विराटनगर । प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरीले नेपालमा काम गर्दै पढ्ने वातावरण बने विदेश पलायन यूवा शक्ति पलायन हुने क्रम न्यून हुने बताउनुभएको छ ।
आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कोशी प्रदेशको चौथो अधिवेशनलाई सम्वोधन गर्दै उहाँले हाम्रा विश्वविद्यालयहरुले यस तर्फ ध्यान दिन नसकेको टिप्पणी गर्नुभयो ।
नेपालमा पढाई राम्रो नभएर यूवा शक्ति विदेश पलायन नभएको भन्दै उहाँले एकातर्फ राजनितिक अस्थिरता र अर्को तर्फ पढ्दै कमाउने वातावरण नभएको कारणले विदेश मोह बढेको बताउनुभयो । उहाँले विदेश जाने यूवा शक्ति पनि खुसी नरहेको भन्दै उहाँले विदेशमा जस्तै योग्यता र क्षमता अनुसारको कमाउँदै पढ्ने वातावरण भए धेरै फर्किने र अब जानेको संख्यामा पनि कमि आउने पुरीले बताउनुभयो । उहाँले यसका लागि तीनै तहका सरकारले हामी गर्छौं भन्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि विश्वविद्यालयले पनि यहाँको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्न सोहि अनुसारको करिकुलमको विकास गर्दै पढ्दै काम काम गर्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नीजि क्षेत्र सदैव कर्मबिरहरुको थलो रहेको भन्दै उहाँले यहाँ सोर्स फोर्स नभई क्षमता र योग्यताको अनुसार जनशक्ति लाई काम दिने भन्दै ति जनशक्तिले राजनीति भन्दा कामलाई महत्व दिने गरेको बताउनुभयो । विद्यालय शिक्षा ऐन सम्भवत हिउँदे अधिवेशनमा पारित होला भदै उहाँले त्यसपछि प्रदेश सरकारले पनि शिक्षाका क्षेत्रमा काम गर्ने अधिकार पाउला र ऐन बनाउला भन्ने आशा ब्यक्त गर्नुभयो । नि:शुल्क शिक्षामा १० देखि १५ प्रतिशत छात्रबृत्ति दिनुपर्ने प्रावधानलाई पुन: मूल्यांकन हुनुपर्ने धारणा राख्दै उहाँले १५ प्रतिशत ब्यवहारिक नभै बढी भएकाले गर्न सक्ने जति मात्र दायीत्व मात्र दिनुपर्ने बताउनुभयो । उहाँले ५ देखि ८ प्रतिशत मात्र ब्यवहारिक हुने उल्लेख गर्नुभयो ।
पुरीले सरकार आफूले मात्र गरेर विकास सम्भव नहुने भन्दै नीजि क्षेत्र आवश्यक रहेको जिकिर गर्नुभयो । विकसित भनिएका देशहरू पनि निजी क्षेत्रलाई प्रमोट गरेर मात्र सफल भएको बताउनुभयो । गफ गरेर विकास नहुने भन्दै उहाँ ले भन्नुभयो,' काम गरेर र उत्पादन गरेर विकास हुने हो, समाजवाद चाहने मानिस उत्पादनसँग जोडिनुपर्यो जाहे त्यो बस्तुको होस या सेवाको होस ।'
यस्तै उहाँले नेपालको भौगोलिक अवस्था अनुसार जनसंख्या कमी भएको भन्दै सरकारले जनसंख्या वृद्धिको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । नेपालमा कम्तिमा ५ करोड जनसंख्या आवश्यक रहेको तर्क गर्दै भन्नुभयो, 'एकातिर भएको जनसंख्या पलायन हुने क्रम तिब्र छ । जन्मदर कम । अब जनसंख्या बृद्धि निती आवश्यक छ ।'