बालबालिकाको मोदी लाई प्रश्न

बालबालिकाको मोदी लाई प्रश्न

- भारतमा शिक्षक दिवसको अवसरमा शुक्रबार दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीले बालबालिकाको रोचक र घोचक प्रश्नको सामना गर्नुपरेको छ । दैनिकजसो राजनीति, खेल, अपराध र भ्रष्टाचारको खबरले ढाकिने त्यहाँका विद्युतीय सञ्चारमाध्यममा अबोध बालबालिका र उनीहरूले राखेको प्रश्न

हाबी रह्यो । प्रश्नोत्तर कार्यक्रमअघि छात्रछात्राले भाषण र विभिन्न प्रस्तुति दिएका थिए । २ हजार ५ सय केन्द्रीय विद्यालय र १ करोड २० लाख बालबालिका भिडियो कन्प|mेन्सिङमार्फत प्रधानमन्त्री मोदीसँग जोडिए ।

उनले दिल्लीको एक सभागृहमा बसेर बालबालिकाद्वारा सोधिएको जिज्ञासाले भरिपूर्ण सवालहरूको जवाफ दिए । हरेक महापुरुषको जीवनमा आमा र गुरुको महत्त्वपूर्ण योगदान रहेको मोदीले औंल्याए । पढ्ने बानीमा जोड दिँदै उनले बच्चाबच्चीलाई महापुरुषको जीवनी अध्ययन गर्न र त्यसबाट केही सिक्न सुझाव दिए ।

उनले जीवनमा सफलताका लागि गतिलो सोचको आवश्यकतामा जोड दिए । 'जो वर्षभरिका लागि मात्र सोच्छन्, उसले अन्न उत्पादन गर्छ, दस वर्षको बारेमा सोच्नेले बोट रोप्छ,' उनले भने, 'जसले पुस्ताको बारेमा सोच्छ, उसले मान्छे निर्माणको बारेमा सोच्छ ।' उनले सफल र चर्चित मान्छेभन्दा असल बन्न कोसिस गर्नुपर्ने सुझाव दिए । 'राम्रो कार्य गर्नुस्, सफल भए ठिक छ, नभए दुःखेसो पनि गर्नुहुन्न ।' उनले सरसफाइबाट पनि मुलुक सेवा हुने गरेको र यसबाट पनि मुलुकको छवि बन्ने बताए ।

'शिक्षक र विद्यार्थी मिलेर विद्यालय सफा गर्नुपर्छ, सातामा एक दिन मात्र स्कुललाई समय दिएमा राष्ट्रिय चरित्रको निर्माण हुन सक्छ,' उनले भने । बिजुली बचत, असल विद्यार्थी बन्नु र सफाइजस्ता स-सानो कुरामा ध्यान दिनु पनि एक खाले मुलुक सेवा भएको उनले बताए । 'बिजुली उत्पादन गर्नु महँगो भए पनि बचाउने उपाय सस्तो छ, झ्याल खोलेर र पूणिर्माको रातको आनन्द लिएर पनि बिजुली बचत गर्न सकिन्छ,' उनले भने । जापानी विद्यार्थी संस्कृति र संस्कारमा सबभन्दा अगाडि रहेको उदाहरण दिए । आफूले त्यहाँको एक विद्यालय भ्रमण गरेको र शिक्षकले पढाउनेभन्दा सिकाउनमा बढी जोड दिएको पाएको बताए । उनले जापानी शिक्षा प्रणाली सफल हुने कारणबारे जानकारी दिए ।

उनी हालै मात्र पाँचदिने जापान भ्रमणबाट फर्केका हुन् । 'त्यहाँ अभिभावक आफ्ना नानीबाबुको मात्र नभएर सबैको ध्यान राख्छन्, विद्यालय जाने बेलामा हरेक २५ पाइलामा एक अभिभावक बस्छन्, एउटा अभिभावकले त्यहाँसम्म आफ्नो बच्चा छोडेपछि अर्को अभिभावकले फेरि २५ पाइलामा रहेको अर्कोलाई नानीबाबु सुम्पिन्छन्,' उनले भने, 'यसरी सबैको बालबालिकालाई विद्यालयसम्म पुर्‍याउनु सबै अभिभावकको अभिभारा हुन्छ ।' त्यहाँ आफ्नो मात्र नभएर सबैको बालबालिकाको बारेमा अभिभावकले समान रूपले सोच्नुपर्ने उनले बताए ।

