‘पहिलेको तुलनामा कलाकारीता धेरै व्यवसायिककरण भएको छ’ : साजन राई

‘पहिलेको तुलनामा कलाकारीता धेरै व्यवसायिककरण भएको छ’ : साजन राई

एक दशकभन्दा लामो सांगीतिक अनुभव संगालेका गायक साजन राई मोरङमा मात्र नभएर अहिले देशभरीकै संगीतप्रेमीहरुका लोकप्रिय बन्दै गएका छन् । नेपाली नेपाली हामी नेपाली बोलको गीत विभिन्न राष्टियस्तरका एफएम रेडियोहरुले बजाएपछि उनलाई देशभरी नै चिनाएको छ । त्यसका अलावा उनले दर्जनौं कर्णप्रिय गीतहरु गाइसकेका छन् । धनकुटाको मुगा ३ मा जन्मथलो भएपनि उनले मोरङलाई कर्मथलोको रुपमा छानेका छन् । उनको २०६० मा सेक्रिड हर्ट, देशको मायालगायतका गीति एल्बमहरु बजारमा आइसकेका छन् भनें दर्जनौं कलेक्सन एल्बममा आफ्नो स्वर भरेका छन् । हालै मात्र महफिल नामक एल्मब बजारमा ल्याएका छन् । नेपाल तथा भारत गरी डेढ सय भन्दा बढी स्थानका स्टेज प्रोग्राममा आफ्नो कला प्रस्तुत गरी सकेका साजनले दर्जन बढी पुरस्कार तथा सम्मान पाएका छन् । प्रस्तुत छ, उनै कलाकारसंग गरिएको कुराकानीको सम्पादीत अंशः

पूर्वाञ्चलमा गीत संगीतको अवस्था कस्तो छ ?
पहिलाको तुलनामा धेरै व्यवसायिकरण भईसकेको छ । आजभन्दा ६/७ वर्ष अघिमात्र पनि एउटा शौखको लागि गीत गाउने, नृत्य गर्ने चलन थियो । तर अहिले आएर गीतै गाएर, नाचेरै गुजारा चलाउन सकिने अवस्था छ । यो हुनुको कारण चाहीं मान्छेको गीत संगीत प्रति चाख बढेर गएको हो भन्न सकिन्छ । यसलाई आवस्यकता ठान्न थालियो । अहिले स्टेजहरु महंगो हुदैछन् । एउटा कलाकारलाई ल्याउदा कमसेकम २५ हजार भन्दा थोरैमा आउँदैनन् । त्यो भन्दा माथि ७० हजार सम्म पनि पारिश्रमिक माग्छन् । त्यो मानेमा पहिलेको तुलनामा धेरै व्यवसायिककरण भा छ । तर मेहनत गरेर इमान्दारीताका साथ लाग्नु पर्यो । अब चाहीं बाँच्न सकिने अवस्था छ भन्नु पर्यो ।

आजकाल कलाकारका कृतिको पाइरेसी गरेका विषयमा समाचारहरु आइरहन्छन्, किन हुन्छ यो पाइरेसी ?
पाइरेसी हुनुको कारण संगीतप्रति सचेतना बढेको  हो भन्ने लाग्छ । संगीतप्रति चासो राख्न थाले जनताले । किन्न सक्षम नभएपनि जुनसुकै उपाय अपनाएर भए पनि सुन्ने आदत बस्दै गएको देखिन्छ । र अर्को कुरा किन यस्तो भयो भनें बजार व्यवस्थापन कलाकार आफैंले गरेर साध्य हुदैन । अनि बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनी हावी हुँदा यो स्थिति आएको हो । उनीहरुको भनाई के छ भनें, नेपालको बजार सानो छ । यति सानो बजारमा कम मूल्यमा बेच्न सक्दैनो ।

फेरी त्यो भन्दा राम्रो क्वालिटीको विदेशी सिडी, क्यासेट नेपाली भन्दा झण्डै आधा सस्तोमा पाइन्छ नी ?
विदेश भनेको ठूलो बजार छ । जस्तो कलकत्ताको मात्र जनसंख्या ८ करोड बढी छ । नेपालको त ३ करोड मात्र छ । एउटा क्यासेट मुम्बईबाट निस्कीयो भने अर्बौं व्यक्तिमा पुग्छ । नेपाल, साउदी अरब, दुवई, मलेसियालगायत विश्वभरी नै पुग्छ । उनीहरुको विक्री नभएको पनि करोड हुन्छ । दुई रुपैया नाफा राखेपनि २ करोड हुने भो । यहाँ त १० रुपैयाँ नाफा राखेपनि १ लाख विक्री हुँदा पनि २ करोड भएन । त्यसैले भारतको रेटमा क्यासेट बेच्न सकिदैन भन्ने यहाँका म्युजिक कम्पनीहरुको भनाई छ । यस्तै विभिन्न कुराले गर्दा नेपाली दर्शक श्रोता महंगाईमा परेका हुन् । तर पाइरेसी रोक्न नसक्नुमा चाहीं पहिलो कुरा हामी कलाकार संगठीत नभएर पनि हो । जसले जे गरे पनि कसले कारवाही गर्ने, राज्य झन मौन छ ।

