बिद्यार्थी फेल हुनुमा कसको बढी हात छ ?

बिद्यार्थी फेल हुनुमा कसको बढी हात छ ?

 

"ति मोरा पनि पढ्छन र ! हल्ला मात्रै गरिरहन्छन , के को पढ्थे ! हैन ! ति मोरा त तपाईं को ट्युसन केन्द्रमा पो आउँदा रहेछन ! तिनीहरुले के पढ़लान र ! "जब एउटा उच्च माध्यमिक बिद्यालयका प्रिन्सिपल ले यो लेखक संग माथिको भनाई ब्यक्त गरे ,उनको भनाई प्रति असहमति जनाउंदै तिनै मोरा विद्यार्थीको पक्षमा बोल्दै उनीहरुले साँच्ची नै पढ्छन र पढ्न कै लागि उनीहरु विद्यालयको पढाईले मात्रै नपुगेर ट्युसन केन्द्र धाएका हुन् भनेर एउटा चाईनिज कथा सुनाउनु परेकोथियो !
कथा अनुसार एउटी बुढीका घरमा दुई ओटा पानि बोक्ने माटाका गाग्री /घैला रहेछन !एउटा गाग्री नया र अर्को चाहिं पुरानो रहेछ ! एकदिन बुढीले अनौठो कुरो सुनिछ्न !ति दुई गाग्री त गुन-गुन गरेर बोलिरहेका रहेछन ! रात्रिको समयमा ति गाग्री बोलेको सुनेर बुढी छक्क परिछ्न र तिनीहरुले के के बोल्दारहेछन भनेर सुटुक्क सुनिछ्न !पुरानो चाहिं गाग्री भन्दोरहेछ कि मेरो त घांटी पनि फुटेको छ , अलि-अलि चर्किएको पनि छु र बुढीले कुवा बाट पानि ल्याउँदा आधा भन्दा बढी पानि छछल्किएर पोखिन्छ !तिमि त सग्ला र राम्रा छौ ! तिमीले त पानि कहिल्यै छ्छल्किन र पोखिन पनि दिदैनौ ! त्यसैले मलाई त बुढीले कुन दिन फाल्ने हुन् भनेर पिर लागि रहन्छ !तिमीसंग छुट्टिनु पर्ने पिरले पनि होला म त आफैं पनि चर्किन पो थालें ! बुढी छक्क परिछ्न !उनलाई त्यो पुरानो गाग्री प्रति धेरै नै माया लागेर आएछ !
भोलि पल्ट बिहानै कुवामा पानि लिन जानेबेला भयो ! बुढीले त्यो पुरानो माटाको गाग्री को दुवै तर्फ दुई ओटा स-साना प्लास्टिक का गमला बाधिछ्न र कुवा तर्फ लागिछ्न ! कुवा बाट फर्किंदा सधैं जसो गाग्रीको पानि छछल्किएर पोखिन थाल्यो तर भुईंको सट्टा प्लास्टिक का गमलामा पोखियो ! बुढीले दुई तिन दिन बिराएर त्यसै गर्न थालिछन ! करीब एक महिना पछि त ति दुवै प्लास्टिक का गमलामा फूल पो फुलेछन ! जसरि ति दूई गाग्री बोलेथे, त्यसरी नै ति बुढी ले पुरानो गाग्रिसंग बोलिछिन र भनिछन कि आफुलाई बिग्रेको , भत्केको र काम नलाग्ने भनेर कहिल्यै गुनासो नगर्नु ! आज तिम्रै कारणले मैले सजिल्यै यी फूल फुलाउन सकेकी हुँ ! तिमि नभएको भए मलाई पनि यस्तो जुक्ति अऊँदैनाथ्यो होला !यसरि ति बुढीले गमलामा फूल मात्रै फुलाईनन, आफुलाई हिन भावनाले ग्रषित गाग्रिलाई पनि हौसला भरिन !
वास्तवमा हाम्रो समाजमा त्यस्ता धेरै मोरा र मोरीहरु छन जो पढ्न चाहन्छन तर आफुलाई विश्वाश गरेर तिनै चाईनिज बुढीको जस्तै प्रेरणा दिएर पढाई दिने शिक्षक /शिक्षिका हरुको अभावमा पढ्न नसकेर आफ्नो पढाईलाई बीच बाटो मैं छोडेर हिड्न बाध्य भैरहेका छन ! यदि तिनीहरु पढदैनथे भने किन बिद्यालय जान्छन त ? लौ ! बिद्यालय त बाबु-आमाको डर ले वा करले गए अरे तर ट्युसन केन्द्र चाहिं किन जान्छन त ?कुनै पनि ट्युसन केन्द्र किन खचा-खच भिड भैरहेका हुन्छन त ? के बिद्यालय को पढ़ाईले सन्तुष्टि भएको भए उनीहरु ट्युसन केन्द्र धाऊँथे होलान त ?
जहाँसम्म हल्ला गर्छन , रेला गर्छन र पढ्न मन गर्दैनन् भन्ने कुरो छ , उनीहरुको उमेर नै त्यस्तै हो ! उनीहरुको उमेर मा हल्ला नगरे , कुन उमेर मा गर्छन त ? हामि शिक्षक हरु त एकै ठाऊँ भेला भएको बेला मज्जाले हास्छौँ , धक फुकाएर हा हा हा गर्छौं र रमाईलो मान्छौं भने बिद्यार्थी को त उमेर नै उरेंठ्यौलो हुन्छ , अनि किन हल्ला नगरुन ? उनीहरुलाई सहि बाटो देखाउने जिम्मा कसको हो ? हामि शिक्षक को हैन र ? जंगली जनावर लाई त सधाएर , तालिम दिएर जसो-जसो गर भन्यो त्यसै-त्यसै गराउन सकिन्छ भने मानिस को बच्चा लाई असल तालिम (शिक्षा ) दिन नसकिने होर ? कसलाई फुर्सद छ र ? सबै ब्यस्त !श्रिजनशील शिक्षा दिने भनिन्छ तर शिक्षकले नै आफ्नो श्रिजनशिलता खै !कता हो कता गुमाईसकेको हुन्छ ! कहिले पार्टीको नाम मा त कहिले संगठनको नाम मा र कहिले पारिवारिक झमेलामा त कहिले के को नाम मा !
एउटा प्राईभेट बिद्यालयमा नौ कक्षामा पढ्ने तीक्ष्ण विद्यार्थीले गुनासो गर्यो कि अरु सबै कुरा उसलाई आऊँछ तर फलानो कुरो चाहिं जत्ति गर्दा पनि बुझ्न सकेन ! यो लेखकले सोध्यो कि किन अऊँदैना त !जवाफमा उसले भन्यो कि सरले जत्ति सिकाए पनि बुझ्न सकेन ! फेरि प्रश्न गरियो कि जत्ति सिकाए पनि भन्नाले कत्ति ! उसले जवाफ दियो ," धेरै पटक !" एउटा मात्रै तरिकाले कि अन्य तरिकाले पनि भनेर सोद्धा उसले जवाफ दियो एउटा मात्रै तरिका ले ! उसलाई न-आएको कुरो चाहिं गणित बिषय को रहेछ , त्यो पनि एउटा मात्रै च्याप्टर ! शिक्षक को श्रिजनशिलता को आवस्यकता यहीं नेरी पर्छ ! शिक्षकले नै एउटा मात्रै तरिकाले सिकाएर विद्यार्थीले जसरि पनि बुझ्नु पर्छ भन्ने बिचार राख्छ भने न त विद्यार्थीमा न त शिक्षक मा नै श्रिजनशिलता बढ्ने छ ! के हामि शिक्षक माथिको कथामा उल्लेख गरिएकी चाईनिज बुढी जस्तै श्रिजनशील हुन सकिरहेका छौं त ?

