विरुप विराटनगर – विजय खतिवडा

विरुप विराटनगर  – विजय खतिवडा

bijay khatiwada

विराटनगरबाट एकै परिवारका तीन प्रधानमन्त्री मात्र भएनन् कि उपप्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री, परराष्ट्रमन्त्रीलगायतका राष्ट्रको महत्वपूर्ण पदमा आशिन हुने धेरै छन् । प्रत्येक मन्त्रिमण्डलमा एक न एक जना मन्त्री विराटनगरको परेका हुन्छन् नै । तर यति हुँदा पनि विराटनगरले उनीहरुबाट के पायो ? र अहिलेका बहालवाला मन्त्रीले के दिइरहेका छन् ? एवं आगामी दिनका मन्त्री हुनेहरुले के गर्लान् ? के देलान् ? 

‘पाडो पाए पनि पाडी पाए पनि भतुवालाई विगौति’ भनेझैं विराटनगरबाट मन्त्री हुनेहरु जो भएपनि यहाँका वासिन्दाले गौरव मान्ने गरेका छन् । तर जो मन्त्री भएपनि उसले आफ्ना नातेदार, भाइभारदार र पछौटेलाई हेर्ने बाहेक कुन चाहि महत्वपूर्ण काम गरेका छन् । सबैले विराटनगरलाई दोहन गरेर फाइदा लिने बाहेक कुनै पनि उल्लेख गर्नलायक काम गरेर देखाएका छैनन् । 

दशैंको आगमन सँगसँगै विराटनगरबाट बाहिर गएका स्थानीय वासिन्दाहरु घर फर्कन सुरु गरेका छन् । सरकारी कर्मचारीदेखि लिएर वैदेशिक रोजगारीमा गएकाहरु विशेष गरेर बढी नै दशैंको अवसर पारेर घर फर्कने गरेको पाइन्छ । विराटनगर फर्कनेहरुले स्थानीय स्तरमा मनोरञ्जन गर्ने स्थलदेखि लिएर समय बिताउने ठाउँसमेत खोज्दछन् । साथै आफू बाहिर गएको समय अवधिमा यहाँ भएका गतिविधि बुझ्ने चाहना हुन्छ । तर विराटनगरवासीले के देखाउनु ? 

बिग्रेडियर भुपालमानसिंह कार्कीको पहलमा विराटनगरमा वीरेन्द्र सभागृहको निर्माणले यहाँ कार्यक्रम गर्न सजिलो भएको छ । त्यसको तुलनामा विराटनगरमा अर्को सभागृह बन्न सकेको छ्रैन । विराटनगरका प्रधानपञ्च रामकृष्ण भट्टराई तथा उपप्रधानपञ्च उद्धव पौडेल भएको समयमा विराटनगरले भव्य नगरपालिका भवन बनायो एवं नगरमा व्यवस्थित रुपले सडक तथा खानेपानीको व्यवस्था गरेको बताइन्छ । 

विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलले वर्षेनी विभिन्न नाटकहरु महोत्सवका साथ देखाउँदै आएको छ । अहिलेपनि दशैंको अवसर पारेर गुरुकुलले नाटक प्रदर्शन गरिरहेको छ । यसले गर्दा विराटनगरको अलिकति भएपनि इज्जत बढाएको छ । 

वर्तमान मन्त्रिमण्डलमा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, कृषिमन्त्री महेश आचार्य, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित विराटनगरकै हुन् । उनीहरु पहिलो पटक मन्त्री भएका भने होइनन् । योभन्दा अगाडि पनि महेश आचार्यले पटक पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् भने रिजालले पनि मन्त्री खाएका थिए ।

विराटनगरका मातृकाप्रसाद कोइराला, विशेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला एकै बाउका तीन भाइ छोरा भएर नाम लेखाइसकेका छन् । यस बाहेक विराटनगरका मनमोहन अधिकारी पनि पहिलो कम्युनिष्ट सरकारको प्रधानमन्त्रीको रुपमा नौ महिना काम गरे । यसैगरी विराटनगरसँग नाम जोडिएर नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा पनि प्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री बाहेक उपप्रधानमन्त्रीमा शैलजा आचार्य, भरतमोहन अधिकारी, उपेन्द्र यादव, बद्री मण्डल, विजयकुमार गच्छदार भएका छन् । उनीहरु बाहेक आमोदप्रसाद उपाध्याय, राधाप्रसाद घिमिरे, डा. श्यामलाल तबदारलगायत पनि धेरै जना विराटनगरबाट मन्त्री भएका छन् । तर उनीहरुले विराटनगरको नाम बेचेर आफ्नो हात माथि पार्ने काम बाहेक के काम गरे ? उत्तर छैन ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पूर्वाञ्चल विश्वविद्यालय स्थापना भयो । यसमा उनको महत्वपूर्ण योगदान छ । विशेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएको पन्ध्र महिना पुग्नासाथ उनलाई पदबाट सत्ताच्युत गरियो । तर पनि नेपालको राजनीति उनको नाम अमर छ । उनले विराटनगरलाई केही दिएको नदेखिएपनि राष्ट्रलाई प्रजातान्त्रिक विचार दिएर गएका छन् । 

भरतमोहन अधिकारीले चारपटक अर्थमन्त्रीको जिम्मेवारी मात्र बहन गरेनन् कि उपप्रधानमन्त्री तथा कार्यवाहक प्रधानमन्त्रीसम्म भए । तर उनले विराटनगरको लागि के गरे ? अहिले पनि उनलाई एमालेभित्र विरोध हुँदा हुँदै पनि समानुपातिकबाट सभासद मनोनित गरिएको छ । उनको कार्यको मूल्याङ्कन गर्दै एमालेले किस्तिमा हालेर सभासद दिएको छ । विराटनगरको विकास र पहिचानको लागि उनले कुन काम गरेर नगरवासीलाई गुण लगाएका छन् ? यस्तै मन्त्री डा. मिनेन्द्र रिजाल, उपेन्द्र यादव, शैलजा आचार्य, बद्री मण्डललाई कसरी सम्झने ? उनीहरुले पनि नगरवासीलाई के गुण लगाएका छन् जुन अरु सामान्य मन्त्रीले गर्न सक्छन् । यसैगरी मोरङबाट सभासद भएकाहरुले पनि कुन ठोस काम गरेर देखाएका छन् । केवल दोहन मात्र ।

विराटनगर औद्योगिक नगर, २००७ सालको जनक्रान्तिको विगुल फुकेको सहर, जनताको तर्फबाट पहिलो प्रधानमन्त्री भएको सहर, रेडियो नेपालको पहिलो प्रशारण भएको सहर भनेर पुरानो कुरामा गर्व गरेर कति बस्ने ? कम्तिमा वर्तमान समयको लागि, युवा पुस्ताको लागि मन्त्रीहरुले विराटनगरलाई के दिए । हातलागि शून्य । त्यसैले अबका दिनमा विराटनगरको प्रतिनिधित्व गरेर सभासद तथा मन्त्री भएकालाई सोधौं तिमीहरुले आगामी सय वर्षसम्म सम्झिने गरी विराटनगरको लागि के गर्‍यौ । उनीहरुलाई फुक्र्याएको कारण अहिले विराटनगरको रुपरङ्ग हराएर विरुप भएको जस्तो भान हुन थालेको छ । विराटनगरलाई आकर्षण बनाउन हामी सबैले केही गर्ने पर्ने भएको छ । नेता तथा मन्त्रीको आशले केही हुनेवाला छैन भन्ने सबैलाई चेतना भया । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्