भनिन्छ जन्म, मृत्यु र विवाह स्वर्गमै तय गरिन्छ । अर्थात जोकोही मानिसको जीवनमा एक पटक विवाह भएकै हुन्छ । यो प्राकृतिक नियम जस्तै हो । एउटा परिवारको संस्था बन्न विवाह अनिवार्य छ । धर्मग्रन्थहरुमा पनि परिवार संस्कृती, विवाह र नाताकुटुम्बका वारेमा उल्लेख गरिएको छ । हुनत मानवशास्त्रीहरुले पनि विवाहका नियमहरुले नै समाज बन्न सम्भव गराउंछ भनेर उल्लेख गरेका छन् । कतिपय दार्शनिकहरुले ‘विहे यस्तो चीज हो कि गर्ने मान्छे पनि पछुताउँछ नगर्ने मान्छे पनि पछुताउँछ ।’ भनेर व्याख्या गरेका छन् ।
नेपाली शब्दकोषले विवाह शब्दलाई स्त्री र पुरुषका वीचमा पति पत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्म भनेर परिभाषित गरेको छ । त्यतिमात्र होइन, विवाह गर्नु भनेको जीवनसाथीको चुनाव गराउनु पनि हो । यद्यपी यही विवाहको परम्परा र शैली अब विगत जस्तो छैन् । आधुनिक उदार पुस्ताले विवाहलाई नयाँ शैलीमा ढाल्न थालेको छ । अर्थात विवाहको स्वरुपमा नै कायपलट ल्याइदिएको छ ।
‘विहे गर्नु कुलको पानी खानु मुलको’ हाम्रो समाजमा यो भनाई चर्चित छ । कुल, जात र खानदान हेरेर विवाह गर्ने पुरानो प्रचलनलाई यही भनाइले प्रतिनिधित्व गर्छ । तर विस्तारै कुल खानदानको कुरा अब गौड बन्दै गइरहेको छ । युवा पुस्ता आफ्नो जीवनसाथी रोज्न स्वतन्त्र हुँदै गएका छन् । समाज र परिवारको लगामबाट टाढा बन्दै गएको अहिलेको पुस्ताले विवाह गर्नुपूर्व आफ्नो जीवनसाथी रोजेरमात्र अर्थात पहिल्यै माया–पिरती गांसेर त्यसपछि मात्र परिवारको अनुमती लिने क्रम सुरु गरेका छन् ।
समय र समाजसँगै नेपाली रितीरिवास र संस्कारमा व्यापक वदलाव आउन थालिसकेको छ । अधिकांस युवाहरु परिवार र आफन्तको रोजाइ र खोजाइमा विवाह गर्नुपर्छ भन्ने पक्षमा छैनन । परिवारको खुशी होइन आफू खुशी रहनुपर्छ भन्ने मान्यता स्थापित गर्न युवाहरु चाहान्छन् । केटा वा केटीले एक आपसमा रोजेर घुम्ने, मोजमस्त गर्ने, वानीव्यहोरा वुझ्ने अनि परिवारको मान्यता दिलाई खुशीको जीवन रोज्नेको संख्या बढदै गइरहेको छ । परम्परागत विवाहको संस्कार हराउँदै गएको छ । जन्ते बाख्रो लिएर जन्ती जाने, रातभर रत्यौली खेल्ने जस्ता चलनहरु कम हुँदै आएको छ ।
नेपाल सरकारको किशोरकिशोरी तथा युवा सर्वे–सर्वेक्षणले अहिलेका पुस्ताले विवाहमा कस्तो साथी रोज्न भनेर सर्बेक्षण गरेको छ । विवाहित मध्ये ५३.४० प्रतिशत युवक र ३७.५६ प्रतिशत युवतीले आफ्नै रोजाइले जीवनसाथी रोजेको बताएका छन् । सर्वेक्षणले देखाएको महत्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४.८१ प्रतिशत युवतीहरुकालागी सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन, जबकी ३६.१७ प्रतिशत युवकका लागी दुलही खोज्दा सहमती लिइदैन भन्ने तथ्य सार्वजनिक भएको छ ।
गर्नै पर्छ विवाह ?
