विराटनगर । एक नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरुबीच विवाद शुरु भएको छ । उनीहरुबीच कार्यशैलीको विषयलाई लिएर एक अर्काेलाई दोषारोपण गर्दै विवाद सिर्जना भएको हो । प्रदेशमा आयोग गठन भएको ९ महिना पुग्दा पनि खासै काम गर्न नसकेको आरोप खेप्दै आएको आयोग भित्रको विवादको कुरा बाहिर आएको हो ।
उनीहरुबीचको विवाद राष्ट्रपतिसम्म पुगेको छ । उपाध्यक्ष सुवोधराज प्याकुरेलले सदस्यहरुलाई मतलब नगर्ने, आफ्नो निर्णय मात्रै लागु गर्न खोज्ने, कार्यक्रमहरुमा समन्वय नगर्ने गरेको आरोप लगाउँदै आएका छन् ।
उनीहरुले आन्तरिक रुपमै असन्तुष्टि जाहेर गरिरहेको बेला प्रदेश योजना आयोगले गर्ने सार्वजनिक कार्यक्रमको विषयमा समेत जानकारी हुन छोडेपछि विवाद बाहिर आएको हो । बुधबार गैह्र सरकारी संस्था महासंघसँग मिलेर प्रदेश योेजना आयोगले गरेको कार्यक्रममा समेत सदस्यलाई जानकारी नभएको पाईएपछि यो विषय सतहमा आएको हो ।योजना आयोगका सचिव भरतमणि रिजाललेपनि आयोगले नै गरेको कार्यक्रमका बारेमा जानकारी नभएको बताए ।
२०७५ मंसिर १९ गते गठन भएको प्रदेश योजना आयोगमा अझै दुईजना सदस्य थप गर्न बाँकी छ । प्रदेश योजना आयोग निकट श्रोतले भन्यो, ‘म ठुलो हुँ भन्दै उपाध्यक्षल हेप्न खोज्नु भयो ।’ यो बिषयमा उनीहरुले माथिल्लो निकायमा समेत असन्तुष्टी राखेका छन् । सदस्य र उपाध्यक्षबीच राम्रो बोलचाल समेत हुन छाडेको छ ।
केही समयदेखि सदस्य पूर्ण लक्षम लिम्बु र उपाध्यक्ष प्याकुरेलबीच राम्रो बोलचाल छैन् । उनीहरुको विवादका कारण आयोगको बजेटमा समेत असर परेको बताईन्छ । बजेटका विषय पर्याप्त छलफल नगर्दा बजेट भाषणमा आयोगलाई चाहिने बजेट नछुट्टिएकाले असर परेको कर्मचारी बताउँछन् । आयोगका सदस्य पूर्ण लक्षम लिम्बुले भने आयोगका उपाध्यक्षले अभिभावकत्व निर्वाह गर्न नसकेको बताए । लिम्बुले भने, ‘कतिपय कार्यक्रममा हामीलाई थाह हुदैन, हाम्रो मतलब पनि हुँदैन् ।’
उपाध्यक्षका आफ्नै पिडा
प्रदेश योजना आयोगका उपाध्यक्षहरु सुवोध प्याकुरेलले भने घर भित्रको सामान्य समस्या समाधान हुने बताउँछन् । उनले योजना आयोगमा सदस्यहरु बिचमा कार्य जिम्मेवारी बाँडफाँड गरेर काम भईरहेको र सदस्यहरुले पनि सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरेको बताए । ‘कहिलेकाँही सदस्यहरुलाई सबै काम मलाई नरोधी गर्नु हुँदैन, हामीलाई नसोधी हाम्रो सहमती नलिई सार्बजनिक कार्यक्रममा पनि जान हुँदैन, सार्बजनिक ठाउँमा मान्छेहरुलाई भेटघाट गर्न पनि हुँदैन हुँदैन, मिटिङ बैठक पनि गर्न हुँदैन भन्ने भ्रम रहेको छ, उपाध्यक्ष प्याकुरेलले भने, तर त्यो भ्रमले हुँदैन योजना आयोगको उपाध्यक्षले तीन खालको काम गनु पर्छ त्यो सदस्यहरुले पनि बुझ्नु पर्छ ।’
