विराटनगरमा क्षमताभन्दा चार गुणा बढी सिटी सफारी, नयाँ खरिद र दर्तामा नियन्त्रण गर्न ट्राफिकको सुझाव

<span class='c1'>विराटनगरमा  क्षमताभन्दा चार गुणा बढी सिटी सफारी,</span> <span class='c2'>नयाँ खरिद र दर्तामा नियन्त्रण गर्न ट्राफिकको सुझाव</span>

प्रेम देवान
विराटनगर ।
विराटनगरको सडक क्षमताभन्दा अत्यधिक संख्यामा सिटी सफारी सञ्चालनमा रहेको भन्दै जिल्ला ट्राफिक प्रहरीले यसको नयाँ खरिद तथा दर्ता प्रक्रियामा नियन्त्रण गर्न सुझाव दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार विराटनगरमा बढीमा ३ हजारदेखि ३ हजार ५ सय वटासम्म सिटी सफारी सञ्चालन हुन सक्ने क्षमता भए पनि हाल १५ हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा छन् । क्षमताभन्दा झन्डै चार गुणा बढी सिटी सफारी सडकमा गुड्दा विराटनगरको ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती थपिएको उनको विश्लेषण छ।


सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा सोमबार बिहान विराटनगर बसपार्कमा आयोजित ‘सुरक्षित यात्रा’ अभियान कार्यक्रममा आफ्ना धारणा राख्दै न्यौपानेले सिटी सफारी व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेका हुन् । उनका अनुसार विराटनगरमा पार्किङको पर्याप्त व्यवस्था नहुँदा सवारीसाधन सडक किनारमै पार्किङ गर्नुपर्ने अवस्था छ । त्यसमाथि ट्राफिक प्रहरीको जनशक्ति पनि न्यून हुँदा सवारी व्यवस्थापनमा थप कठिनाइ भइरहेको छ। विराटनगर महानगरपालिकाभित्र ४५ जना र मोरङ जिल्लाभर जम्मा १२४ जना ट्राफिक प्रहरी कार्यरत रहेको उनले जानकारी दिए।

दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनबाट हुने गरेको र त्यसपछि तीनपाङ्ग्रे सवारीसाधनको संख्या रहेको न्यौपानेले बताए ।
सिटी सफारीमा चालक अनुमतिपत्रको अवस्था पनि कमजोर रहेको उनको भनाइ छ। अन्य सवारीसाधनको चेकजाँच गर्दा अधिकांश चालकसँग अनुमतिपत्र भेटिने गरे पनि २० वटा सिटी सफारी जाँच गर्दा एकदेखि दुई जना चालकसँग मात्रै अनुमतिपत्र भेटिने गरेको उनले ‘
सुनाए । त्यसैगरी, सिटी सफारी चालकमा वृद्ध उमेर समूहका व्यक्ति, फरक क्षमता भएका व्यक्ति तथा अधिकांश भारतीय नागरिकसमेत रहेको पाइएको उनले उल्लेख गरे। ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, जथाभावी मोडिनु तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउनु दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएको उनको भनाइ छ।


न्यौपानेले विराटनगरको सडक तथा सहरी क्षमताअनुसार सिटी सफारीको संख्या व्यवस्थापन गर्न अब नयाँ खरिद र दर्ता प्रक्रियामै नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। । उनका अनुसार विराटनगरमा दैनिक १० देखि १५ वटासम्म नयाँ सिटी सफारी बिक्री हुने गरेको छ। सिटी सफारीको संख्या निरन्तर बढ्दै जाने तर सडकको क्षमता र व्यवस्थापन पक्षमा सुधार नहुने हो भने आगामी दिनमा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने उनको विश्लेषण छ। त्यसैले तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि नयाँ सिटी सफारी खरिद तथा दर्तामा नियमन गर्न सके केही हदसम्म समस्या नियन्त्रण गर्न सकिने उनले बताए ।

सिटी सफारीको बढ्दो संख्यालाई व्यवस्थित गर्न नयाँ खरिद र दर्तामै नियन्त्रण गर्नुपर्ने ट्राफिक प्रहरीको सुझावले अब यातायात व्यावस्था कार्यालय कोशी प्रदेश र विराटनगर महानगरपालिकाले नीतिगत निर्णय लिनुपर्ने विषयलाई समेत बहसमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्