झोले विद्यालय बनाएर रकम दुरुपयोग गर्ने ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

झोले विद्यालय बनाएर रकम दुरुपयोग गर्ने  ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

बिराटनगर,कार्तिक १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोले विद्यालय बनाएर रकम दुरुपयोग गरेको भन्दै सिराहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आव २०६६/६७ देखि २०७०/७१ सम्म पटक–पटक रु १० लाख ५० हजार दुरुपयोग गरेको अभियोगमा उनीहरू विरुद्ध आज मुद्दा दायर गरिएको हो ।
आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी राजेन्द्रप्रसाद ठाकुर, तत्कालीन कायममुकायम जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साह, कार्यक्रम अधिकृत गुदर महतो, शारदा प्रावि जिझौलका प्रधानाध्यापक सफल यादव, उनका बाबु रामविनय यादव र स्रोत व्यक्ति राजेन्द्रप्रसाद यादवमाथि सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सिराहाको जिझौल–५ मा रहेको शारदा प्राविको नाममा उनीहरूले झोले विद्यालय खडा गरेका थिए ।
यस्तै, आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत वरिष्ठ प्राविधिक दिलीपकुमार मिश्रले सेवा प्रवेशका क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मिश्रले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९९० मा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्