आफु जहिले पनि कमेडी रोल गर्न मन पराउने कलाकारलाई सिरियस रोल दिएमा अभिनय गर्न धेरै गाह्रो हुने अनुभव सुनाउछन् आरोहण गुरुकुल विराटनगरका कलाकार रामभजन कामत उर्फ आरबीके । भन्छन् ‘मलाई डाइरेक्टरले सिरियस रोल दियो भने प्रोडुसर डुब्छ । विराटनगर १ पोखरीया त्रिवेणी मार्ग स्थायी घर भएका आमा सागरदेवी र बुबा सहदेवका जेठो सन्तान आरबीके स्नातक तहसम्मको औपचारीक शिक्षा लिएका छन् भने नाटकमा दुई वर्षे कोर्ष गरेका छन् । ख्यालख्यालमै वि.सं. २०५८ देखि नाटकमा प्रवेश गरेका उनले हालसम्म एक हजारजति स्थानमा सडक नाटक, तीन सय स्टेज नाटक गरेका छन् । त्यस्तै पूर्वाञ्चलको पहिलो मैथिली फिल्म ‘प्रेम सफल' को पटकथा लेखन र अभिनेताको रोल निभाएका छन् । हाल उनी आरोहण गुरुकुल विराटनगरमा आबद्ध छन् । प्रस्तुत छ, विराटनगरका उनै प्रतिभाशाली नाट्य कलाकारसंग गरिएको कुराकानीको मुख्य अंशः
अभिनय क्षेत्रमा कहिलेदेखि कसरी प्रवेश गर्नुभयो ?
म प्लस टु पढ्दाको कुरा हो, २०५८ सालमा सिटी कलेजमा वेलकम प्रोग्राम थियो । हावै हावामा हामीले ‘मन्त्रिीज्यूको अन्तरवार्ता’ भन्ने नाटक तयार पारयौं । त्यतिबेला नाटक सम्बन्धि त्यति ज्ञान पनि थिएन । दुई चार जना बसेर लेखेका थियौं । त्यो हाम्रो पहिलो नाटक सबैले मन पराए । त्यही ग्रुपले २/३ वर्षसम्म संगै मिलेर नाटक गर्दै गयौं । त्यसपछि भनें मेरो नाटकप्रति लगाब बढ्दै गयो ।
यो क्षेत्रमा लाग्न कसको प्रेरणा पाउनु भयो ?
मलाई पहिले कहिल्यै लागेको थिएन कि म यसरी कलाकारीता क्षेत्रमा लाग्छु भनेर । म चाहीं कुनै एउटा अफिस कर्मचारी भएर १० देखि ५ बजेसम्म काम गरी घर परिवारलाई पनि काम सघाउँछु भन्ने थियो । मैले जीवनमा नसोचेको काम अहिले गर्दैछु । स्कुलमा पनि कहिल्यै नाटक गरिएन । कलेजमा चाहीं सरहरुले उत्प्रेरणा दिनुभयो ।
तपाईको जीवनको लक्ष्य एउटा, पेशा अर्कै कसरी अगाडि बढ्न सकिन्छ ?
हो, मेरो पहिलेको लक्ष्य अर्कै भए पनि अहिले कलाकारिता पेशालाई अंगालेको छु । साधारण कर्मचारी र कलाकारीतामा धेरै अन्तर छ । सुरुमा रहरै रहरमा नाटक गर्दा सबैको वाह वाही पाउँदै जाँदा म अहिले यसैमा अभ्यस्त भइसकेछु । अहिले यसैलाई जीवन निर्वाहको विकल्प बनाएको छु र अब त बाध्य भएर पनि बनाउनु पर्यो ।
कलाकारिता क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
गाह्रो छ, नेपालमा एकदमै गाह्रो छ । आफ्नो मान्छेको सोर्स भयो भनें अवसर पाउन पनि सकिन्छ ।
फेरी पनि किन यही पेशा रोज्नु भयो ?
सुरुमा रमाइलोका लागि नाट्य क्षेत्रमा लागियो । अहिले यसलाई चटक्कै माया मार्न नसकेर मात्र हो ।
पूर्वाञ्चलमा नाटकको अवस्था कस्तो छ ?
पूर्वाञ्चलमा स्ट्रगल पिरियड हो । सबै जना कलाकारहरु मिलेर लाग्ने हो र स्थानियस्तरमा टेलिभिजन, रंगमञ्च स्थापना भएमा भविष्य राम्रै हुन सक्छ ।
कलाकारलाई समाजमा नराम्रो दृष्टीले हेर्छन् नी ?
हो, यसले गर्दा कहिले काही त नैराष्यता पनि आउँछ । यसको धेरैजनासंग उठबस हुन्छ, यो नराम्रो चरित्रको भन्ने गरिन्छ । कहिले काहीं रियल कथालाई प्रस्तुत गर्दा पनि यसले त नाटक गरीराँछ भनिदिने । फेरी कहिले काहीं राम्रो गर्यो भनेर स्याबासी दिंदा भनें रमाइलो लाग्छ ।
परिवारबाट कत्तिको सपोर्ट भएको छ ?
यो पेशा छोड्न अत्यधिक दवाव छ । जब व्यवहार चल्दैन भनें यसमा लागेर लाइफ बन्दैन भनें किन यसैमा लागि रहने भनेर दवाब आइरहन्छ । घर परिवारबाट मात्र हैन, समाजीक दवाव छ । गाउँ छिमेकमा पनि यो आरबीके पढेलेखेको केटो नाटकमा लागेर बिग्रीयो भन्छन् । मान्छेको सोंच एकै चोटी परिवर्तन गराउन सकिदैन । एक दिन न एक दिन त अवस्य परिवर्तन होला भन्ने आश छ ।
कलाकारिताका चुनौति के के छन् ?
पहिलो कुरो त परिवार नै हो । त्यसपछि दोस्रो बाहिर काम गर्दा आर्थिक । तपाई जतिसुकै राम्रो एक्टर भएपनि तपाईसंग आर्थिक समस्या छ भनें अगाडि बढ्न गाह्रो हुन्छ ।
कलाकारले राज्यबाट के आशा गरेको हुन्छ ?
राज्यले कलाकारको सिनियरताका आधारमा अवसरहरु प्रदान गर्नुपर्छ । त्यस्तै स्थानीय कलाकारलाई पनि अनुभवको आधारमा विना सोर्सफोर्स अवसरहरु दिने व्यवस्था गर्नुपर्छ ।
एउटा असल कलाकारमा कस्ता गुणहरु हुनुपर्छ ?
कलाकारमा जम्मा तीनवटा कुराहरु हुनुपर्छ । आत्मविश्वास, अनुशासन र क्षमता हुनुपर्छ ।
नाटककै विषयलाई लिएर श्रीमतीसंग कत्तिको झगडा हुन्छ ?
म एउटा कलाकार हुँ, मेरो धेरै जनासंग उठबस हुन्छ । मेरो श्रीमान एउटा कलाकार हो, उसले कहिले केटीलाई काखमा लिने रोल गर्नुपर्छ । कहिले काहीं नाटकमा एउटै ओछ्यानमा सुत्ने रोल गर्नुपर्छ । यसको अर्थ मैले नराम्रो काम गर्न छुट छ मैले जे पनि गर्दै हिड्नु होइन । यो रियल लाइफमा पनि गर्छ भन्ने होइन । नाटकीय हिसाबले हो भन्ने मेरो श्रीमतीले बुझ्नु पर्छ र बुझ्छिन् पनि ।