प्रविधिको प्रयोग अनि प्रविधि मेला

प्रविधिको प्रयोग अनि प्रविधि मेला

गत शनिवार साँझ विराटपथको कार्यालयमा समाचार कोर्दै गर्दा मोबाइलले एसएमएसको रिङ्ग बजायो । पत्रकारहरुलाई कार्यक्रमको जानकारी दिने तथा नेपालकै सबैभन्दा बढि एसएमएस पठाएर रेकर्डनै कायम गरेका दिपक जिको मेसेज रहेछ ,‘आइतबार विहान १० बजे क्यान इन्फोटेकबारे पत्रकार सम्मेलन’ । हुन त दिपक जिको मेसेज अघि नै पनि ईन्फोटेकबारे अनौपचारिकरुपमा आयोजकहरुबाटै खबर पाइएको थियो साथै पत्रकार सम्मेलनको पनि । तर उनको निमन्त्रणाले विराटनगरका प्राय पत्रकारको दैनिकी सुरु गर्दछ । हामीले सामान्यरुपमा प्रयोग गर्ने एसएमएसलाई दिपक जिले यस क्षेत्रका पत्रकार तथा कार्यक्रम आयोजकहरुको आवश्यकतामा परिणत गरिदिएका छन् । यसलाई प्रविधिको प्रयोगको राम्रो उदाहरण मान्न सकिन्छ ।
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)अर्थात कम्प्युटर पार्टसहरुको भेन्डर (विक्रेता)हरुको छाता संगठन क्यानले हरेक वर्ष आयोजना गर्ने क्यान ईन्फोटेक यस अघि काठमाडौंमा ठुलो तामझाम अनि महत्वका साथ हुने गर्दछ । संसारका उत्कृष्ठ सुचना प्रविधिका कम्पनिहरुपनि यसै महाकुम्भलाई टार्गेट बनाई आफ्नो नयाँ प्रोडक्ट नेपाली बजारमा उतार्ने प्रयासमा हुन्छन् । प्रविधिप्रति चासो भएका लाखौं सहभागीहरुले अवलोकन गर्ने क्यान ईन्फोटेक ब्रान्ड नेम बोकेको मेलाको रुपमा नै नेपाल भर स्थापित भईसकेको छ । तर मोफसलका केहि क्षेत्रमा बाहेक यो पुर्णरुपमा काठमाडौं खाल्डोमा मात्र सिमित हुँदा विराटनगरजस्तो प्रविधिप्रेमि तथा प्रविधिको पहँुचमा रमाइरहेको शहर वास्तविक र पाउनु पर्ने सुचना र सामाग्रीबाट पछाडि परिरहेको थियो ।
डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री पद ग्रहण गरे पछि केहि विशेष कार्यहरु तत्काल गरेका थिए । प्राय सबैले उत्तिकै चर्चा बटुल्यो । मुस्ताङ, विपा सम्झौता वा हेल्लो सरकारको सुभारम्भ । जसमध्ये जनताले प्रत्यक्ष र प्रभावकारीताका साथ प्रयोग गरिरहेको हेल्लो सरकार (फोन नं ११११) लाई प्रविधिको प्रयोगको एउटा नविनतम नमुना मान्न सकिन्छ । यस अघि पनि टेलिफोन सबैले प्रयोग गरिरहेको हो । सरकारीस्तर देखि सर्वसाधारण सबैको हातमा मोबाइल देखिएकै हो । तर यसै सुविधालाई प्रयोग गर्न यसअघिका कुनै सरकार लागेको थिएन । सबैलाई अहिले साधारण लाग्ने टेलिफोनको प्रयोग गरेर सरकार र जनताको दुरी कम गर्ने प्रयासलाई सह्रानीय मान्नै पर्छ । साँच्चै नै प्रविधिको प्रयोग कार्यहरुलाई सहजताका साथ गर्नका लागि नै प्रयोग गरिन्छ । हात र कलम कागजमा सिमित नहुने हिसाब हल गर्न होस् , बोलेर सुनाउन नसकिने स्थानमा आफ्नो अनुहारसँगै सन्देश पुर्याउन होस, वास्तविक लाग्ने इफेक्ट्स वा कला देखाउन होस् या विश्वभरका मानिस र प्रविधिसँग एकै पटक सजिलै जोडिनका लागि सुचना प्रविधिको विकाससँगै अघि आइरहेको प्रविधिहरुसँग हातेमालो गर्न आवश्यक भईसकेको छ ।  संसारमा यस्ता अझ धेरै प्रविधिहरुको विकास भएको छन् । दैनिक जिवनलाई सरल बनाउन उत्कृष्ठ मानिने ति प्रविधिहरुबारे थाहा पाउनका लागि विराटनगरमा हुन लागेको ईन्फोटेकले पुर्वाञ्चलवासीलाई सहयोग पुर्याउनु पर्छ यसका लागि आयोजकले सकेसम्म धेरै प्रविधि र प्रविधिकर्तालाई समेट्न सक्नु पर्छ ।
गत महिना विराटनगर छेउको गाविस भातिगछमा भएको कम्प्युटर तालिममा सहभागी धेरैले अहिले कम्प्युटरको प्रयोग गर्ने सिप पाइसकेको छ । उनीहरुजस्तो कम्प्युटरको आधारभुत सिप भएकाहरुलाई ईन्फोटेकमा कसरी प्रयोग गर्ने वा उनीहरुले ईन्फोटेकलाई कसरी प्रयोग गर्ने यो कुरामा आयोजकले केहि सोच्नै पर्छ । ईन्फोटेकमा सुचना प्रविधिका सामाग्रीहरुको उल्लेख्य व्यापार हुने कुरोमा शंका छैन । मानिसहरु ईन्फोटेक हुन एक महिना बाँकि छँदै प्रविधिका सामाग्री खरिद गर्न रोकिएको देखिन थालेको छ । ईन्फोटेक कुरेर त्यहि सामाग्री किन्ने योजना बन्न थालिसकेको अवस्थामा व्यापारिक महत्व बोकेको ईन्फोटेकले आर्थिकसँगै समाजमा सुचना प्रविधिको महत्व र विकासमा खेल्न सक्ने भूमिका र सर्वसाधारणले धान्न सक्ने प्रकारका प्रविधिहरुपनि समावेश गर्न आवश्यक छ ।
आयोजकहरुले मेलामा यहिबाट ताप्लेजुङ्गको ढुंगेसाँघुमा भएको विद्यालयमा पढाउन सक्ने प्रविधि प्रदर्शनी गर्ने, प्रविधिको क्षेत्रको रोजगार मेला आयोजना गरिने, स्थानीयस्तरमा निर्माण भएका वा संचालन भएका प्रविधिहरुको प्रदर्शनी गरिने, सुचना प्रविधिका नयाँ सामाग्रीहरु समावेश गर्ने बताए अनुरुपकै कार्य भए यसले पूर्वाञ्चलमा एउटा प्रविधि इतिहास निर्माण गर्ने पक्का छ ।
पूर्वाञ्चललाई नै कार्यथलो बनाई कार्य गरिरहेका कम्प्युटर भेन्डर, प्राविधिक, पत्रकार तथा विद्यार्थी युवाहरुले क्यान मोरङसँगको सहकार्यमा आयोजना गर्न लागेको प्रविधि मेला अहिले पूर्वाञ्चलवासीले गर्व गर्ने विषय बनिरहेको छ । यसलाई सफल र उत्कृष्ठ बनाउन हामी सबैले आफ्नो स्थानबाट प्रयास गर्नै पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्