विराटनगर । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोध गर्ने नाममा मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरोध गर्ने काम भइरहेको बताएका छन् ।
काम गर्ने क्रममा सरकारबाट भएको कमजोरीमा खेल्दै व्यवस्था विरोधी आन्दोलन हुने गरेको बताएका हुन् । प्रेस संगठन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले निर्वाचित गराएको संस्थालाई खवरदारी गर्ने अधिकारी नागरिकलाई हुने तर नागरिकको असन्तुष्टिमा खेलेर व्यवस्था विरोधी आन्दोलन गर्ने अधिकार कसैलाई नहुने बताए ।
सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले सरकारको विरोध गर्ने नाममा लोकतन्त्र र गणतन्त्रलाई खतरामा पार्ने प्रयासहरु भइरहे पनि यसको उचित जवाफ जनताले दिने बताए ।
कसैले अहिलेको व्यवस्था परिवर्तन गरेर मुलुकलाई अधिनायकवादतर्फ लैजान खोज्छ भने त्यो दिवा सपना मात्रै हुन्छ, उनले भने । इतिहासको सबै हिसावबाट पराजित भइसकेको व्यवस्था ल्याउने चलखेल गर्नु मुर्खता हुने बाँस्कोटाले बताए ।
नागरिकको अपेक्षा र सरकारको काम गराईबीचमा सधैं खाडल हुने गरेको स्वीकार गर्दै मन्त्री बाँस्कोटाले त्यो खाडलमा नखेल्न चेतावनी पनि दिए । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुने उल्लेख गरे ।
सरकारले गल्ती गर्दा त्यसको सजाय जनताले दिने भएकाले हुँदै नभएको कुरा झिकेर कुर्लनुको कुतै तुक नभएको उनको भनाइ छ । कांग्रेसप्रति लक्षित गर्दै उनले जनताको म्यान्डेड लिएर आएका कारण सरकार जनताप्रति उत्तरदायी रहेको बताए । जनताले नेकपालाई जिम्मेवारी दिएर पठाएका कारण सरकारले कांग्रेसको भन्दा जनताका मुद्दा बोकेर हिँड्ने बताउँदै मन्त्री बाँस्कोटाले कांग्रेसले डेमोक्रेसीका विषयमा उठाएको मुद्दाको कुनै अर्थ नभएको स्पष्ट पारे ।