विराटनगर । स्वदेशी बजारप्रति उपभोक्ताका आकर्षण बढाउने उद्देश्यका साथ विराटनगरस्थित सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजना अघि सारेको छ । नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ । हरेक वस्तुको खरिदमा उपहार कुपन उपलब्ध गराइने मलका सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए । एक हजार मूल्य बराबरको सामान खरिद गर्ने उपभोक्ताले हरेक दिन एउटा लक्की कुपन पाउनेछन् । योजनाअन्तर्गत एक हजारको सामान खरिद गरी कुपन पाउने ग्राहकले उपहार पाउने मुन्दडाले बताए । जसअन्तर्गत प्रत्येक दिन नगद, सेन्ट्रल फिल्म हलको छुट टिकट र उपहार कार्ड पाउनेछन् । मुन्दडाका अनुसार हरेक हप्ता माइक्रो ओभन, राइस कुकर, वाटर फिल्टर, भ्याकुम क्लिनर्सलगायतका तीनजनालाई प्रदान गरिनेछ ।
महिनाको अन्तिम दिन बम्पर उपहारका रुपमा १ जनाले बैंकक भ्रमण ४ जनालाई यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर उपहारमा पाउने उनले जनाए । जसमा घटस्थापना, फूलपाती, लक्ष्मीपूजा र छठ पर्वमा १–१ जनालाई मोटरसाइकल र स्कुटर प्रदान गरिने सञ्चालक मुन्दडाले बताए । असोज ११ देखि कात्तिक १६ गतेसम्म सञ्चालन हुने उपहार योजनाअन्तर्गत हरेक दिन साँझ राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने मलका सिइओ मानसराज जोशीले जानकारी दिए । मलबाहेक सेन्ट्रल बजारका विभिन्न पसलहरूले समेत ग्राहकहरूलाई विशेष छुट दिनेछन् ।
विराटनगरको प्रतिष्ठित औद्योगिक घराना विशाल गु्रप, देवेनरा गु्रप र हाइलाइफ गु्रपको १ अर्ब रुपैयाँ संयुक्त लगानी रहेको मल गत फागुन २० गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । मलले जोगबनी जाने उपभोक्तामा कमी आएको मुन्दडाको दाबी छ । “ मलका कारण भारतीय सीमावर्ती जोगबनी बजार जाने नेपाली उपभोक्तामा कमी आएको छ,” मुन्दडाले भने, “सामान खरिद गर्नकै लागि अब जोगबनी गइरहनु पर्दैन ।”
चाडवाडमा मात्रै होइन अन्य समयमा समेत ग्राहकलाई सुपथ मूल्यमा सामान उपलब्ध गराउन तयार रहेको मार्केटिङ प्रमुख निशानप्रभा श्रेष्ठ बताए । “जोगबनीमा ५ किलो चिनी किनेर ल्याएर जोख्दा साढे ४ किलो हुन्छ । नेपाली उपभोक्ता निकै सचेत भइसकेका छन् अब,” श्रेष्ठले भने, “सस्तोका नाममा उपभोक्ता ठगिरहेका छन् जोगबनीमा ।”
१ हजार ३४ स्क्वायर फुटमा ३ तले संरचनामा निर्मित मलभित्र दुईवटा अत्याधुनिक प्रविधियुक्त मल्टिप्लेक्स (सिनेमा हल), सुपरमार्केट, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा चर्चित ब्रान्डहरूका १ सयभन्दा बढी शोरुम, २५० जना क्षमताको फुडकोर्ट, रेष्टुरेन्ट, १५ वटा गेमिङ जोन, व्यूटीपार्लर, शैलुन, एटीएम, ३५ हजार वर्गफिटको अन्डरग्राउण्ड पार्किङलगायतको सुविधा मलमा उपलब्ध छ । मलमा ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।