जोकोहीका अभिभावकहरुले आफ्ना सन्तानको उमेर पुगेपछि विवाह गरिदिन र जिम्मेवारी पुरा गर्न चाहान्छन् । छोराछोरीको पालपोषण, शिक्षादिक्षा अनि उमेर पुगेपछि विवाह गरिदिन पाए अभिभावकले आफ्नो दायित्व पुरा भएको ठान्छन् । उमेर पुगेका छोराछोरी सुरुमा विवाह गर्न हिचकिचाए पनि अन्ततः लगन गांठो जोडेरै छाड्छन् ।
पुरानो प्रचलनमा विवाह गर्ने भनेको बुहारी भित्राउने अनि घरको कामकाज चलाउने, खेतीपाती, चुलोचौकोमा सघाउन, बंश विस्तार गर्न मात्र नभई परम्परा धान्नका लागी विवाह गरिन्थ्यो । विवाह गर्नु भनेको व्यक्तिको होइन परिवारका लागि हुन्थ्यो । विवाहको टुङ्गो लगाउन पनि परिवारको भूमिका बढी हुन्थ्यो । छोरीको विवाह गरेर पठाउँदा ‘पाले पुन्य, मारे पाप’ भन्ने प्रचलन थियो । वैदिक विधिले विवाहलाई पारिवारिक खुशीमा सिमित गराइदिएको थियो ।
तर समयक्रमसँगै विवाह व्यक्तिको रोजाइमा अघि बढ्न थालेको छ । पुरानो चलन हटदै केटा–केटीको खुशीमा विवाह हुन थालेको छ । जोसंग खुशी भइन्छ उही संग विवाह हुने प्रचलन बढेको छ । युवापुस्ताको चाहाना अनुसार विवाहको शैली फेरिदै गएको छ ।
नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघका अध्यक्ष डुजाङ शेर्पा विवाह आपसी भावना साट्न र खुशीका साथ जिन्दगी चलाउनका लागी आवश्यक भएको स्विकार्छन । भन्छनः यौनसम्पर्क, सन्तान उत्पादन लागी पनि विवाह आवश्यक छ ।’ दुखसुख साटासाट गर्न, ‘डेली लाइफ’ चलाउन पनि विवाह आवश्यक भएको शेर्पाको बुझाइ छ ।
जातभातको कुरै हरायो
‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ महाकवी देवकोटाको यो भनाई हिजोआज युवाहरुको मन मुटुमा अडेको छ । हुनत मन मिले जोकोही बीच विवाह गर्न पाउने कानुनी मान्यता छ । युवाहरुको चाहाना अनुरुप विवाहले नयाँ फड्को मार्न थालेको छ । हिजोआज विवाह गर्नलाई जातले छेक्न छाडेको छ । मागी विवाह नै गर्नुपरे केटाकेटीको जात, समुदाय बुझने चलन नभएको होइन ।
यद्यपी मागी विवाहको प्रचलनमा कमी आएकाले जातको कुरै हराएको छ । मानिसको गुण र दोषका आधारमा मानिस असर र खराब छुट्टाउने प्रचलनको हावी हुन थालेको छ । आरआर क्याम्पसमा अध्ययनरत सुनिता गुरुङको कथन पनि जातले जिन्दगी चलाउने होइन मन र माया मिले हुन्छ भन्नेमा छ । सुनिता भन्छिन–‘ठूलो जात र सानो जात भनेर गरिएको विभेद अहिलेको पुस्ताले रुचाउँदैनन, मन, उमेर र भावना मिले विवाह जोकोहीसँग गर्दा फरक पर्दैन ।’
हुनत मागी र स्वजातिय विवाहका पक्षमा उभिने युवाहरुको पछाडी अभिभाव र समाजको खुशी मुख्य हुन जान्छ । तर अभिभावक र समाजले पनि अन्तरजातिय विवाहलाई सहज रुपमा लिन थालेको छ । हरेक महिलाहरुले विवाह गर्दा व्यावसायमा लागेको इमान्दारीता र पारिवारीक पृष्ठभूमि बुझने गर्छन भने केटाहरुले पनि पढेकी, सुन्दरी साथै जागिरे केटी रोज्न थालिसकेका छन् । यसका पछाडी जातको कुरा ओझेल पर्न थालेको बुझन गारो छैन् । परिवार र समाजले नस्विकारे अदालती विवाह गर्न पनि युवाहरुले भ्याउन थालेका छन् ।
धन होइन मन मिले पुग्छ
दाइजो प्रथा विरुद्ध जति नै अभियान चालिए पनि तराइका कतिपय स्थानहरुमा दाइजो प्रथा अझै पनि कायमै छ । यसका विरुद्ध कानुन नै बनेपनि लुकीछिपी दाइजो लेनदेन चलिरहेको छ । दाइजो नल्याउने छोरा र दाइजो नपाउने छोरीलाई समाजमा हेय दृष्टिले हेर्ने गरिन्छ । यद्यपी अहिलेको पुस्ता दाइजोको पक्षमा देखिदैनन् । विवाहलाई पैसाको लेनदेनमा मिसाइयो भने सम्बन्ध सुमधुर हुनै नसक्ने कुरामा गितकार सुमी सिंह विश्वस्त छिन् ।
