सिंगापुरविरूद्ध सानदार जित

सिंगापुरविरूद्ध सानदार जित

मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा सिंगापुरविरूद्ध सानदार जित हासिल गरेको छ।

सोमपाल कामी र ज्ञानेन्द्र मल्ल चम्केपछि नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको हो।

ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले बलिङमा पनि सोही लय दोहोर्‍याउँदा सिंगापुरविरूद्ध सहज जित आत्मसाथ गरेको हो।

२६४ रनको लक्ष्य पछ्याएको सिंगापुर नेपाली बलरसामु निरीह हुँदै २१.४ ओभरमा ७३ रनमा अल आउट भए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए। ९ ओभर बलिङ गरेका कामीले ३ मेडन ४१ रन खर्चेर राख्दै ४ विकेट लिएका थिए। यस्तै बसन्त रेग्मीले ३ विकेट लिए। ५ ओभर बलिङ गरेका रेग्मीले १ मेडन राख्दै १९ रन खर्चिए।

अमृत भट्टराई र बसन्त रेग्मीले समान २-२ विकेट लिए। यस्तै कप्तान पारस खड्काले १ विकेट लिए।

यसअघि बायुमास ओभल,सेलाङ्गोर मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले  निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ११४ रन बनाए। १२५ बल खेलेका मल्लले १३ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर नरेश बुढाऐर २९ रनमा आउट भए। उनले ५९ बलको सामना गरेका थिए। १३ बल खेलेका सागर पुनले अन्तिममा आक्रमक ब्याटिङ गर्दै २१ रन बनाए। उनले १ छक्का र २ चौका प्रहार गरेका थिए।

बसन्त रेग्मी २१ रनमा आउट भए। १५ बल खेलेका रेग्मीले २ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तान पारस खड्का १४ रनमा आउट भए। उनले २ चौका प्रहार गरेका थिए। आक्रमक ब्याटिङ गरेका विनोद भण्डारी ४ बलमा २ चौकासहित ८ रन बनाएर आउट भए। यस्तै ८ बल खेलेका सोमपाल कामीले ६ रन बनाए। शक्ति गौचनले ५ बलमा ५ रन बनाए। यस्तै शरद भेसवाकरले ४९ बलमा २५ रन बनाएका थिए।

यसअघि युगान्डासँग नेपाल पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेलमा बर्मूडालाई ८ विकेटले हराएको थियो।

एक सातासम्म चल्ने प्रतियोगिता नेपालसहित मलेसिया, बर्मुडा, सिंगापुर, अमेरिका र युगान्डा सहभागी छन्। राउन्ड रोबिन आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन दुईमा प्रवेश गर्नेछन्। शीर्ष दुईले उपाधिका लागि प्रतिस्पर्धा समेत गर्छन्।

डिभिजन दुई आगामी जनवरीको तेस्रो साता नामिबियामा हुँदैछ। यो प्रतियोगिताको शीर्ष दुईमा रहन सके नेपालले आईसीसी इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको पेप्सी आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ। डिभिजन दुईबाट अगाडि बढ्ने टोलीले अहिलेसम्म यी प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्