महानवमी र विजयादशमी एकै दिन कसरी हुन्छ? -प्रमोदवर्धन कौण्डिन्न्यायन

महानवमी र विजयादशमी एकै दिन कसरी हुन्छ?  -प्रमोदवर्धन कौण्डिन्न्यायन

यस पटक दसैँका दिनहरूका विषयमा विभिन्न मत–मतान्तरहरु प्रकाशित भएका छन् । पञ्चाङ्गनिर्णायक समितिद्वारा स्वीकृत पात्रोअनुसार एकै दिन नवमी र दशमी मनाउने कार्य नमिल्दो भएकाले सबैतिरबाट यसको विरोध भैरहेको छ ।

स्वाद्ध्यायशालाबाट विगत चार वर्षदेखि प्रकाशित हुँदै आएको लगधमुनिको वेदाङ्गज्योतिषमा आधारित “वैदिकतिथिपत्रम्”  वैदिक पात्रोको यस वर्षको अङ्कमा ८ गते घटस्थापनाका र टुटबढ नगरी लगातार १४ गते फूलपाती, १५ गते अष्टमी, १६ गते नवमी तथा १७ गते विजयादशमी मान्ने निर्णय प्रकाशित छ । दोलखा जिल्लाका नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत पात्रोको १५ गते फूलपाती, १६ गते अष्टमी र १७ गते एकै दिन नवमी र विजयादशमी दुवै मान्ने कुरालाई संशोधन गरी १४ गते फुलपाती, १५ गते अष्टमी, १६ गते नवमी र १७ गते विजयादशमी मान्ने निर्णय गरेको कुरा पनि हालै प्रकाशमा आएको छ। कसैले भने विजयादशमी नै १८ गते मनाएर भएपनि एक दिनमा एक दिनको कर्मको मात्र अनुष्ठान गर्नु पर्ने मत राखेका छन्।

वैदिक परम्पराका अनुयायीहरूले नवरात्रको अनुष्ठान मार्कण्डेयपुराणका र देवीभागवतका आधारमा गर्ने गर्नु उचित देखिन्छ। देवीभागवतमा “शृणु राजन् प्रवक्ष्यामि नवरात्रव्रतं शुभम्” ३।२६।३ इत्यादि वचनले नवरात्रको विधान गरिएको छ । यस प्रकरणका अन्त्यमा रामले नवरात्रव्रत समाप्त गरेर दशमीका दिनमा विजयाको पूजा गरी रावणको वध गर्न प्रस्थान गरेको कुरा “समाप्य तद् व्रतं चक्रे प्रयाणं दशमीदिने” इत्यादि वचनमा ३।३०।६० छ । त्यहाँ कुनै तिथि टुट्ने बढ्ने उल्लेख भेटिँदैन । त्यहाँ नवरात्रव्रत भनिएको छ, नौ तिथिको व्रत भनिएको छैन। त्यसैले वास्तवमा यस वर्ष २०७१ असोज ८ देखि १६ गते सम्मका नौ दिनको नवरात्र र १७ गते विजयादशमी मान्नुपर्ने देखिन्छ। त्यस क्रममा १४ गते फुलपाति, १५ गते अष्टमी, १६ गते नवमी र १७ गते विजया दशमी मान्नु युक्तिसङ्गत हुन्छ । नवरात्रव्रतका अन्त्यमा विजयाको पूजा गरिने दशमीका दिनलाई विजयादशमी भनिएको हो।

हिन्दु वैदिक धार्मिक परम्परामा अघिल्लो दिनको सूर्योदयदेखि पछिल्लो दिनको सूर्योदयसम्म एउटै तिथि मानिन्छ । अतः एक दिनमा एउटै तिथि हुन्छ । वेदमा तिथिलाई तिथि नभनी अहोरात्र भनिएको छ र अहोरात्रबाटै अर्धमास अथवा पक्ष र पक्षबाट महिनाहरू बन्ने मानिएको छ शुक्लयजुर्वेद २२।२८ । यही कुरा वेदाङ्गज्योतिषमा पनि छ । चान्द्र महिनामा ३० दिनरात मानिएपनि चन्द्रमाको गतिअनुसार चान्द्र महिनामा सालाखाला २९ दिन १२ घण्टा र ४४ मिनेट हुने हँुदा दुइ चान्द्र महिनामा ५९ दिन १ घण्टा ३२ मिनेट भई पुगनपुग १ दिन घट्छ । त्यसैले सामान्यतया दुइ महिनामा १ दिन वा १ तिथि टुटाउने पद्धति वैदिक परम्परामा मानिएको छ । त्यसरी एक दिन वा एक तिथि कम गर्दा चतुर्दशी तिथि टुट्ने हुन्छ ।

वैदिक कालगणना सिद्धान्तलाई स्वाद्ध्यायशालाले २०५२ देखि व्याख्या गर्दै आएको हो र २०५३ वैशाख १ गतेदेखि विशेष रूपमा प्रचारित गर्न थालेको हो । यस सिद्धान्तको व्याख्या भएको “वेदाङ्गज्योतिष कौण्डिन्न्यायनव्याख्यान” ग्रन्थ भारतको वाराणसीबाट २०६२ मा प्रकाशित गराई वैदिक वाङ्मयका सम्पूर्ण अध्येता समक्ष प्रस्तुत पनि गरिसकिएको छ । “भारतवर्षीय ज्योतिष के ज्वलन्त प्रश्न और वेदाङ्गज्योतिष” भन्ने ग्रन्थ पनि त्यहीँबाट २०६५ मा प्रकाशित गराइएको छ । विक्रमसंवत् २०६७ देखि वेदाङ्गज्योतिषमा आधारित “वैदिकतिथिपत्रम्”  वैदिक पात्रोको प्रकाशन पनि थालिएको छ । यस वैदिक काल गणना पद्धतिमा सबै धार्मिक समुदायको ध्यान जानु र धार्मिक अनुष्ठानको समयनिर्धारणमा वेदाङ्गज्योतिषको आधार लिनु उचित हुन्छ । नौ दिनको नवरात्र र दशमीको दिन समेत गन्दा दसैँ दस दिनको नै मान्नु पर्छ र त्यसै अनुसार प्रत्येक दिनका कर्महरूको क्रमशः एक एक दिनमा अनुष्ठान गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्