मोदीले राजनीतिलाई पेसा नभएर सेवाको रूपमा लिनुपर्ने बताए । राजनीतिमा रहेकाले आफ्नो परिवारजस्तै जनताको सेवा गर्नुपर्ने बताए । 'केही मूर्ख राजनीतिज्ञले यसलाई पेसा मानेर ठूलो भूल गर्छन्,' उनले भने । स-सानो कामबाट देश सेवा हुने उनले बताए । देश सेवाका लागि ठूलो काम गर्ने जरुरी नरहेको उनले बताए । 'मुनिबाट सुरु गर्नुस्, बिजुली बचाउनुस् र वातावरण जोगाउनुस्,' उनले भने । मुलुकको विकास कसरी गर्न सक्नुहुन्छ भनी सोधिएको प्रश्नमा उनले भने, 'आधुनिक प्रविधिलाई विविध भाषी बालबालिकासम्म पुर्‍याउन म डिजिटल भारतमा ध्यान केन्दि्रत गरिरहेको छु ।'

विद्यालयमा शौचालय अभाव बालिकाले विद्यालय छाड्ने मुख्य कारण रहेको उनको बुझाइ रहेछ । विद्यार्थीसँग शिक्षकले गर्ने भेदभावको उनले विरोध गरे । एक शिक्षकले प्रतिभाशाली, कमजोर र औसत विद्यार्थीसँग समान व्यवहार गर्नुपर्ने उनले सुझाव दिए । 'विद्यार्थीको लुकेको प्रतिभा खोज्नु र त्यसलाई उक्सानु शिक्षकको कर्तव्य हो' सोधिएको प्रश्नमा उनले भने, 'जान्नेलाई मात्र पढाउने हो भने शिक्षक किन चाहियो ?'

वास्तविक जीवनमा 'उनी कस्तो व्यक्ति हुन्, मास्टर वा साथी ?' 'म मात्र काम गर्छु, अरू केही सोच्दिनँ,' उनले भने । थुप्रैपटक मुख्यमन्त्री पदको जिम्मेवारी र प्रधानमन्त्री पदको अभिभारामा सम्हाल्दाको फरक अनुभवबारे पनि बोले । 'जिम्मेवारी बढेको छ, अबेरसम्म काम

गर्नुपर्छ, निकै विवेक पुर्‍याएर काम गर्नुपर्छ,' मोदीले भने, 'पहिला जस्तो सानोतिनो गल्ती गर्न सकिन्न, घाँटी समाइहाल्छन् ।' उनले उक्त अवसरमा 'क्लिन एड्युकेसन, क्लिन स्कुल्स' पुस्तकको पनि विमोचन गरे । आफ्नो जीवनमा शिक्षा र असल शिक्षकको महत्त्व बराबर

रहेको उनले अनुभव पोखे ।

उनले पुस्तको र इन्टरनेटको जानकारीबाहेक बालबालिकाको जीवनमा शारीरिक अभ्यासमा पनि जोड दिए । 'बालबालिकाले दिनमा चार पटक पसिना निकाल्नुपर्छ, खेलकुद र मोजमस्ती उनीहरूको अधिकार हो,' मोदीले भने । बाल्यकालको खुलेर आनन्द लिन दिनुपर्ने र बालपन खोस्न नहुने बताए । प्राकृतिक रूपले बिताएको बालापनमा भविष्यको जग खडा हुने मोदीले भने । उनले आफूभित्रको बालकपनलाई जीवित राख्ने सल्लाह दिए । बालक हुँदा आफूले गरेको बदमासीको पोल खोल्दै त्यस्तो नगर्न छात्रछात्रालाई प्रतिबद्ध गराए । उनले परिवर्तनशील युगमा भविष्यका कर्णधारलाई प्रविधिबाट वञ्चित राख्नु ठूलो सामाजिक अपराध ठहरिने बताए ।

पूरा विश्वलाई असल शिक्षक निर्माणको सपना देखाउने भारतले शिक्षाको निर्यात गर्न पनि सक्षम रहेको बताए । मोदीले बालिका शिक्षाबारेमा खुलेर बोले । 'बालिका शिक्षालाई प्राथमिकतामा राख्नैपर्छ, किनकि एक बालिकाले पाएको शिक्षाले दुई परिवारलाई लाभ पुग्छ,' उनले भने । उनले गुजरातमा मन्त्री पदको शपथ लिएको मौकाभन्दा गाउँगाउँमा पुगेर हात समाएर बालिकालाई विद्यालय पुर्‍याएको कार्यबाट बढी सन्तुष्टि

