विराटनगर । पछिल्लो समय सहकारी संस्थाहरु प्रबिधि मैत्री हुन थालेका छन् । त्यही प्रबिधिलाई पछ्याउँदै आएको एउटा सहकारी हो विराटनगर १५ मा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था ।
मजदुर परिवारलाई लक्षित गरि शुरु भएको जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक साधारण सभाको अवसरमा मोवाईल एप्सको समेत शुभारम्भ गरेको छ । ११ औ बर्ष पुरा गरेको अबसरमा संस्थाले मोवाईल एप्स संचालनमा ल्याएको हो । संस्थाको साधारण सभाको अवसरमा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका सांसद शिवकुमार मण्डलले मोवाईल एप्सको शुभारम्भ गरे ।
यस अघि सहकारीले कार्यालयलाई ब्यवस्थित गर्न तथा कारोवारलाई सहज बनाउनको लागि एसएमएस बैकिङ संचालनमा ल्याईसकेको छ । त्यसपछि संस्थाले सेवाग्राहीको समस्यालाई मध्यनजर राख्दै नक्कली नोट थाहा पाउन सक्ने मेसिन खरिद गरेको छ भने कार्यालयमा सिसि क्यामेरा समेत जडान गरिसकेको संस्थाका सचिव उमेश गुरुङले जानकारी दिए ।
५८५ जना सेयर सदस्य रहेको सहकारीको ११ औ साधारण सभाको उद्घाटन गर्दै सांसद मण्डलले सहकारी अब मुनाफा कमाउने भन्दा पनि सामाजिक उत्तरदायित्वमा केन्द्रीत हुनु पर्नेमा जोड दिए ।
बिभिन्न लघुवित्तहरुले वितीय कारोवारको नाममा ३६ प्रतिशतसम्म ब्याज लिने गरेको आरोप लगाउँदै त्यस्ता काम तत्काल रोकिनु पर्ने सांसद मण्डलले बताए । सहकारी पनि सहकारी मैत्री नभईरहेको अबस्थामा जागरुक बचत तथा ऋण सहकारी संस्थाले गरेको प्रगती अरु सहकारीहरुले पनि अनुसरण गर्नु पर्ने बताए ।
‘अब सहकारी परम्परावादी सहकारीको रुपमा हुनु भएन, उनले भने, नयाँ प्रबिधि अनुसार आफुलाई अगाडी लिएर जान सक्नुपर्छ ।’ उनले अब आफ्नो निर्वाचन क्षेत्रलाई सहकारी मैत्री बनाउने बारेमा सहकारी अभियान्ताहरुसँग बसेर छलफल थालिने स्पष्ट पारे ।
सहकारीले २९ करोडको कारोवार गरेको जनाएको छ । ३ करोड ३३ लाख वासलातनामा रहेको सबै सदस्यहरुलाई जानकारी दिईएको हो । साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट सेयर सदस्यमा परसु पासवान र रिता कोईरालालाई सम्मान तथा पुरस्कृत गरेको छ । त्यस्तै उत्कृष्ट बचत कर्ता हरेन्दर साह, रमा निरौला, उत्कृष्ट ऋणीमा अजय साह र सुमन क्षेत्री घिमिरेलाई पनि पुरस्कृत गरेको छ ।
उत्कृष्ट रेमिट कारोवार गर्ने मेनुका भण्डारी र उत्कृष्ट बाल बचत कर्ता अनीस तामाङलाई पुरस्कृत तथा सम्मान गरेको संस्थाका अध्यक्ष सुनाम सुब्बाले बताए ।