‘बिहानीले उज्यालोलाई पर्खदै अन्धेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस्, यात्रा निरन्तर चलिरहोस..... हुरीबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस । यहि छ मेरो भावना, विजया दशमीको तपाई हामी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!’
‘वाह! कस्तो मजाको शुभकामना लेखेको’ भनि मेरो प्रशंसा गर्ने पाठक मित्र स्पष्टिकरण दिन्छु माथिका पंक्ति मेरा होइनन । मेरोपोस्ट नामक सञ्जालका मित्र सुभाषबाट सापटी लिएको हुँ ।
दसैंले छोएरै होला बजारको चहलपहल बाक्लिएको छ । चोकका केटाहरु पंडाल लगाएर वा मूर्ति सजाएर दुर्गा पुजा गर्ने तयारीमा व्यस्त छन् । शहर बाहिर जाने सवारीहरुको चाप थामिनसक्नु भएको छ । वर्षमा दुई पटक आउने दसैं एक पटक चैते अनि अर्को बडा दसैंको नामले परिचित छ । चैते दसैं भन्दा भव्य तरिकाले मनाइने विजया दशमीले हामीलाई छोइसकेको महसुस हामी दिन प्रतिदिन गरि रहेका छौ/अझ केहि हप्तासम्म गरिरहने छौ ।
सम्झना छ विगतको, स्कुले जीवनमा नयाँ वर्ष होस् वा दसैं आउन लाग्दा साथीहरुसँग फिल्मी हिरो हिरोइन्, रमणीय स्थानका तस्बिर अंकित पोस्टकार्डहरुमा ‘विजया दशमीको हार्दिक मंगलमय शुभकामना’ लेखेर आदानप्रदान गर्दथ्यौ । विस्तारै पोस्टकार्डको स्थान एसएमएसले लियो । मोबाइलमा रमेका हामीले एसएमएस मार्फत शुभकामना साटासाट गरेको केहि समय नबित्दै महशुस हुन थालेको छ, सामाजिक सञ्जालले माध्यम परिवर्तन गराएको छ । हुन त अहिले पनि एसएमएस पुरानो भएको छैन र पनि फेसबुक, ट्विटर अनि मेरोपोस्ट जस्ता सामाजिक सञ्जालले शुभकामना प्रसारको माध्यम नै परिवर्तन गरिरहेको छ । मैले लेखको सुरुमा प्रस्तुत गरेको फेसबुक स्टाटस झै शुभकामना पोख्ने लेखाईहरु निक्कै देखिन्छन् हिजो आज सामाजिक सञ्जालमा । अरु भन्दा बढि लाइक अनि कमेन्ट पनि यस्तै पर्व विशेष समयसापेक्ष प्रस्तुतिले पाउने गर्छन पनि ।
समय पाउदा यसो मिसिनु पर्छ सामाजिक सञ्जालको संसारमा, साथीहरुको स्टाटसले दसैं छाएको संकेत गर्न थाल्छ । विराटनगरका पत्रकार मिनकुमार नवोदित लेख्छन् ‘दसैं काठमाडौको महलमा बस्नेलाई मात्र नआओस, जुम्ला र हुम्लामा बस्नेहरुको झुपडीमा पनि कुनै अवरोध बिना आउन सकोस्....’ । उनको स्टाटसमा दसैंले गरिबहरुलाई पिरोल्ने दुख समेटिएको छ । हर्षसँगै यस्ता पिडा पोख्ने माध्यम पनि बनेको छ, सामाजिक सञ्जाल । लाखौको जमघट हुने चौतारी फेसबुकमा यस्ता स्टाटस लाखौकै संख्यामा हुत्तिरहेका छन् । ‘अरुलाई दसैं आएको बेला मलाई दसा आएछ । दिनभरी सिमेन्ट बालुवाको काममै ब्यस्त भईयो ।’ सिंगापुरमा बस्ने नेपाली बल्कोटे बिनेले आफ्नो पिडा पोख्दै लेखेका छन् फेसबुकमा । विदेशमा कामको चटारोले थिचिएका धेरैले यसरी आफ्नो पर्व व्यथा लेख्छन् अनि कोहि भने पर्वबिच पलाएको कुरिति अनि अधार्मिक मौलिकताको विरोधमा पनि आफ्नो औंला किबोर्डमा नचाउछन् । इटहरीका मेरा एक मित्र लासाङला आपाले औंला चलाए ‘आदर्णिय बुद्धिजिबी साथीहरु बिरोध तथा अपब्याख्या गरेको नभन्नु होला । अब कालीमातालाई मान्छे, पशु र पंक्षी भोग र बली दिएर भक्ति नबनौ । तनमन सफा राखेर पूजा गरौ , पुण्य कमाऔ । सबैलाई सम्मान गरौं’ | उनको यस स्टाटसमा पचहत्तर जना मित्रले सहमतिको लाइक गरेका छन् । उनको बिचारमा थप्दै उमेश निरौलाले थपेका छन् ‘बली प्रथाको अन्त्य गरि स्वच्छ संस्कृतिको सुरुवात गरौं’ ।
विदेशको व्यथा, स्वदेशको उमगं अनि गाउँको रमझम कतिले कोरे कतिले । सबैको सार्वजनिक थलो बनेको सामाजिक सञ्जालले पर्वहरुको उमंगमा झन् बढि तातिने गरेको छ । यसलाई कायम राखौ । दशैलाई सहि र सजग तरिकाले मनाउने प्रयास गरौं । अन्त्यमा आफ्नै फेसबुक स्टाटसको मोडिफाईड अंश छोड्दै ह्याप्पी दसैं ‘म त दसैं आएको हो कि होइन भनि छक्क परि रहेको छु , बजार निस्कदा हो झै लाग्छ , फेसबुक र ट्वीटरमा नि सेम फिलिङ्स तर कोठा पुग्दा होइन झै..... संगै बस्ने कोठाका भाइहरु दशै आएर घर तिर लागि सके मेरो लागि नआ हो कि के हो यो दशै ?’