काठमाडौं, कात्तिक १४ गते । कृष्णनगरमा लक्ष्मी मूर्ति बिर्सजनको बिषयलाई लिएर दुर्इ समुदाय बीच झडप बढेसँगे कपिलबस्तुमा कर्फ्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुद्वरा बिहीबार अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कफ्र्यू आदेश जारी भएको सूचना निकालेको छ ।
दीपावलीको समापनसँगै बुधबार राति ८.०० बजेपछि मूर्ति बिर्सजनका क्रममा बिवादले उग्ररुप लिएको थियो । मूर्ति बिर्सजनकालागि जाने क्रममा अज्ञात समूहले ढुंगा हाने पछि विवाद बढेपछि प्रशासन कार्यालयबाट कर्फ्यु जारी भएको सूचनामा उल्लेख छ ।
बुधबार राती विवाद पछि तनाव र झडप बढेसँगै बिहीबार बिहान जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले कर्फ्यूको निर्णय गरेको थियो ।
कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जारी गरेको कर्फ्यू आदेश अनुसार कृष्णनगर भन्सार कार्यालय देखि उत्तर सात सय मिटर, पश्चिम सात सय मिटर, र पूर्व तीन सय मिटर क्षेत्र निर्धारण गरिएको छ ।
सो क्षेत्र भित्र हिडडुल गर्न जम्मा हुन प्रतिबन्ध लगाईएको छ । आदेश अवज्ञा गरिएमा कानुन अनुसार कारबाही गरिने प्रजिअ श्रेष्ठले बताउनुभयो ।
स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको छ ।