राज्यको तर्फबाट कलाकारहरुलाई कस्तो सहयोग भइरहेको छ ?  
राज्यले त पहिलो पनि नगरेकै हो । अहिले पनि केही गरेको छैन । राज्य संचालक नेताहरुले जब चाहीं आन्दोलन गर्नु पर्ने हुन्छ, जब चुनाव आउँछ अनि जेवी टुहुरे, रामेश, रायन, मञ्जुलहरु खोज्न थाल्छन् । चाहीयो उनीहरु गहाँ गए उनीहरु नै हुन भन्छन् । जब आन्दोलन सफल हुन्छ, चुनाव सकिन्छ र अवसर लिने बेला हुन्छ अनि जेवी टुहुरे भनेको कोहो चिन्न छोड्छन् । तर पनि केही चित्त बुझाउने थोरै कामहरु भएका छन् । विभिन्न क्षेत्रलाई संरक्षण र संबद्र्धन गर्ने भनेर प्राज्ञ सभाहरु गठन भएका छन । यो बाहेक केही नै भएका छैनन् ।

तपाई आफुलाई कुन विधाबाट चिनाउनु हुन्छ ?
पहिलो चाहीं म आफुलाई गायक भनेर चिनाउन चाहन्छु । त्यसपश्चात् म संगीतकार पनि हुँ जस्तो लाग्छ ।

बढी कस्तो खालको गीत गाउन रुचाउनु हुन्छ ?
म सबै खालकै गाउँछु । म आफुलाई भर्सस्टायल भनेर चिनाउन चाहन्छु । टे«न अनुसार आफुलाई ढाल्न सकिएन भने टिक्न मुश्किल हुन्छ ।

युवा पुस्ता पश्चिमा शैलीको संगीतमा रमाउन चाहन्छन्, यो क्रम बढेर गए नेपाली संगीतको आफ्नो पन गुमेरर जाने खतरा कत्तिको देख्नुहुन्छ ?
गुमेरै जाने चाहीं होइन तर पनि नेपाली कला संस्कृतिमा विकृति भित्रिन्छ की भन्ने चाहीं हो । अहिले नबुझेर यत्तिकै दौडिरहेका छन्, कुनै बेला सचेत होलान् नया पुस्ताका संगीतकर्मीहरु । फेरी नेपाल बाहिरको सुन्दै नसुन्ने भन्ने चाहीं होइन । सुनेर त्यसबाट आफुले सिक्नुपर्छ आफ्नोपनलाई नबिर्सिकन । हाम्रो आफ्नो माटो धरातलमा उचिएर विदेशी संगीतसंग प्रतिष्पर्धा गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो ।

गीत संगीतको क्षेत्रमा लाग्न तपाईलाई के ले प्रभाव पार्यो ?
मेरो हजुरबुबा गाउँको नामी जुहारी गायक हुनुहुन्थ्यो पहिले । हजुरबुबाले पनि मलाई प्रभावित पार्नुभएको हो भन्ने लाग्छ । मैले ७ वर्षको उमेरदेखि नै बाँसुरी बजाएको हो । मादल, बाँसुरी मलाई उहाँले नै ल्याइदिनु हुन्थ्यो । उहाँले मलाई गाउन पनि सिकाउनु हुन्थ्यो, त्यसरी नै यतातिर आकर्षित भएँ जस्तो लाग्छ ।

बजारमा भर्खरै ल्याउनुभएको गीति एल्बम महफिल का बारेमा बताइदिनोस् न ?
मलाई के लाग्छ भनें गीत गाएर मनोरञ्जन मात्र दिने हैन । गीत गाएर देश र जनताका लागि केही नयाँ सन्देश पनि दिन सकुँ भन्ने मेरो धारणा छ । त्यसैले हरेक मेरा एल्बममा एउटा न एउटा देशभक्तिको गीत राखेकै हुन्छु । यो महफिलमा मनोरञ्जनात्मक गजल, आधुनिक र देशभक्तिपूण राष्ट्रिय गीत समेटीएको छ । ‘देश कहिले अन्तुमा काटिन्छ, देश कहिले सुस्तामा काटिन्छ । हे वीर नेपाली यसरी कतिन्जेल धैर्यसाथ बाँचिन्छ’ भन्ने जेवी थुलुङ शब्द र संगीतमा सजिएका गीतहरु छन् । यो अहिलेसम्म आएको राष्ट्रिय गीत भनिएका गीतहरु मध्ये एकदमै भिन्न किसिमको छ । यो गीत हरेक नेपालीले सुन्नै पर्ने गीत हो । जति पनि नेपाली श्रोताहरुलाई के भन्न चाहन्छु भनें तपाईहरुले किनेको क्यासेटको पैसा हामी कलाकारसम्म आइपुग्ने भएकोले सकेसम्म किनेर सुन्दिनु होला । किनभने हामी कलाकारलाई त्यो नै तपाईहरुले गरेको माया हो भन्ने लाग्छ । मूल्यको कुरा जुन छ, यसलाई कम गराउने तर्फ पनि हामी पहल गरीरहेका छौं ।


भविष्यको योजना के छ ?

यो एल्बम पछाडि मैले एउटा सोलो एल्बमको तयारी गर्दैछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्