बिचरी ! बुढी ! माईति घर बसेरै जीवन काटिरहेकी थिईन , मरिछ्न , यो सांसारिक जीवन बाट मुक्ति नै पो पाईछ्न !
उसले त्यसो भन्दा , बहिनि चाहिं ले अलि नराम्रो मानिन र प्रतिक्रिया जनाई हालिन," छ्या ! के भन्या होला हौ ! मर्दा पनि राम्रो हुन्छ र ?"
हो , मर्नु त राम्रो हैन ! मरिसकेपछि त सिद्धि हाल्यो नि ! मान्छे बाँच्न कै लागि कति थोक गर्छन , राम्रा -नराम्रा अनेक थरि कुरा ! उनि मर्दा पनि बिचरी ! बुढी ! नै भन्नु पर्ने हो तर उसको मुख बाट फ्याट्टै त्यस्तै कुरो निक्लियो ! उसलाई पनि बिचरी ! बुढी ! अझै बाँच्नु पर्थ्यो , कत्ति छिटो मरिछ्न भन्न त मन थियो होला नि तर कोहि-कोहि मरेर यो संसार छोडेर जाँदा पनि उसले भने जस्तै "संसार बाट मुक्ति पाईछ्न " भन्नु पर्ने अवस्था आउला !
उनको बिबाह ७ बर्ष कै उमेर मा भएको थियो अरे ! हुने-खाने परिवार मैं बिबाह भएको रहेछ ! त्यतिबेलाको चलन अनुसार बाल-बिबाह नै हुन्थ्यो ! उनको पनि भयो, यो कुनै असामान्य कुरै भएन ! पछी उनका दुलाहा पुलिस मा भर्ति भएछन र जागिर को सिल-सिलामा विभिन्न ठाऊँ को हावापानी संग अनुभव लिने मौका पाएछन ! अहिले जस्तो भए, लोग्ने ले आफ्नी श्रीमती लाई जागिर मा लगी हाल्थे तर त्यति बेला संयुक्त -परिवार मा यो चलन अनौठो मानिन्थ्यो ! दुलाहा -दुलही कहिल्यै पनि राम्ररि संगै बस्नै पाएनछन ! छोरा-छोरी हुदै नभएका त हैनन् तर एक-दुई ओटा हुन आँटेका पनि गर्भ मैं खेर गएछन !
छोरा-छोरी नहुने आईमाई लाई समाज ले गर्ने हेलाको बर्णन गर्ने हो भने , जो सुकेका आँखा बाट आँशु नै आउछन ! छोरी मात्रै भएर नहुने रे, स्वर्ग जानलाई छोरानै हुनु पर्ने ! छोरा-छोरी नहुने आईमाई त असफल,अलच्छिनी र के -के हो ,के-के कामै नलाग्ने मा गनिन्थे ! अहिले को जस्तो समय भएको भए अर्कै कुरो ! जसरि-तसरी उनले घर खाने काम चाहिं गरिने रहेकी थिईन ! खै ! किन हो ? त्यतिबेला को बहु-बिबाह को चलन भएर पनि , उनका दुलाहा ले दोश्रो बिबाह चाहिं गरेनछन ! शायद दुलाहामैं पो खोट थियो कि ? समाज ले अझै त महिला लाई नै यस्ता कुरामा दोष देखाऊँछ भने , झन् त्यति बेला त उनीनै दोषी देखिनु सामान्य भै हाल्यो !
