रबिन्द्र वराल ।
रंगेली । मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा बन्न थालेको पुल १० बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।
नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा राखेता पनि अझै पुरा हुन सकेको छैन । सँधै पानी पगिरहने रतुवा खोलाको पुन निर्माणको काम बिचमै अलपत्र छाडिएपछि सर्बसाधारणलाई अवत जावतमा समस्या हुँदै आएको छ ।
पुलकै अभावका कारण सर्बसाधारणले आवत जावतमा समस्या भोग्दै आएको बर्षौँ भएको छ ।तर आवतजावत गर्न निकै कष्टकर बेहोर्नु बाध्यता उनीहरु सामु रहेको छ । एकातर्फ नजिकै खोलाको बिचमा पक्की पुल छ भने नजिकैबाट आवत जावतका लागि फड्के अर्थात बाँसको फुल बनाएर आवत जावतलाई सहज बनाईएको छ ।
यो बाटो भएर आवत जावत गर्नेहरुको लागि बनाईएको बाँसको पुल तर्दा मोटरसाईकलको १ सय रुपैयाँ र साईकलको २० रुपैयाँ तिर्नु पर्ने बाध्यता छ । झापाका केही ब्यक्तिहरुलले निर्माण गरेको यो बाँसको पुलबाट जो कोहीले पैसा नतिरि हिड्नै नपाउने बाध्यात्मक ब्यवस्था गरिएको छ ।
रतुवा खोलामा पक्की पुल निर्माण भएको बर्षौ बितेपनि सरकारी उदासिनताका कारण सो पुल सञ्चालन हुन सकेको छैन । पक्की पुल सञ्चालनमा नआउदा झापा र मोरङ दुबै तर्फका जनताहरुले आवतजावत गर्न बर्षै भरि सास्ती खेप्नुका साथै प्रत्येक पटक बासको पुलमा पैसा तिर्नु परेको छ ।
पुल निर्माणको १० बर्ष
२०६५ सालमा भौतिक तथा निर्माण मन्त्री बिजय कुमार गच्छेदार भएको बेला सिलान्यास भएको पुल हालसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । २०६६ सालमा कालिका कन्ष्ट्रक्सनले १० करोड रुपैयाँमा ठेक्का पाएको थियो । सव कन्ट्याक्ट्मा कालिकाले गौरी पार्वती कन्ष्ट्रक्सनलाई जिम्मा लगायो । पुलको २ सय मिटर लम्बाई गौरी पार्वतीले २०७३ सालमा निर्माण सम्पन्न गरेको थियो। तर खोलको चौडाई बढी भएको भन्दै खोलामा निर्माण भएको पुलको दुई तर्र्फीकै काम रोकियो ।
पुर्व पट्टीबाट पुलको एक सय ५० मिटरको लम्बाई थप्नु पर्ने माग ठेकेदार कम्पनीको थियो । २ सय मिटर लम्बाईकोे पुल निर्माण भईसकेको छ । करिब १० फिट उचाईको पुल खोलाको बिचमा ठड्याईएको छ । पुर्व र पश्चिम तर्फ सडक समेत नभएको कारण खोलाको बिचमा मात्र पुल रहेको तथा सडक समेत नपुगेका कारण समस्या परेको स्थानीय बताउछन् । स्थानीयका अनुसार खोलामा पक्कीपुल निर्माण गर्दा ठेकेदारको मात्र लापरवाही हैन पुलको डिजाईन गर्ने ईन्जीनियरहरुको समेत लापरवाही रहेको छ ।
रतुवा खोलाको पुल बनेपछि स्थानीयका ठुलै आशाहरु पलाएका थिए । तर ईन्जीनियरिङको गलत डिजाईन अनी ठेकेदार कम्पनीको लापरवाहीका कारण यो पुल २०६५ सालदेखि अलपत्र छ । खोलामा सामान्य पानी हुँदा समेत डुङ्गामा मोटरसाईकल बोकाएर आवत जावत गराउनु पर्ने बाध्यतामा स्थानीय रहेका छन् ।
प्रत्येक दिन खोलाबाट दैनिक झण्डै २ हजारसम्म सर्वसाधारणको सोही स्थान भएर आवत जावत गर्छन् । चुनावको समयमा खोलामा तटबन्ध निर्माण गर्ने र पुल सन्चालन गर्ने नारा लिएर चुनाब जितेका नेताहरु अहिले अबस्थाको जानकारी लिन समेत पुगेका छैनन् ।
पुल नबन्दा वर्षाको समयमा गौरीगञ्ज पुग्नकालागि मोरङको आमवाडी हुँदै दमक पुगेर ३ घन्टाको समय लगाएर जानु पर्ने बाध्यता छ । बिराटनगर देखि भद्रपुरसम्म आवत जावत गर्नेकालागि निर्माण गरिएको हुलाकी सडकको पुल अहिलेपनि अलपत्र अबस्थामा छ ।
दोहोरो दादागिरी
पुल नबनेकोमा ठुलो संख्याका आम नागरिकलाई सास्ती ब्यहोर्दै आएका छन् भने एक दुई जना ब्यक्तिलाई भने मस्ती भएको छ । खोलामा ढाट तेस्र्याएर पैसा असुल्नेको लर्को लागेको छ । यही खोलामा पैसा असुली गर्न अहिले दुईवटा समुह हाबी देखिएको छ । मोरङका कैलाश श्रेष्ठको समूह मिलेर बाँसको पुल निर्माण गरे । त्यस लगत्तै झापाका गंगा बाबाजी समुहका स्थानीयले उक्त पुल हटाउनुपर्ने भन्दै बिवाद गरे ।
झापाकोे गौरीगन्ज र मोरङकोे आमबाडी लगायतका स्थानीयहरु सोही खोला भएर आवत जावत गर्छन् । तर उनीहरुले खोला तर्दा पैसा तिर्नु पर्ने मोरङका कैलाश श्रेष्ठले बताए । झापाको गाौरिगन्जबाट मोेरङ आउने सर्वसाधारणले झापाले बनाएको पुुलको प्रयोग गर्नुपर्ने बाध्यता बनाईएको छ भने मोरङबाट झापा जाने सर्वसाधारणले मोरङले बनाएको पुल मात्र प्रयोग गर्नु पर्ने बाध्यात्मक नियम लगाएर केही ब्यक्तिले खोलाबाट रकम असुल्ने ठाउँ बनाएका छन् ।
यसरी एउटै खोलामा एकै ठाउँमा बेग्लाबेग्लै बाँसका पुल बनाईएको छ। मोरङबाट झापा जानेहरुको लागि मोरङमात्र पुल प्रयोग गर्न दिने अनी झाबाट मोरङ आउनेलाई झापाका ब्यक्तिले बनाएको मात्र पुल प्रयोग गर्न दिने जस्ता काम भईरहँदा प्रशासन समेत रमिते बनेको छ ।