बसन्त अधिकारी

बसन्त अधिकारी

बसन्त अधिकारी सामाजिक अभियन्ता हुन् । उनी बिकल्प: एन अल्टरनेटिभ नामक संस्थाकाे निर्देशक हुन् ।
बसन्त अधिकारी

मात्र दुइदिन अघिको कुरा हो, म बिराटनगर एयरपोर्टबाट घर जाने क्रममा बसपार्कमा सिटि रिक्साबाट ओर्लीए, बीच हाइवेमा एकजना ट्राफिक प्रहरी औला उठाउदै मोटरसाइकल चालकलाइ झपार्दै थिए, तिनलाई जान दिएपछि उनले अर्को भारतीय नम्बर प्लेटको गाडीलाइ रोकेर झपार्न थाले । म यो सबै दृश्य नजिकबाट नियालीरहेको थिए । नागरिकहरुलाई गरिएको यस किसिमको व्यवहार मलाइ अलि रूखो लागिरहेको थियो, करदाताहरुमाथि यस किसिमको व्यवहार राज्यका सेवकहरुबाट म अपेक्षा गर्दिन । गाडीलाई जान दिएपछि मैले ट्राफिक प्रहरीलाई “किन तिनीहरुलाई झापार्नु भएको?” भनेर सोधे, उनले उत्तर दिए, “हर्न बजाउन निषेध गरिएको छ, हर्न बजाउछन् अनि गालि नगरे के गर्नु?” मलाइ बिषय बस्तु र हर्न बजाउन निषेध गरिएको कुरा पहिलोपल्ट जानकारीमा आयो । बिराटनगरको परिपेक्षमा नौलो बिषय थियो यो मेरो लागि, मैले उनलाई सोधे, “म अहिले बीच बाटोमा उभिएको छु, मलाइ हर्न बजाउने कि नबजाउने सवारी चालकहरुले?” उनको मुख अलि अध्यारो भयो र उत्तर नदिई आफ्नो काम गर्न हानिएर अर्को तर्फ लागे, उनि जादजादै मैले भने “पहिला आधारभूत व्यवस्था त मिलाउनुस् अनि यसकिसिमको काम र कारवाही अगाडी बढाउँनुस्”, यति भनेर म पनि भुत्भुताउदै आफ्नो गन्तब्य तर्फ लागे !
कहिलेकाही यो देशको नीति निर्माण गर्ने मानिसहरुको काम र कारवाही गर्ने तरिका देखेर ताज्जुब लागेर आउछ । उनीहरु नेपाली नागरिकहरुबाट युरोपिय नागरिकहरुले गर्ने ब्यावहारको अपेक्षा गर्दछन तर आफुले दिने सेवाको स्तर भने सुडान र जिम्बाबेको भन्दा पनि गुणस्तरहिन छ । मैले नो हर्न नीति खराब भन्न खोजेको होइन, प्राय सबै बिकसित देशहरुले यसलाई अवलम्बन गर्दछन्, तर नीति अवलम्बन गर्नको निम्ति राज्यले तयार गर्नुपर्ने आधारभूत तयारी सबै पुरा गरेर मात्र उनीहरुले नीति कार्वान्वयन गर्ने गरेको पाइन्छ । हामिचाहि राज्य पक्षबाट पहल गर्नुपर्ने कूराहरु तर्फ ध्यान नै नपुर्याई कसैको सनक र झनकको भरमा यस किसिमका नीति-नियमलाइ अवलम्बन गर्दछौ र नागरिकहरुलाई सास्ती दिने, नैतिकता पढाउने, रकम असुली गर्ने र हासोको पात्र बन्ने आधार तयार गर्दछौ ।
अनावस्यक हर्न बजाएर अरुको कान खानु र ध्वनि प्रदूषण गर्ने कार्य कदापि राम्रो होइन । नो हर्नको धारणा राम्रो कुरा हो, जसलाई सबै नागरिकहरुले सहराना र सहयोग गर्न जरुरि छ, साथै यस अभियानलाइ सफल बनाउने दायित्व हामि सबैको हो । तर यति भन्दैमा हामीले हाम्रो यथार्थ र परिस्थितिलाइ नजरअन्दाज गर्न भने मिल्दैन । हाम्रा बाटाहरुमा खसी बाख्रा, गाइ, गोरु, मानिस, रिक्सा ठेला, गाडी, ट्याक्टर ट्रक आदि सबै संगै देखिन्छन् । अझ कती ठाउमा त मानिसहरुलाई हिड्ने पेटी सम्मको व्यवस्था हुदैन । भएपनि हिलो-कादो, स्लाप नभएको, अव्यस्थित पार्किंग र ब्यापार गरि बाटो छेकिएको हुन्छन् जहाँबाट हिड्न समेत मुस्किल हुन्छ । यस्तो परिस्थितिमा मानिसहरु बाध्य भएर रोडबाट हिड्नु पर्दछ, जहाँ सवारी साधन दौडनुपर्ने हो । यस अवस्थामा आफु अगाडी आएको मानिस वा चौपायालाइ बचाउन वा जनाउ दिन समेत हर्न बजाउन बाध्य हुनुपर्दछ , जुन रहर नभएर बाध्यता हुन पुग्दछ ।