समय बित्दै गयो ! अब त उनका घर मा केवल दुई प्राणी उनीहरु बुढा-बुढी मात्रै रहे ! छोरा-छोरी नभएको घर !झन् त्यसमा पनि , संकुचित समाज ! बाँच्नु त छदै थियो ! उनीहरु बुढा-बुढी पनि बाँची दिन थाले ! अहिले का गाउँ-घर मा छोरा-छोरी भएका बुढा-बुढी बाउ -आमा पनि खै कसका लागि हो एक्लै बाँची दिई रहेका देखिन्छन ! कसैका छोरा-छोरी खाडी मुलुक त कसैका कहाँ , सबै बाहिरिएका छन ! छन् त केवल बुढा -बुढी भैसकेका बाउ-आमा मात्रै ! कोहि आई हाल्छन कि भन्दै पर्खी बसेका ! बिचरी ! ति बुढी का त झन् को पो आउने वाला थियो र ! केवल बुढा-बुढी मात्रै भएको घर को के हाल थियो होला ?
समाज मा प्राय : बुढी भन्दा पहिला बुढा नै श्वर्गे भएको पाईन्छ ! उनका पनि बुढा मरे र उनि नितान्त एक्लो भईन ! एक्ली बुढी मान्छे कसरि बस्छिन भनेर होला ,माईतिले उनलाई पाल्ने भनेर , उनको जाय-ज्यथा जे जति थियो बिक्रि गरेर आफ्नै शरण मा ल्याए ! अफसोच ! जे कुरामा पनि अंश लगाउने चलन भएको समाज मा , उनलाई पनि उनका माईति ले अंश लाएर पाल्ने भए ! उनि बिचरी बुढी मान्छे ! फूट-बल जस्तै भईन ! कहिले एता , कहिले उता !त कहिले एता न उता पो भईन हौ , ति बिचरी बुढी मान्छे !
उनको शरीर कुप्रिएर , टाउको र खुट्टा लग-भग जोडेर , पूर्ण रुपले कुप्रिएर हिडथिन ! झन् त्यसमा पनि , उनका माईतिले उनको स्वर्ग को बाटो खोलिदिन उनलाई " निम्बार्क -वैष्णव " बनाई दिएका थिए ! अब परेन झन् अफ्ठ्यारो ! जस-तसले छोएको खान नहुने, छुन नहुने , जस्तोसुकै जाडोमा पनि नुहाउनु पर्ने र नुहाएका लुगा-कपडा आफैं धुनु पर्ने ! अहिले को चलन कत्ति सजिलो ! जे गरे पनि हुने ! नुहाउन लाई गिजर हुन्छ , लुगा धुन मान्छे आईहाल्ने र खाना बनाउन पनि बिजुली ले नै पकाईदिने ! माईति बसेकी बुढी भनेर गरिने हेला त अलग्गै छदै थियो ! न कसैले मिठो बोल्थे , न कसै ले उनको दु:ख बुझ्ने कोशिश नै गर्थे !
एक दिन बुढी थला परिछ्न ! अचेल भरि छोरा-छोरी ले आफ्नै बाउ-आमा लाई त त्यत्तिसार्हो हेरविचार गर्दैनन् , सब-कोहि कहाँ दयालु हुन्छन र ? गर्ने ले त गरिनै रहेका छन नि ! छोरा-छोरी नभएकी बुढी लाई कसले अस्पताल लाने , अनि कसले डाक्टर बोलाउने ? दुई -तिन दिन पनि भएको थिएन होला , बाहिर तुलषा को मठ मा निकाली पो हालेछन हौ ! ओरि-परि मान्छे झुम्मिएका छन , जय !राधे ! राधे ! भनेका छन र मुखमा तुलशी पत्ती कोच्याएर चम्ची ले धमा-धम पानि खुवाउन थालि हालेछन ! अब श्वाश फेर्न पनि गाह्रो भयो होला ! झन् त्यसमा पनि ,'"जय ! राधे ! राधे !" गरेर अत्त्याई दिएका छन !
बिचरी ! बुढी ! आतेस लागेर एक चोटी त झन्डै उठेकी तर कसले उठ्न दियो र ?
मुखभरि तुलाशिका पात र माथि बाट पानी !
बुढी को कत्ति खेर सास गयो को नि ! सबै खुशी हुदै पो भन्छन ," कस्तो राम्रो मरण ! कस्तो राम्रो मरण !"
पुरु !