यो लेखक पनि शैक्षिक पेशामा नै करीब -करीब ३५ वर्षा देखि निरन्तर रुपले लागिनै रहेको छ ! बिद्यार्थी को दोष नदेखेको हैन तर विद्यार्थीलाई सहि बाटोमा ल्याउने चुनौती भनेकै शिक्षक को हो भन्ने कुरालाई मनन गरेर आफ्नो पेशामा निरन्तर रुपले लागिनै रहेको छ ! कस्ता कस्ता बिद्यार्थी लाई कुन कुन उपायले उत्प्रेरित गर्नुपर्छ भन्ने श्रिजनशिलता हामीमा हुनै पर्छ !बिग्रेको बिद्यार्थी लाई सपार्ने भनेर नै होला हामीलाई गुरु भनिएको ! गु= अन्धकार र रु= उज्यालो छर्ने हामीले हाम्रा बिद्यार्थी फेल होलान भन्ने डर राखेर उनीहरुलाई राम्ररि काउन्सिलिङ्ग(सम्झाई-बुझाई) गरेर पढाउनु पर्छ ! अनि मात्रै बिद्यार्थी सफल हुन्छन ! बिद्यार्थी सफल भए मात्रै हामि शिक्षक पनि सफल हुन्छौं भन्ने कुरालाई हामीले हृदय देखि नै मनन गर्नु पर्छ !
अन्त्यमा , यदि विद्यार्थीले जान्दैन भने शिक्षकले पढ़ाएकै छैन है !
पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्