ग्यास अभावले होटल प्रभावित

ग्यास अभावले होटल प्रभावित

 

विर्तामोड । झापा विर्तामोड–६ की चम्पा पराजुली मिठाई किन्न क्वालिटी स्वीट्समा पुगिन् । स्वीट्सका स्टाफले ग्यास अभावका कारण मिठाइ बनाउन नपाएकोले सर्वसाधारण खाली हात फर्काउनु परेको जवाफ दिए । पराजुलीले होटलमा मिठाई छैन भन्दा अनौठो मानिन् ।
विर्तामोडस्थित शनिश्चरे रोडमा रहेको क्वालिटी स्वीट्स तीन दिनअघि ग्यास नपाउँदा बन्द भयो । स्वीट्सले ग्यास नभएकाले बन्द गरिएको छ भन्दै सूचनासमेत टाँसेको थियो । अहिले ग्यास अभावका कारण सेवाग्राहीलाई खाजा खुवाउन धाउँधाउँ परेको त्यहाँ कार्यरतले जानकारी दिए । दशैंदेखि ग्यासको अभाव दिनहुँ बढ्दै गएको छ । यसरी ग्यासको अभावबाट सर्वसाधारणसहित व्यवसायीसमेत मारमा परेका छन् ।
क्वालिटी स्वीट्सका कर्मचारीले भने–‘छिमेकीको आदि ग्यास ल्याइयो । मंगलबार जसोतसो चल्छ भन्ने आश छ ।’ यस्तो समस्याबाट देशभरका सर्वसाधारण मारमा परेका छन् । विर्तामोडका होटल व्यवसायी, व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको बताउँछन् । उक्त स्वीट्सले पाँच÷छ दिनदेखि मिठाई बनाउन पाएको छैन ।
यता कलकत्ता मिष्ठान भण्डारका सञ्चालक ग्यास अभावले मट्टितेलको प्रयोग गर्दै आवश्यक खाद्यवस्तु तयार गर्ने गरेको बताउँछन् । महिनौं दिनदेखिको अभावको विकल्पमा मट्टितेल प्रयोग गर्नुपरेको बताए । ‘समयमा ग्राहकलाई सेवा उपलब्ध गराउन सकिएको छैन’ – सञ्चालक राहुल शर्मा भन्छन् –‘ग्यास अभावले व्यवसाय चौपट भयो ।’
कोहिनुर होटल विर्तामोडको समस्या पनि उस्तै छ । ग्यासको अभाव टार्न नसक्दा थकित भएका सञ्चालक व्यापार–व्यवसायमा धक्का पुगेको बताउँछन् । होटलका नितेश भट्टराईका अनुसार सेवाग्राहीलाई समयमै सेवा पुर्याउन नसकिएको जनाएका छन् ।
यता पोखरेल मार्केट भित्र रहेको हिमालय खाजा घरले पाँच दिनसम्म होटल बन्द गरेका छन् । विर्तामोड–२ बस्ने दुर्गा सुवेदीले सञ्चालन गर्दै आएको खाजा घर पाँच दिनसम्म बन्द हुँदा १५÷२० हजार क्षति भएको दुखेसो पोखे ।
ग्यास कम्पनीले उपलब्ध गराउने ग्यासको परिमाण भन्दा धेरै अभाव बजारमा देखिएको छ । व्यापारीले साना सिलिण्डरमा ग्यास भरिदिने, नयाँ सिलिण्डर किन्नेलाई सहजै उपलब्ध गराउने, चिनेजानेकोलाई मात्र ग्यास दिने भएकाले ग्यासको अभाव खड्किएको हो । विर्तामोडको मध्य भागमा रहेको काठमाडौं वफ मःम सेन्टरले ग्यास उपलब्ध नभएपछि आठ दिनदेखि दाउरामा पकाउँदै आएको छ । विर्तामोडमा रहेको अधिकांश होटल यतिबेला दाउरा र मट्टितेलको सहायता लिइरहेका छन् । व्यापारीहरुले ग्यासको कालोबजारी गरेको सर्वसाधारणको आरोप छ ।
कम्पनीले उपलब्ध गराएको ग्यास सहजै वितरण गर्ने हो भने ग्यासको यस्तो अभाव नहुने उपभोक्ताको भनाई छ । झापामा मेची, कोशी, त्रिशक्ति, कनकाई, प्रिज्मा, मनोजलगायतका ग्यासहरु पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्