जाडो मौसमको आवागमनसँगै सिरक व्यवसाय फस्टाउदै

जाडो मौसमको आवागमनसँगै सिरक व्यवसाय फस्टाउदै

जाडो बढ्दै गएपछि मोरङको विराटनगर र आसपासका वजारहरुमा सिरक डस्ना बनाउने व्यवसाय निक्कै फस्टाएको छ ।
खासगरी कात्तिक, मंसिर, पुष र माघमा यो व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ । विराटनगरको गुदरी बजारमा सिरक डस्ना बनाउने व्यवसाय सञ्चालन गरीरहेका धुनिया मोहमद आविदले सिजनको बेला मासिक १० देखि १५ हजार रुपैयाँ कमाई गर्ने गरेको बताए । ‘अतिबेला अर्डरको माल टाइममा दिन सकिएको छैन’– आविदले भने । उनी एउटा सिरक बनाएको दुई सय, डस्ना बनाएको दुई सय पचास र सिरानीको २५ देखि ३० रुपैयाँ लिन्छन् । विगत २० वर्षदेखि धुनियाको काम गर्दै आएका आविदले विराटनगरका व्यापारी र अन्यले गरेको अर्डर अनुसार सिरक र डसना तयार बनाउने अन्य आठजनालाई रोजगारी समेत दिएका छन् ।
त्यस्तै विराटनगर हाटखोलामा डसना बनाउदै गरेका महम्मद जुमाई मन्सुरले किलोको २५ रुपैयाँका दरले ठेक्का लिएर डसना तयार पार्न लागेको बताए । सामान्यतयाः दुई सय रुपैयामा सिरक र २५ देखि ३० रुपैयामा सिरानी तयार पारेर व्यापारीलाई दिने गरेको उनको भनाई छ । मन्सुरले यही पेसाबाट १० जनाको परिवार पाल्दै आएका छन् । विराटनगरमा धुनिया पेसामा रोजगार पाएका कामदारहरुले दैनिक १ सय ५० देखि तीन सय रुपैयाँसम्म ज्याला पाउने गरेका छन् । एक जनाले एक दिनमा तीनदेखि चारवटा सिरक बनाउन सकिने धुनियाहरु बताउँछन् । विराटनगर क्षेत्रमा सिरक डसना बनाउने काममा संलग्न करिव ७० जना धुनिया छन् ।
भारतको फारविसगंजमा पान कुखुराको मासु बेच्ने काम छोडेर कमाउनका लागि भनेरै दुई महिनाअघि विराटनगर आएका महम्मद साविरले दैनिक तीन सय रुपैया कमाउने गरेको बताए । ‘तीन महिना काम गरेपछि घर फर्कंदा २५ हजार रुपैया लिएर जान्छु’– उनले भने ।
विराटनगर क्षेत्रमा मात्र होइन, पूर्वी मोरङको विराटचोक, बेलबारी, पथरी, उर्लावारी र रंगलीमा पनि धुनियाहरुले सिरक डसना बनाएर मनग्ये आम्दानी गरी रहेका छन् । मोरङको पथरीमा सिरक डसना पसल व्यवसाय संचालन गर्दै आएका अशोक मण्डल आफैं सिरक डसना बनाउँछन् । चार जनालाई रोजगारी समेत दिएका मण्डलले सिरक डसना बनाउने एवं बिक्री गर्ने कामबाट मासिक २० हजार रुपैयासम्म कमाउने गरेको बताए । विराटचोक, बेलबारी, पथरी, रंगेली र उर्लाबारीमा करिव ५० जनाको हाराहारीमा धुनिया छन् ।
मोरङमा सिरक र डसना बनाउने पेसामा भारतीयहरु आएर आफुहरुको रोजगारी खोसेको स्थानीय धुनियाहरुको गुनासो छ । ‘पारीका मान्छेले मेसिन राखेर हाम्रो पेटमा लात मारीरहेका छन्’– धुनिया मोहम्मद अस्लमले भने । भारतको विहारको अररिया जिल्ला र पश्चिम बंगालबाट आएर धुनियाको पेसा अंगाल्नेहरु जिल्लामा करिव ५० जनाको हाराहारीमा रहेका छन् । यी मध्ये ५० जना विराटनगरमा वर्षोंदेखि बस्दै आएका छन् भने बाँकी सिजनका बेला भारतबाट आउने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्