गत कात्तिक एक गते विराटनपथको प्रथम पृष्ठमा छापिएको एङ्कर समाचार पढेपछि धेरैको ध्यान विराटनगरको छिमेकि गाविस भातिगछले तान्यो । यसै विषयमा बुझ्न मलाई अनगिन्ति फोन आए । उक्त रिपोर्ट अनलाईन साइट आवर विराटनगर डटकममा हाले पछि पनि देश बाहिरका साथीहरुले अनलाईन मेसेज पनि उत्तिकै पठाए । समाचारको सुरुवातमा नै उल्लेख गरेको थिएँ ‘सुन्दा अचम्म लाग्न सक्छ प्राविधिकरुपमा सम्पन्न मानिने विराटनगरबाट चार किलोमिटरमात्र पुर्वको दुरीमा रहेको भातिगछ गाविसका अधिकांश युवाहरुले पहिलो पटक मंगलबार कम्प्युटर चलाए ।’ वास्तविकतामा उक्त रिपोर्ट तयारीका लागि भातिगछ पुग्न मलाई विराटनगरको सिमा सिघिंया खोलाबाट करिब १५ मिनेटको समय लागेको थियो । सरकारको ‘प्रत्येक हातमा मोबाइल’ भन्ने अवधारणाको प्रभाव हुन सक्छ प्राविधिक विकासको रुपमा धेरैको हातमा मोबाइल पनि देखियो । तर मोबाइल सिमित देखियो फोन उठाउन र नम्बर डायल गर्नका लागिमात्र । यसको थप प्रयोग उनीहरुको लागि आकाशको फल झै भएको थियो । हातमा संसार भएपनि त्यसलाई देख्न नसकेका उनीहरु त्यसको प्रयोगबाट कोशौ टाढा थिए ।
विराटनगरबाट गएका केहि प्राविधिक कार्यमा निपुण युवा स्वयम्सेवकहरु झुम्मिएका एकहुल युवाहरुले एकोहोरिएर हेरिरहेको देखेर अक्कबक्क पर्दै कम्प्युटरका पुर्जाहरु जोडिरहेका थिए । ग्रामीण भेगका ति एकोहोरिएका युवाहरु उनीहरुलाई सघाउन सँगसँगै लागे । तर तिनिहरुले जानेको काम भने कम्प्युटरका पाटर््स प्याक गरेका कार्टुनहरु खोल्नु र तिनमा लागेका प्लास्टिक उप्काउनु मात्र रह्यो । एकै उमेर समुहका उनीहरुको औपचारिक शैक्षिक अवस्था र तह पनि प्राय उस्तै नै थियो तर चार किलोमिटरको दुरीले उनीहरुलाई आधुनिक र पुरातन समाजको सिमाले छुट्याएको स्पष्ट देख्न सकिन्थ्यो । सिपियुलाई मोनिटरमा एउटा जाबो तारको सहायतामा जोडेर कम्प्युटर खोलेको देखेर हर्षित बनेका उनीहरु किबोर्डमा चलेका तिब्र औंलाहरु देखि आश्चर्यचकित समेत थिए । ग्रामीण भनाउदो भुभागका उनीहरुको यो अवस्थाको दोष कसलाई दिने ? सोहि उमेर समुहमा आउट सोर्सिङ गरि लाखौं कमाइरहेको युवा जमात, सोसियल साइटको सम्बन्धलाई प्रयोग गरि फैलिरहेका युवा जमात र अनलाईन कलेजबाट एब्रोड स्टडि गरिरहेका युवा जमात एकातिर छन् भने अर्कातिर भातिगछका ति युवा जमात छन् जो कम्प्युटरमा ग्रयाजुएसन सक्ने उमेरमा त्यसको एसेम्बलिङ प्रोसेसमै अचम्मित छन् । कम्प्युटर शिक्षाको सुरुवाती उमेर के ? सरकारले तोक लगाउने बेला भएको छ । विराटनगरको एक सरकारी कार्यालयका उच्च पदका कर्मचारीको प्राथमिक तहको स्कुले छोरो मसँग फेसबुकमा प्राय च्याटमा कुरो गर्छ । तिनै छोरोका बाबुहरुले बनाएको नीति र योजनाले १८ वर्षे ग्रामिण युवालाई अझै कम्प्युटरको कखरा सिकाएको छैन भने कसरी बैज्ञानिक र न्यायोचित योजना बन्नेमा ढुक्क हुन सकिन्छ ?
