जिल्ला प्रशासनको वेभसाइटमा गलत सूचना

जिल्ला प्रशासनको वेभसाइटमा गलत सूचना

 

प्रदीप परियार

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको वेभसाइटमा गलत सूचना राखिएको छ । जिल्लाको प्रशासनिक र सुरक्षाकोे जिम्मेवारीका लागि गृहमन्त्रालय मातहतको कार्यालयमै गलत सूचना भेटिनु कार्यालय अव्यवस्थित भएको पुष्टि हुन्छ ।
जिल्लाको जानकारी गराउने, कार्यालयले प्रदान गर्ने सेवा र सेवा दिने व्यक्तिका बारेमा गलत सूचना भेटिएको हो । कार्यालयको वेभसाइटमा प्रमुख जिल्ला अधिकारीकै नाम गलत राखिएको छ । मंसिर १० गतेदेखि बर्दियाबाट सरुवा भएर झापा आएका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको ठाउँमा अझै एकमणि नेपालकै नाम र फोटो राखिएको छ ।
यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रोहितराज पोखरेल र कमलबहादुर थापाले काम गरिरहे पनि उनीहरुको नाम वेभसाइटमा राखिएको छैन । उक्त ठाउँमा मोहनप्रसाद वाग्लेको नाम छ । तीन जना प्रशासकीय अधिकृत पनि सरुवा भइसकेका छन् । सागर मिश्र, केशवप्रसाद रिजाल र लक्ष्मीप्रसाद खरेलको नाम अझै हटाइएको छैन । प्रशासकीय अधिकृतमा सुरेश आचार्य, शङ्करप्रसाद पौडेल, यज्ञराज आचार्य, राजु दाहाल कार्यरत छन् ।
शाखा अधिकृत उर्मिला दाहाल विशेष सरकारी वकिल कार्यालय काठमाडौं, हरिबहादुर केसी मकवानपुर प्रशासन कार्यालय, गीताकुमारी राई इलाका प्रशासन उर्लाबारी र दिपेन्द्रकुमार खत्रीको जिल्ला कारागार झापाको प्रमुखको रुपमा सरुवा भइसके पनि उनीहरुको नाम वेभसाइटमा अझै पनि छ । उनीहरु शाखा अधिकृतको रुपमा कार्यरत थिए ।
यसैगरी, नायब सुब्बा मनकुमार राई इलाम मङ्गलबारे कामु शाखा अधिकृतका रुपमा सरुवा भए पनि उनको नाम जिप्रकाको सूचनामा राखिएको छ । उत्तम कुँवर (नासु) क्षेत्रीय प्रशासन कार्यालय धनकुटा, काशीनाथ अधिकारी (नासु) अवकास, रामवीर प्रजापति (नासु) प्रहरी किताब खाना, शम्भूकुमार ओझा (नासु) धनकुटा जिविस, पवनकुमार गुप्ता क्षेत्रीय प्रशासन धनकुटा, यूवराव कोइराला (खरिदार) जिल्ला प्रशासन ललितपुरमा सरुवा भए पनि उनीहरुको नाम झापा जिल्ला प्रशासनको कर्मचारीको विवरणमा राखिएको छ ।
सूचना पाउने नागरिकको अधिकारलाई समेत जिल्ला प्रशासन कार्यालय झापाले हनन् गरेको छ । अन्तरिम संविधानमा नागरिकको सूचनाको हक नैसर्गिक अधिकारको रुपमा राखिए पनि त्यसलाई झापा प्रशासनले पालना गरेको छैन । बर्दियाबाट प्रमुख जिल्ला अधिकारी झापा आउनासाथ बर्दियाको कार्यभार सम्हाल्न नरहरि बराल पुगेपछि उनको नाम बर्दियाको वेभसाइटमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको यस्तै गलत सूचनामध्ये गाविस र नगरपालिको संख्या पनि रहेको छ । कार्यालयको सूचनामा ४७ गाविस र ३ नगरपालिका छन् । सही सूचना भने ६ नगरपालिका र ४१ गाविस हो । गलत सूचनाबारे प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले प्रशासनको अस्तव्यस्तताले गर्दा सूचना राख्न नसकिएको हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्