‘विवाह गर्ने जोडीको सम्बन्ध आपसी समझदारी र विश्वासमा निर्माण गरियो भने धनको कुनै जरुरत नै पर्दैन,’ उनले भनिन–‘धन त संगै दुःख गरेर कमाउन सकिन्छ, सित्तैमा पाएको दाइजोले मन शान्त गराउनै सक्दैन ।’ हाम्रो समाजमा गरिबको छोराले धनी परिवारको छोरी र धनी परिवारको छोराले गरिब परिवारकी छोरी भित्राउने चलन बढ्दै गइरहेको छ । त्यसैले तराईका एकाध जिल्ला बाहेर दाइजो वा धनसम्पत्तीमा विवाहको कुरा अल्झन छोडेको छ । मन मिले जातभात, धनसम्पत्तिको लेनदेन कमी हुंदै आएको छ ।
शुभसाइत हेराउनै छाडियो
विवाह गर्दा हिन्दु धर्ममा शुभसाइत तोक्ने प्रचलन पुरानै हो । ज्योतिषहरुले शुभसाइतको मिति तोकेर विवाह गर्ने सल्लाह दिने र सोही अनुरुप विवाह बन्धनमा बांधिने प्रचलन छ । कार्तिक, चैत्र जस्ता महिनाहरुमा विवाह गर्नुहुंदैन भन्ने मान्यता कायमै छ । तर पछिल्लो समयमा शुभसाइत नै आवश्यक पर्न छाडीसकेको छ । जोडीको समय र मन मिले विवाह जुनसुकै दिन, वार, महिना कांडेतार बन्दैन ।
हिन्दु संस्कारमा शुभ विवाहका लागी १२ मध्ये ६ महिना मात्रै सम्भावित हुन्छन् । ती महिना भित्र पनि विभिन्न ग्रहगोचर, केटा–केटीको जन्मकुण्डलीका आधारमा शुभ लग्न जुराउने चलन छ । ज्योतिष डा. सुनिल सिटौला भन्छन–‘अहिलेका पुस्ता यस्ता शुभसाइतको पक्षमै छैनन, आफ्नो इच्छा र समयलाई प्राथमिकता दिन्छन ।’ तर लग्न वा शुभसाइत नजुराई गरिएको विवाह शुभ हुन नसक्ने र यसको परिणाम नकरात्मक निस्कने धार्मिक विश्वास रहेको सिटौलाको भनाइ छ ।
दशैंको टीकाको दिन, अक्षय तृतीया, सरस्वती पूजाका दिनलाई विवाह गर्न उपयुक्त मानिन्छ । तर हिजोआज भ्यालेन्टाइन डे, नयाँ बर्ष जस्ता दिन युवाको शुभसाइत मान्न थालिएको छ । जग्गे र होम गर्ने स्थलहरु पनि बन्न छाडीसकेका छन् । आधुनिकिकरणले हिन्दु संस्कार नै मेटिने हो की भन्ने एकथरीको चिन्ता भने कायमै छ ।
विवाहबारे रमाइला भनाई
विवाहबारे गाउँतिर मात्र होइन समाजशास्त्री, दार्शनीकहरुले रमाइला र घतलाग्दा भनाइहरु सार्वजनिक गरिसकेका छन् । ‘विवाह एउटा यस्तो पोखरी हो जहाँ अविवाहितहरु पौडी खेलेर मजा लिन चाहान्छन भने विवाहितहरु वहिर निस्केर घाम ताप्न चाहान्छन ।’ लङमेन एक्टिभ स्टडी डिक्सनरीले ‘एक स्त्री र एक पुरुषबीचको औपचारिक धार्मिक विधिमार्फत हुने मिलन नै विवाह हो ।’ बैज्ञानिक अल्वर्ट आइन्स्टाइनले विवाह बारे अलिक भडकिलो भरिभाषा दिएका छन् । उनले भनेका छन–‘विवाहको अवधारणा पक्कै पनि एउटा सोच्न नसक्ने सुंगुरले ल्याएको हुनुपर्छ ।’
सुकरातले चाहीं विवाह गर्न प्रोत्साहित गरेका छन् । उनले भनेका छन्–‘जे भए पनि विहे गर, असल श्रीमती पायौं भने खुशी हुनेछौं, खराब परे दार्शनिक ।’ त्यस्तै अन्य रमाइला तर वास्तविक भनाइहरु पनि चर्चित छन् । ‘विहे भनेको सुनौंलो पिजंडा हो जहां पस्न नपाएकाहरु कतिबेला ढोका खुल्ला र पसौंला भनेर कुर्छन भने पसेकाहरु कतिखेर खुल्ला र निस्कौंला भनी उचित समयको पर्खाइमा हुन्छन ।’ त्यस्तै पुरुष प्रति लक्षित अर्को भनाई यस्तो छ–‘विहे गरेको भोलीपल्ट पूरुषले आफू सातबर्ष थप बुढो भएको अनुभव गर्छ ।
Source: Image Khaber