विराटनगर । मोरङको उर्लावारीमा गाईको मोही पिउँदा १० जना विरामी भएका छन् । मोरङको उर्लाबारी ३ मंगलबारेका एकै परिवारका ६ जना र ३ जना छिमेकी विरामी परेका हुन् । अहिले उनीहरुको विराटनगरमा रहेको नोवेल अस्पतालमा उपचार भईरहेको छ ।
स्थानीय इन्दीरा गजमेरको घरमा पारेको मोही बाढेर पिउदाँ इन्दीराको परिवार सहित छिमेकी पनि विरामी परेका हुन् ।
घरमुुली इन्दीरा सहित उनको जेठा छोरा दिनेश गजमेर, बुहारी अंजली, माइला छोरा आर्यन, कान्छा छोरा कमल, कान्छी बुहारी कृतिका र देउरानी दुर्गा गजमेर विरामी भएका छन । यसैगरि छिमेकी कमला राई,अशोक राई र सिमा राई समेत बिरामी भएका छन ।
छिमेकीले पठाइदिएको मोही खाँदा आफुसहित आफ्नो परिवारको ३ जना बिरामी भएको अशोक राईले बताए । घरमुली इन्दीरा गजमेरले आफ्नै घरमा पालेको गाइको दुधबाट घरकै ठेकीमा पारिएको मोही सबैजनाले बाँडिचुंडी खाएको बताए ।
लामो समयदेखी यत्तिकै राखिएको ठेकीमा मोहि पार्दा त्यसलाई आवश्यक सरफाइ नगरिएका कारण मोहीमा ढुसी मिसिएको हुनसक्ने विरामीको आशंका छ । गत भदौ २९ गते नोबेल अस्पतालमा भर्ना भएका विरामी मध्ये गजमेर परिवारका ५ जना उपचारपछि बुधबार साँझ डिस्चार्ज भएका छन भने आर्यन र कृतिका गजमेरलाई थप उपचार आवश्यक रहेको भन्दै अस्पतालमै राखिएको छ ।