विराटनगर । विराटनगरमा बुधबार आयोजित कार्यक्रमका सहभागीले नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् ।
मोरङको थलाहामा रहेको सूर्यदल गणद्धारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले विगतमा विविध अवस्था र राजनैतिक परिवेश एवं घटनाक्रमका कारण उत्पन्न भएको तिक्ततापूर्ण सम्बन्धलाई कायम राख्न नहुनेमा जोड दिए । उनीहरुले पेसागत मर्यादा कायम राख्दै प्रतिष्ठालाई जोगाएर आफ्ना कमजोरी सुधार गर्दै जनतासँग घुलमिल भएर राष्ट्र निर्माणको महाअभियानमा जुट्न सेनालाई आग्रह गरे ।
देश बचाउने र बनाउनेमा सेनाको योगदान रहेको स्मरण गराउँदै नागरिक मैत्री बनेर अघि बढ्न सेनालाई आह्वान गरिएको छ । सेनाका कारण बढेका विक्रीति र विसंगति अन्त्यको माग पनि गरिएको छ ।
महिलाले पीडित बन्नु पर्ने र अनेक दुरव्यवहार भोग्नु पर्ने घटना आगामी दिनमा सेनाले दोहोरिन दिन नहुने आवाज पनि उठेको छ । सबैसँग घुलमिल भएर अघि बढ्दा मात्रै विश्वास जितेर सेना सबै कुरामा सफल हुने र जनताको सम्मान पाउनेमा कार्यक्रमका सहभागीले जोड दिए । महिला अगुवा दुर्गा चापागाईले जनताले सेना हाम्रा लागि हो भन्ने कुराको महशुस गर्ने वातावरण तयार हुनु पर्ने बताइन् ।
सेनालाई राष्ट्र र नागरिकको रक्षकका रुपमा लिने गरिएका कारण जनताले पनि सेनासँग सहकार्य र सामिप्यता चाहेको उनको भनाइ छ । विराट व्यापार संघका सदस्य मुकेश बुढाथोकीले विभिन्न प्रकोप र विपद्का बेला आम नागरिकबीचमा पुगेर सेनाले पु¥याएको योगदान प्रशंसा योग्य रहने गरेको बताए । आफू भित्रका कमिकमजोरी सुधार गरेर सेनाले राष्ट्र निर्माणमा जोड दिनु पर्ने उनको भनाइ छ ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विपद् व्यवस्थापनमा सहयोग र साथ दिइरहेको सेनाले प्रविधिको प्रयोगमा जोड दिनु पर्ने बताए । आद्योगिक क्षेत्रमा विभिन्न खालका विशेष कार्यक्रम सञ्चालन गरेर उद्योग र व्यवसाय क्षेत्रमा सहयोग गर्न उनले सेनालाई आग्रह गरे । ‘सेना जनतासँग टाढा भन्दा पनि नजिक हुनु पर्ने हरेक घटनाक्रमले प्रष्ट हुन्छ,’ मानव अधिकारकर्मी सोमराज थापाले भने, ‘हरेक कारण उत्पन्न हुने निराशा र जनतालाई पर्ने अप्ठेरोमा सेनाले सहयोग गर्नु पर्छ ।’
अप्ठेरो पर्दा र निराशा छाउँदा उत्साह थप्न सकियो भने जनतासँग नजिक बनाएर सेना–नागरिक सम्बन्ध राम्रो बन्ने र सुध्रिएर जाने थापाको तर्क छ ।
नेपाली सेनाका महासेनानी ईश्वरकुमार श्रेष्ठले सेना जनताकै सहयोगी र सहयात्री रहेको बताए । नागरिक र सेनाबीच ‘कम्युनिकेसन ग्याप’ भने रहेको उनको भनाइ छ । कठोर अनुशासनमा रहेर व्यारेक भित्र बस्नु पर्ने सेना र खुल्ला समुदायमा बस्ने नागरिकबीचमा सुमधुर सम्बन्ध बनाउँदै सेना जनता एवं राष्ट्रकै लागि हो भन्ने कुराको सन्देश दिन विविध कार्यक्रम सञ्चालन भइरहेको जानकारी श्रेष्ठले दिए ।
सेनाका पूर्वी पृतनापति एवं उपरथी अनन्त कार्कीले नागरिकसँग जोडिएका विषयमा अति नै संवेदनशील भएर सेना अघि बढ्ने प्रतिवद्धता जनाए । महिलामाथि हुने दुरव्यवहार र गलत गतिविधीमा संलग्न रहनेमाथि सैनिक ऐनअनुसार कारबाही हुने बताउँदै उनले ज्यानको बाजी राखेर घर परिवार त्याग्दै नेपाली नागरिकलाई परेको अप्ठेरोमा साथ दिने अठोट गरेकाले त्यही अनुरुप सेना अघि बढ्ने जानकारी दिए । ‘कडा अनुशासनमा रहनु पर्ने नियम भएकाले कोही कसैले त्यसको उल्लंघन गर्दा पूरै संगठनको बद्नाम हुन्छ,’ कार्कीले भने, ‘विगतका त्रुटि र गल्ती सच्याउँदै अघि बढ्न सेना तयार छ ।’ कार्कीले प्रदेश १ सरकारले ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रममा जस्तो सुकै सहयोग गर्न सेना रहेको बताए । ‘यस्ता कार्यक्रमले भविष्यका सन्ततीलाई असल बनाउन सहयोग गर्छ,’ उनले भने, ‘त्यही भएर सरकारसँग हातेमालो गर्न सेना तयार छ ।’
समृद्ध नेपाल, सुखी नेपाली नारासहित सरकारले सञ्चालन गरेका हरेक अभियान र विकास निर्माणका काममा सेनाको साथ रहने उपरथी कार्कीको भनाइ छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सेनाले सक्रियता बढाउने उनले बताए ।