जबकी बिकसित देशहरुमा नागरिकहरुलाई पर्ने यी सबै समस्याहरुमाथि ध्यान पुर्याई समाधान गर्ने पहल गरिन्छ । त्यहाँ फराकिलो बाटो हुनुको साथै ठुला गाडी, कार साइकल, पैदल यात्री आदि सबैको लागि छुट्टै लेन, पेटी र ट्राफिक लाइटको व्यवस्था गरिएको हुन्छ, यति मात्र नभएर बाटो काट्नको निम्ति ओभरहेड ब्रिज र अन्डरग्राउण्ड प्यासेजको व्यवस्था गरिएको हुन्छ जसले सबैलाई सहजता प्रदान गर्दछ । यति सबैकुराको व्यवस्था हुदा-हुदै पनि कसैले अनावस्यक हर्न बजाउनु भनेको आफु असभ्य भएको परिचय दिनु हो र यसका निम्ति सम्बन्धित व्यक्ति नीति नियम तोडेको अभियोगमा कारवाहीको भागीदार हुनुपर्दछ । ति ठाउहरुमा हर्न त्यतिबेला मात्र प्रयोग गरिन्छ जतिबेला साचैनै आवस्यक हुन्छ वा अरुलाइ उनीहरुको गल्ति महसुस गराउन जरुरि पर्दछ । त्यहाँ कसैको हर्न खानु भनेको लज्जा र अपमानको बिषय हो, जुनकुरा मैले यहाँ उल्लेख गर्दा हामी नेपालीहरुको निम्ति नौलो बिषय हुन सक्दछ ।
हामी नागरिहरुले पनि आफ्नो गाडीमा हर्न छ भन्ने बित्तिकै बजाको-बजाई गरि अरुको कान खान जरुरि छैन । यो आवस्यक परेको बेलामा मात्र बजाउनको निम्ति राखिएको साधन हो, जसको ख्याल राखी आफु सभ्य भएको परिचय दिन जरुरि छ । साथै हामीले जथाभाबीबाट बाटो नकाट्ने, हिड्दा पेटीबाट हिड्ने र आफ्नो चौपायालाइ बाटोमा छाडा नछोडिदिने हो भने साधन चालकहरु अनावस्यक हर्न बजाउन बाध्य हुनेछैनन् र ध्वनि प्रदूषणको समस्यालाइ धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ ।
सबै नागरिकहरुले राज्यको नीति-नियमको पालना गर्नु पर्दछ भन्ने कुरामा मेरो मान्यता छ, तर नीति नियमहरु व्यावहारिक छन् कि छैनन् भनेर हेर्न पनि उतिकै आवस्यक हुन्छ । राज्यले नीति-नियम लागु गर्नुपूर्व सबै किसिमका व्यवहारिक पक्ष र आवस्यक तयारि पुरा गरेर मात्र नियम कार्वान्वयन गर्दा त्यसले प्रभावकारिता पाउने छ, अन्यथा यस किसिमका क्रियाकलापले मानिसहरुमा जथाभावी हर्न बजाउनु हुदैन रहेछ भन्ने एक किसिमको जानकारी त पाउनेछन्, तर अभियानले सफलता हात पार्ने छैन । आवस्यक आधारभूत तयारी पुरा नगरी हचुवाको भरमा सुरु गरिएका यसकिसिमका अभियानहरुले राज्यका निकायहरुलाई नागरिकहरुमाथि हप्की-दप्की गर्ने, हर्जाना तिराउने र जबरजस्ती रकम असुली गरि टार्गेट पूरा गर्ने कार्यमा त सहयोग पुग्नेछ तर नागरिकहरुले अभियानलाइ गर्ने छैनन् । नो हर्न अभियान बिराटनगर लगायत अन्य सहरहरुमा लागु त भयो तर अब यसको निम्ति चाहिने अन्य तयारि पुरा गर्न तर्फ सम्बन्धित निकायको ध्यान जाओस् भन्ने कामना गर्दछु ।


प्रतिक्रिया लेख्नुहोस