योजना आयोगले गर्ने काममा सदस्यहरुको जिम्मेवारीको बाँडफाँड गर्ने र समन्वय गर्ने, प्रशासनीक काम, प्रशासनिक कामको निर्णय दिने, सर्बोच्च नीतिगत निर्णय गर्न बसेको मुख्यमन्त्री सहितको बैठकलाई सहजी करण गर्ने काम नै उपाध्यक्षको काम रहेको बताए । ‘सदस्यहरुलाई प्रशासनिक काममा पनि सहमती लिनु पर्ने मैले र उपल्लो तहबाट भएका निर्णयहरु जे जती छन् त्यो निर्णय योजना आयोगको प्राबिधिक बैठक (उपाध्यक्ष, सदस्यमु र सदस्य सचिव सहितको) सबै बिषय ल्याउनु पर्ने र पास गरेर लैजानु पर्छ भन्ने सदस्यहरुलाई लाग्ने गरेको छ, उपाध्यक्ष प्याकु्ल भन्छन्, त्यसरी हैन, तपाईहरु गठन आदेश हेर्नुस्, नियमावली हेर्नुस्, तपाईहरुलाई दिईएको जिम्मेवारी हेर्नुस् भनिएको छ तर उहाँहरुले कुरा नबुझेपछि असन्तुष्टी आएको हो ।’
केही कुरामा स्पष्ट नहुँदा गुनासो आउन सक्छ तर ती कुरा आपसमा बसेर मिलाउने उनले बताए । कुनै पनि संस्थामा सुचना आदान प्रदान रोकिँदा पनि समस्या हुनसक्ने प्याकुरेलको भनाई छ ।कतिपय आफ्नो क्षेत्रअधिकार बाहेकका कुरामा पनि उहाँहरुले चासो राख्ने र आफुहरुलाई जानकारी दिनु पर्ने भन्दै अनावश्यक विषय जोड्ने गरेको प्याकुरेलले बताए ।
फेसबुकमा आएको फोटोले तरंग
केही दिन अघि दुई जना सदस्य मीना भण्डारी र पूर्ण लक्षम लिम्बुले मात्रै राष्ट्रपतिलाई भेटेको प्रसंगले समेत आयोग भित्र हल्लिखल्ली मच्चीएको छ । सदस्य भण्डारी र लिम्बुले राष्ट्रपतिलाई भेटेको फोटो सामाजिक सञ्जालमा राखेका छन् । यस विषयले आयोग भित्रका तिता कुरा राष्ट्रपति कार्यालयसम्म पुगेको हुनसक्ने भन्दै थप असन्तुष्टी चुलिएको छ ।
आयोगका सदस्यबीच मतमतान्तर भएपनि सात वटा प्रदेशमध्ये १ नम्बर प्रदेशको आवधिक योजना राम्रो बनेको आयोगले दावी गरेको छ । आगामी आइतबार वा सोमबार आयोगले प्रदेशको आवधिक योजना सार्वजनिक गर्ने कार्यक्रम तय गसिकेको छ ।
प्रदेश योजना आयोगमा तत्कालिन एमालेको तर्फबाट उपाध्यक्षमा सुवोध प्याकुरेल र सदस्यमा मीना भण्डारी र तत्कालिन माओवादीबाट पूर्ण लक्षम लिम्बु रहेका छन् । प्याकुरेल उमेरले ६५ कटेका छन् भने सदस्यहरु ३० माथिका छन् ।
गठन भएको लामो समयसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नै बस्दै आएका उपाध्यक्ष र सदस्यहरु तीन महिनादेखि भाडाको कार्यालयमा विराटनगरस्थित महेन्द्र मोरङ कलेज छेउमा बस्न थालेका छन् ।