प्रसंग जोडेको हुँ भातिगछका केहि युवा समुह तथा संस्थाले ‘युवा क्षमता विकासको लागि सुचना प्रविधि’ भन्ने नाराको नाममा आयोजना गरेको सात दिने कम्प्युटर तालिमको । जसको उद्घाटन गत मंगलबार जिल्ला विकास समितिका सुचना विभाग अधिकृत महेन्द्र खड्काले कम्प्युटरको इन्टर कि थिचेर गरेका थिए । सो इन्टर कि को थिचाईसँगै धेरैले नवयुगको सुरुवात भएको माने होला । तालिममा सहभागी तिन दर्जन युवाले आफ्नो जिवनको टर्निङ प्वाइन्ट नै ठाँने होला । तर अब उनीहरुले झै भातिगछका अहिलेका कलिला नानीहरुले पनि कम्प्युटरको शिक्षा लिन अझै १८ वर्ष कुर्नु पर्ने हो ?सोच्नु पर्ने बेला भएको छ । तालिम उद्घाटनकै क्रममा बोल्दै प्रविधिकर्मी निर्मल तामाङले यहि प्रश्न उठाएका थिए । जवाफ कसले दिने ? एकअर्कालाई नै तेस्र्याएर आफु पन्छिने हो भने पक्कै पनि भातिगछका प्रत्येकले १८ वर्षमै कम्प्युटर छुनेछ ।
नाफामुखि निजि क्षेत्र गाँउ पस्ने कुरै भएन, सरकारी योजना सहर केन्द्रित भएरै मात्र सिमित छन् । अहिले त केहि युवा तथा यसको महत्व लागेका केहि तातिएर भातिगछका युवाहरुले कम्प्युटरको प्रयोग सिक्ने अवसर पाएका छन् । तर नेपालमा धेरै भातिगछहरु छन् । सहरभन्दा परका भातिगछहरु अझ क्रुर अवस्थामा पनि रहेको हामी पाउन सक्छौ । सरकारले हातहातमा मोबाइल त पुर्याउने लक्ष्य लियो, केहि समय अघि एक विद्यार्थी एक ल्यापटप भनी योजना पनि सार्वजनिक गर्यो तर कार्यान्वयनको पक्षमा केहि विद्यालय र केहि दर्जन विद्यार्थीबिचमात्र सिमित भइ दिदाँ त्यसको प्रभावकारीता मापन कसरी गर्ने । सरकारले काम गरेका छैन भनी औंलो उठाँउदा आफुले काम गरेको उदाहरण देखाउनमात्र ति योजनाहरु आएको देखिन्छ । वर्तमान सरकारले अहिले प्रविधि अत्यावशक भइसकेको कुरा बुझेको पक्कै छ । प्रधानमन्त्रिले पनि जनताको समस्या इमेलबाट लिने व्यवस्था गरे । आफ्नै नामबाट पनि वेबसाइट सञ्चालन गर्छन हाम्रा प्रधानमन्त्री । तर यसको महत्व र प्रयोग ग्रामीण भेगका जनताले गर्न पाएनन् भने प्रधानमन्त्रिको कदम र कार्यको के अर्थ ? संसारमै हार्डवेयरको बादशाह चिन र सफ्टवेयरको उस्ताद भारतले प्राविधिक विकासको सहायतामा कति तिब्र कदम चालिरहेको अवस्थामा ति दुई देशबिचको नेपालले ति दुबै क्षेत्रलाई अंगिकार गर्न सक्ने अवस्थामा पनि देशका युवाले कम्प्युटर छुनै १८ वर्ष कुर्नु पर्छ भने देशमा ल्याइएका अनगिन्ति योजनाहरुको के अर्थ ? सरकारले सोच्नु पने भएको छ । फेरी कात्तिक एक गतेको झै समाचार लेख्नु नपरोस, कामना गर्दछु ।
सरोज कार्की
facebook.com/sarojkarki1992