चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि ४ सय ८० घरधुरी जोखिममा

चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि ४ सय ८० घरधुरी जोखिममा

मोरङको नवघोषित लेटाङ भोगटेनी नगरपालिकाको बस्तीसँगै जोडिएको चिसाङ खोलामा सञ्चालित क्रसर उद्योगले जथाभावी उत्खनन थालेपछि खोलाको दायाँबायाँ रहेका कीर्तिमान र कमलपुर गाउँका ४ सय ८० घरधुरी जोखिममा परेका छन् ।

स्थानीयले उद्योगका कारण आफू जोखिममा परेको भन्दै उद्योग व्यवस्थित गर्न सञ्चालन गर्न माग गरेका हुन् ।

मोरङको नवघोषित लेटाङ भोगटेनी नगरपालिका वडा नं ७ मा सञ्चालन गरेको ॐ श्री क्रसर उद्योगले जथाभावी ढुंगा गिट्टीको उत्खनन गरेपछि यस क्षेत्रमा रहेका गाउँहरु जोखिममा पर्न थालेको स्थानीय कीर्तिमान युवा क्लबका अध्यक्ष कृतिमान राईको भनाइ छ ।

गाउँलेहरुले संघर्ष समिति गठन गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न क्रसर उद्योगमा पुगेरै अनुरोध गरेका हुन् । उद्योग सञ्चालन गर्नुपूर्व स्थानीयसँग भएको सम्झौताअनुसार उद्योगले काम नगरेको गाउँलेले आरोप लगाएका छन् । ‘उद्योग सञ्चालन भएपछि गाउँको विकास हुन्छ, हामीलाई पनि फाइदा पुग्छ होला भनेर सञ्चालन गर्न दिएका हौँ’, संघर्ष समितिका संयोजक किशोर भट्टराईले भने, ‘यो क्रसर उद्योगले त हामी गाउँलेलाई उठिबास नै लगाउने अवस्था भयो ।’

चिसाङ खोला पसेर बगर बनाएको जग्गा गाउँलेको नम्बरी भएको उनीहरु बताउँछन् । उद्योग स्थापना भएदेखि गाउँलेको विकासभन्दा पनि विनाश ज्यादा भएको स्थानीय सनराइज युनाइटेड क्लबका अध्यक्ष सन्तोष राइले बताए ।

उद्योग सञ्चालक भीम पौडेलले गाउँलेमा परेको समस्या छलफलको माध्यमबाट समाधान गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्