“पिके बारे केही नलेखि रहन सकिन” – अस्वीनि कोइराला

“पिके बारे केही नलेखि रहन सकिन”  – अस्वीनि कोइराला

निकै ढिला गरि पिके हेरियो । एउटा हिन्दी चलचित्र हेरेर फेसबुकमा स्टाटस लेख्नुपर्ने आवश्यकता त थिएन तर चलचित्रले हिन्दु धर्मको अपमान गरेको भन्दै केही सिनेमा हल तोडफोड भए भनेको सुन्दा भने केही नलेखि रहन पनि सकिएन ।
एक:
कुनै पनि धर्मको विकृतिमाथि कुनै पुस्तक लेखिन्छन्, चलचित्र बनिन्छन् भने त्यसको स्वागत गर्नुपर्ने हो । त्यसले सुधारको मौका दिन्छन् । अहिलेको जमानामा जीवनमा परीक्षण गरेर प्रमाणित नभएका सबै कुरा रद्दिको टोकरी फाल्नुपर्छ, चाहे त्यो धर्म नै किन नहोस् । यदि धर्म सहि छ भने, एउटा त के हजार चलचित्र बनेपनि धर्मलाई केही फरक पर्दैन । जाबो एउटा चलचित्रका केही दृष्यले हिन्दु धर्मको जग नै हल्लिन्छ भने हामीले हिन्दु भएकोमा के गर्व गर्नु ?
दुई :
म हिन्दु हुँ । हिन्दु धर्मले देखाएका केही योगहरुको म नियमित अभ्यास गरिरहेको छु । मेरो मात्र होइन, मेरै आँखाअघि योगले हजारौं व्यक्तिको जीवन परिवर्तन आएको कुरा देखेको छु । विहान एक घन्टा नियमित योगका केही आसन र ध्यानका केही विधिको प्रयोग गर्दा त जीवनमा यति परिवर्तन आउँछ भने यो धर्मका सबै विधि पालन गर्ने हो भने मोक्ष पनि असम्भव छैन भन्ने कुरा व्यक्तिगत रुपमा म सहमत छु । तै पनि यसभित्र जुन किसिमको कर्मकाण्ड फैलिएको र जसरी यो ब्यापारिक ‘धन्धा’ भएको छ, यसलाई प्रहार गर्नैपर्छ । जुन पिकेले गरेको छ ।
तीन:
पिकेले अन्य धर्मका विषयमा कम प्रहार गरेको छ, हिन्दु धर्मका विषयमा बढि प्रहार गरेको छ भन्ने कुरामा पनि दम छैन । जुन व्यक्ति ठूलो छ, उसैमाथि प्रहार हुन्छ । हिन्दु धर्म मानव सम्भयतासँगै प्रारम्भ भएको हो । अन्य धर्मको इतिहास दुई हजार बर्ष भन्दा पुरानो छैन । पुरानो भएकाले यसका धेरै सम्प्रदाय जन्मिएका छन् । केही कुरा छक्कै पार्ने खालका र गूढ रहस्यले भरिएका छन् । पुरानै भएकाले सत्यमा धेरै थप–घट भएर विकृत पनि भएका छन् । यसमा बहस हुनुपर्छ । जुन अनावश्यक छन्, त्यो छाड्नुपर्छ । जुन आजको सन्दर्भमा पालन योग्य छन्, त्यसलाई हुर्काउनु पर्छ । कुनै अमूक धर्म जस्तो, इश्वरको वाक्य भन्दैमा अक्षरक्ष पालन गर्नैपर्छ भन्ने वाहियत तर्क गर्नुहुँदैन ।
चार :
पिकेले धर्मगुरुहरुको उछित्तो काटेको छ । ओशो, रामदेव र रवीशंकर जस्ता गुरुहरुको वाणी सुनेर भावविभोर हुने म चलचित्रको गुरुलाई उडाउँदा पनि मलाई चित्त दुखेन । किनभने सद्गुरु थोरै छन्, फाइफुट्टा गुरु धेरै छन् । सहि गुरु पहिचानका लागि पनि यस्ता गुरुमाथि प्रश्न उठाउनै पर्छ । अन्धभक्त र भक्तमा धेरै फरक हुन्छ ।
जहाँसम्म, चलचित्रले धर्मका राम्रा कुरा केही भनेन, केवल बिरोध मात्र ग¥यो भन्ने कुरा छ, त्यो पनि वाहियत तर्क हो । धर्मका राम्रा कुरा सद्गुरुहरुले गरि नै रहेका छन्, चलचित्रले धर्मप्रचार गर्ने आवश्यकता पर्दैन । अझ राम्रो कुराको प्रचारको आवश्यकता नै पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्