विर्तामोडमा फोहोर उठाउन दोहोरी

विर्तामोडमा फोहोर उठाउन दोहोरी

 

प्रदिप परियार ,विर्तामोड । पूर्वकै व्यापारिक केन्द्र मानिएको विर्तामोड दुर्गन्धित भएको छ । विर्तामोड नगरपालिकासँग सम्झौता गरे अनुसार एकता हेड्स नेपालले फोहोर नउठाउँदा फोहोर कुहिएर दुर्गन्ध फैलिएको हो ।
सफा नगर, सुन्दर नगर भन्दै अभियानको थालनी गर्ने विभिन्न संघसंस्था पनि निष्कृय हुँदा समस्या दिनहँु बढ्दै गएको हो । व्यवसायिक दृष्टिले व्यस्त मानिएको विर्तामोड क्षेत्र फोहोरले कुरुप बन्दै गएको छ । विर्तामोड नगरपालिकाभित्र रहेको मुख्य चोक–चोकमा फोहोरको थुप्रोले सुन्दरतालाइ कुरुप बनाउँदैछ भने मानव स्वस्थ्यमा समेत असर पुर्याइरहेको छ । फोहोर उठाउन एकता हेड्स नेपालले व्यापारीसँग रकम लिएपनि एक महिनादेखि फोहोर नउठाएको व्यापारीले बताएका छन् ।
नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्तीले सम्झौता गर्ने संस्थाले धोका दिएपछि फोहोरको समस्या बढेको बताए । उनले एकता हेड्स नेपालले मंसिर १९ गते कागजी सम्झौता गरेको देखाउँदै फोहोर नउठाएकोमा चिन्ता व्यक्त गरेका छन् । उक्त संस्थाले नगरपालिकासँग कुनै शुल्क नलिने र सम्पूर्ण व्यवस्थापन संस्थाले नै गर्ने भन्दै सम्झौता गरेको बताइएको छ । यस नगरपालिका भित्र फोहोर फाल्ने ठाउँ समेत नभएकाले समस्या जटिल बनेको अधिकृत वस्तीले बताए । विर्तामोड फोहोर मैला व्यवस्थापन समितिले उक्त संस्थालाइ दररेट समेत तोकेको थियो ।
समितिले हाइवेले छोएको घरहरु प्रति तला प्रति महिनाको ५०, हाइवेभन्दा बाहिर भएका घरहरुको १०० र प्रतिसटर ५० ट्याक्टर, बस ग्यारेज पाँच सय, मोटरसाइकल ग्यारेज २००, व्याङ्क सहकारी, व्यवसायी संघसंस्था, कम्पनी दुई सयदेखि पाँच सयसम्म तोकिएको थियो । यसैगरी होटल दुई सयदेखि एक हजार, हस्पिटल दुई हजारदेखि पाँच हजार, मोटरसाइकल सोरुम पाँच सय, चार पाङ्ग्रे सोरुमबाट एक हजार सेवा शुल्क तोकिएको नगरपालिकाले जनाएको छ ।
एकता हेड्स नेपाल र नगरपालिका बीच भएको सम्झौताको प्रतिलिपीको कुनै पनि हरफमा नगरपालिकाले कुनैपनि विषयमा एकता हेड्सलाई पैसा दिने भनेर सम्झौता गरेको छैन । विर्तामोडमा फोहोर बढ्दै गएपछि यतिबेला व्यवसायीले सरोकारवाला निकायलाई फोहोर उठाउन दबाव दिइरहेका छन् । नगरपालिका फोहोर उठाउन एकता हेड्ससँग सम्झौता गरिएको भन्दै यस बारेमा उक्त संस्थालाई जानकारी हुने बताउँदै आएको छ भने संस्थाले नगरपालिकाले पैसा नदिएर फोहोर नउठाएको जनाएको छ । एकता हेड्सकी अध्यक्ष राधिका सिटौलाले राजनीतिक चलखेलका कारण फोहोर उठाउन समस्या भएको बताएकी छन् । उनले नगरपालिकाले पैसा उपलब्ध गराउने भन्दै मौखिक सम्झौतासमेत गरेको दाबी गरेकी छिन् ।
यता नगरका अधिकृत वस्तीले यो वकवास कुरा भएको जनाए । दुई पक्षबीच फोहोरको विषयमा दोहोरी चल्न थालेको छ । विर्तामोडको फोहोर बढ्दै गएपछि एकता हेड्स नगरपालिकाको पैसा ताक्दै छ भने नगरपालिका ल्याण्डफिल्ड साइटको खोजीमा छ ।
एकता हेड्सले नगरपालिकालाई आफ्नो भएको खर्च उपलब्ध नगराएसम्म फोहोर नउठाउने पत्राचार गरेको छ भने नगरपालिकाले सम्झौता गरेको संस्थाले यतिसम्म धोका दिन्छ भन्ने नसोचेको जनाएको छ ।

Source: Mechi Times

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्