीमफेदी गाउँपालिका–२ का अनुल सारु मगरलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
विहान सोही क्षेत्रबाट उक्त पार्टीका झापा जिल्ला सचिव प्रविण मिश्र र जिल्ला नेता टीका पोखरेल पक्राउ पर्नु भएको थियो ।
कटुवा पेस्तोल दुईथान, त्यसमा प्रयोग हुने चार राउण्ड गोली, पार्टीका दस्तावेज, विभिन्न चन्दा रसिद, प्याडहरु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
१ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय झापाले उहाँहरुलाई पक्रन विशेष टोली बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दीनेश मैनालीका अनुसार पक्राउ परेका अधिकांश स्थानीय नेताहरु रहेको पाईएको छ ।
पछिल्लो पटक उक्र समूहले सहारा नेपाल चारपाने र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने स्करपियोमा बम विस्फोट गराएपछि प्रहरीले निगरानी बढाएको थियो ।
एकसाता अघि बम विस्फोट गराईएको आशंकामा पक्राउ परेका दुईजनालाई प्रहरीले छाडिसकेको छ ।
जिल्लामा २६ जना पक्राउ
यसैबीच, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दीनेश मैनालीका अनुसार जिल्लामा बम र चन्दा आतंक मच्चाएपछि दुई महिनायता जिल्ला तथा क्षेत्रीय तहका २६ जना नेताहरु पक्राउ परेका छन् ।
जिल्लामा विप्लव समूहको गतिविधिका कारण जनता आतंकित भएकाले प्रहरीले धेरै महिनेत गरेको मैनालीले जनाउनुभयो ।