नौमती बाजाको संरक्षणमा दलितहरू

नौमती बाजाको संरक्षणमा दलितहरू

विराटनगर, १ कात्तिक । लोपोन्मुख अवस्थामा पुगेको नौमती पञ्चेबाजा संरक्षणमा मोरङको इटहराका दलितहरू लागि परेका छन् ।
दलित समन्वय समिति इटहराले लोपोन्मुख अवस्थामा पुगेको नौमती पञ्चेबाजा संरक्षणमा जुटेको हो । इटहरा गाविसको सहयोगमा नौमती पञ्चेबाजा खरिद गरेर आफ्नो संस्कृति जर्गेना गर्न उनीहरू संरक्षणका छन् । पछिल्लो समयमा नौमती पञ्चेबाजा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षणमा लागि परेको दलित समन्वय समिति इटहराका सचिव खड्ग नेपालीले बताए । नौमती पञ्चेबाजाले संस्कृतिलाई जर्गेना गर्नुको साथै दलितहरूको आयस्तर उकास्नका लागि पनि सहयोग पु¥याउने उनको भनाइ छ ।
“हाम्रो संस्कृति लोभ हँुदै गएको छ,” उनले भने, “त्यसलाई संरक्षण गर्नु दायित्व सम्झेर लागि परेका हौँ ।” बिहे, सभासमारोह, पार्टीलगायतमा बोलाएमा इटहरासहितको आसपासको क्षेत्रमा ५ हजार र त्यस क्षेत्रबाहेक अन्यमा भने दुरीको आधारमा रकम लिने उनले जानकारी दिए । नेपालमा भारतीय बाजाको प्रयोग बढ्दै गएको र आफ्नै संस्कृतिको नौमती पञ्चेबाजा लोभ हुने अवस्थामा पुगेकाले त्यसको संरक्षणमा जुटेको समितिका अध्यक्ष थर्कबहादुर विश्वकर्माले बताए ।
“पहिला नौमती बाजाको सम्मान भए पनि दलितहरूलाई हेर्ने दुष्टिकोण नकारात्मक रहेको थियो” उनले भने । सांगीतिक रूपले नै जातीय छुवाछुतमुक्त बनाउनका लागि पनि नौमती पञ्चेबाजाको संरक्षणमा लागेको उनले जानकारी दिए । दलितहरूको आर्थिक अवस्था उकास्न र संस्कृतिलाई लोभ हुनबाट बचाउनका लागि नौमती पञ्चेबाजाको संरक्षणमा जुटेको बताउँदै त्यसमा सबैको साथ, सहयोगको आवश्यक रहेको उनले औंलाए । बढ्दो भारतीय बाजाभन्दा आफ्नै संस्कृतिको नौमती पञ्चेबाजालाई प्रश्रय दिनुपर्नेमा उनले जोड दिए । दलितहरूको आर्थिकस्तर उकास्न र संस्कृति जर्गेनामा सहयोग पुगोस् भनेर सहयोग गरेको इटहरा गाविसले जनाएको छ ।
गाविसले सहयोगस्वरूपमा दिएको ५० हजार र आफैबाट ४ हजार जम्मा गरी ५४ हजारमा नौमती बाजा खरिद गरेको बताइएको छ । नौमती पञ्चेबाजाहरूमा नर्सिङगा दुई थान, दमाहा दुई थान, सनही दुई थान, झ्याम्टा १ थान, ठोलक १ थान र ट्यापु १ थान खरिद गरिएको छ भने नौ जनाले रोजगारी पनि पाएका छन् । लोभ हुँदै गएको संस्कृतिलाई संरक्षण गर्न दलितहरूले थालेको सो अभियानलाई इटहराबासीले खुलेर प्रशंसा गरेका छन् । दलितहरूको आयस्तरमात्र नभई संस्कृतिलाई पनि लोभ हुनबाट बचाउने उनीहरूको तर्क छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्