विराटनगर । हिजो मात्र विराटनगरबाट २ जना हुण्डी कारोवारी पक्राउ गरेको प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । मोरङबाट हुण्डीको कारोवार गर्ने पक्राउ पर्ने क्रम बढेको हो ।
धमाधम हुण्डी कारोबारी पक्राउ परेको घटनाले पछिल्लो समय हुण्डीको कारोवार फस्टाएको पुष्टि हुन्छ । सशस्त्र प्रहरीको टोलीले बुधबार मोरङको धनपालथान गाउँपालिका–३ स्थित मायागञ्जबाट हुण्डी कारोवारी ३५ वर्षीय विश्वनाथ राजवंशीलाई पक्राउ गरेको हो ।
विराटनगर –१० घर भएका उनी धनपालथानकै कर्सिया बजारमा सजिलो मनी ट्रान्सफरका संचालक हुन् । उनले चलाएको मे ८ प ६१७५ नम्बरको मोटरसाइकललाई चेकचाज गर्दा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट सोराभागको टोलीले पक्राउ गरेको हो ।
उनको मोटरसाईकललाई सशस्त्र प्रहरी निरीक्षक विराज कटुवालको नेत्रृत्वमा रहेको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा राजवंशीले पछाडि बोकेको झोलामा नेपाली चार लाख २० हजार रुपैयाँ रकम फेला परेको थियो । उनले लगाएको हेल्मेटमा पनि छ लाख रुपैयाँ फेला परेको कटुवालले बताए ।
हेल्मेटमा लुकाएर राखेको छ लाख र पछाडि भिरेको झोलामा रहेको चार लाख गरी १० लाख २० हजार नेपाली रुपैयाँसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए । राजबंशीको साथबाट फेला परेको रकम र मोटरसाइकलसहित सशस्त्र प्रहरीले कारबाहीका लागि बुधबार साँझ नै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
साथमा फेला परेको रकमको कुनै स्रोत नखुलेपछि राजवंशीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । राजवंशीले व्यापारीहरुले रकम लिन आफूलाई पठाएपछि भारत पुगेर लिएर आएको र उक्त रकम व्यापारीहरुको भएको बताएका छन् ।
त्यस्तै मोरङ प्रहरीले हुण्डीबाट प्राप्त भएको रकमसहित विराटनगर–४ कन्चनबारीबाट सुनसरीको बर्जु गाउँपालिका – ३ का २४ वर्षीय उमाकान्त रायलाई सोमबार पक्राउ गरेको थियो । नेपाली १० लाख रुपैयाँसहित पक्राउ परेका उनी विराटनगरस्थित गणपति मनी ट्रान्सफरका कामदार रहेको खुलेको । उनलाई आवश्यक कारवाहीका लागि प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
पक्राउ परेका राय हुण्डी कारोवारमार्फत प्राप्त हुने अवैध रकम सीमा वारपार गराउने भरिया भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । हुण्डीमार्फत आएको रकम गन्तव्यसम्म पु¥याएवापत तीन सय रुपैयाँ पाउने गरेको उनले प्रहरीलाई बताएका छन् । स्रोत नखुलेको अवैध रकमसहित दुई व्यक्ति पक्राउ परेको घटनाले मोरङमा अवैध हुण्डी कारोबार फस्टाएको पुष्टि गरेको छ । विगतमा सहकारीको आडमा यस्तो कारोवार हुने गरेको थियो । मोरङ प्रहरीले यस अघि विराटनगरमा सहकारीको आड लिएर हुने अवैध हुण्डीका कारोवारीलाई ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित पक्राउ गरेको थियो । हुण्डीमार्फत एक लाख रुपैयाँ पठाउँदा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।