पाएको बताए ।

जीवनमा सफल हुनलाई तुलनात्मक रूपमा अनुभव र शिक्षामध्ये कसको बढी भूमिका हुनेबारे उनलाई एक छात्राले प्रश्न गरेकी थिइन् । 'भनिन्छ, व्यक्तिको अनुभव नै उसको सबभन्दा ठूलो शिक्षा हो तर अनुभवको बलियो आधारशिला पनि राम्रो शिक्षा र संस्कारमा निर्भर गर्छ ।' उनले विभिन्न उदाहरण दिएर छात्रछात्रालाई ज्ञान र सूचनाको भेद बताएका थिए ।

'अहिले हरेक काम 'गुगल गुरु' ले गर्न थालेको छ, गुगलले हामीलाई सूचना वा जानकारी दिन सक्छ, तर ज्ञान दिन सक्दैन,' मोदीले भने । जीवनमा बाँच्नलाई विश्वविद्यालयको डिग्रीसँगै सीप जान्नु आवश्यक रहेको बखाने । 'सीप विकासको अवसर सबैले पाउनुपर्छ, नत्र कागजी प्रमाणपत्रले सक्षम बनिन्न,' उनले भने । एक खाले अन्तरक्रियाले भरिपूर्ण उक्त प्रश्नोत्तर कार्यक्रममा उनी ठट्यौली गर्न पनि छाडेनन् ।

मणिपुरका एक छात्रले आफू प्रधानमन्त्री बन्न चाहेको र त्यो बन्ने उपायबारे सोध्दा मोदीले भने, 'सन् २०२४ को निर्वाचनको तयारी गर्नुस्, त्योभन्दा अगाडिसम्म मेरो सिट सुरक्षित छ, तपाइर्ंले प्रधानमन्त्रीको शपथ लिँदा मलाई निम्तो दिनचाँहि नबिर्सनुहोला ।' उनले लोकतान्त्रिक मुलुकमा हरेक वर्ग, जाति र तहकालाई मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने अधिकार रहेको बताए । उनले यस्तो पदमाथि कुनै परिवार विशेष, उद्योगी, धनाढ्य, राजनीतिक घरानियाँ र मन्त्रीका नातागोताको मात्र ठेक्कापट्टा नभएको आशय व्यक्त गरे ।

निकै छोटो, मिठो र रुचिकर ढंगले उक्त कार्यक्रमको सुरुआत र समापन भएको थियो । सधंैभरि एकैखाले अनुहार र उस्तैखाले समाचार हेरेर जनता दिक्क भइसकेका हुनाले भविष्यका कर्णधारको जिज्ञासालाई प्राथमिकतामा राखेर केही दिनदेखि मुलुकभरका बालबालिकाको प्रतिक्रिया प्रसारण गरिरहेकोमा टीभी सञ्चालकहरूप्रति उनले आभार व्यक्त गरे ।

मानव संसाधन मन्त्रालयले शिक्षक दिवसमा प्रधानमन्त्री मोदीले बालबालिकालाई सम्बोधन गर्न परिपत्र गर्दा विपक्षी दलले उनीमाथि भावी मतदातालाई प्रभाव पार्न खोजेको भन्दै विरोध गरेका थिए । तर, जुनसुकै दल र समूह नजिक भए पनि देशभरका विद्यालय व्यवस्थापनले प्रधानमन्त्रीसँग साक्षात्कार गर्ने बालबालिकाका लागि राम्रो अवसर भएको भन्दै यस्को स्वागत गरेका थिए । प्रधानमन्त्री मोदीले कार्यक्रमको अन्तमा बालबालिका र शिक्षकसँग प्रत्यक्ष भेटघाट गरे । उनले छात्रछात्रालाई कुन प्रश्न सबभन्दा बढी मन परेको र आफ्नो कुन कुरा राम्रो लागेको पनि जान्न खोजेका थिए । उनले केही प्रश्नले मन्त्रमुग्ध पारेको र स-साना नेता-नेतृसँग गफ गर्दा ब्याट्रीझैं रिचार्ज भएको बताए । आफूजस्तै शैलीमा गफ गरिरहेका मोदीलाई आफ्नो माझमा पाएर छात्रछात्रा र गुरुगुरुआमा पनि दंग थिए । त्यहाँबाट नगईन्जेलसम्म उनी बालबालिकासँग गफ गरिरहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्