नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता भएको छ। आफ्नो स्थापना दिवसमा क्यानको प्रमुख प्रायोजक बन्ने घोषणा गरेको टेलिकम र क्यानबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र क्यानका कार्यबाहक अध्ञक्ष दीपक कोइरालाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नेपाल टेलिकमले नेपाली राष्ट्रिय सिनियर क्रिकेटको महिला तथा पुरुष टीमको एक मात्र प्रायोजक हुने जनाइएको छ। टेलिकमले नेपाली राष्ट्रिय क्रिकेटको सिनियर टोलीलाई वार्षिक करबाहेक  ८५ लाख  रुपैयाँको प्रायोजन गरेको हो।  नेपाल टेलिकमले गरेको प्रायोजनको रकम क्यानले प्रत्यक्ष रुपमा खेलाडीको सुविधा र नेपाली क्रिकेटको विकासमा खर्च गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ। सम्झौतामा उल्लेख भएअनुसार क्यानले टेलिकमले प्रायोजन गरेको रकमको २५ प्रतिशत रकम राष्ट्रिय सिनियर टीमका खेलाडीलाई भत्ता सुविधाका लागि खर्च गर्नुपर्नेछ। यसैगरी टेलिकमका अनुसार पहिलो र दोस्रो वर्षका लागि प्रायोजन रकम एउटै हुने र तेस्रो वर्षमा पुरस्कार रकम बढ्नेछ।

हरेक वर्ष नविकरण हुने यो सम्झौता अनुसार टेलिकम र क्यान मिलेर वार्षिक टी-ट्वान्टी प्रतियोगिता सञ्चालन गर्नेछन्। यो प्रतियोगिताको नाम 'नेपाल टेलिकम च्याम्पीयनसीप ट्रफी' रहनेछ। टी-ट्वान्टीको प्रतियोगिताका लागि पनि टेलिकम नै एक मात्र प्रायोजक हुनेछ। उसले टी-ट्वान्टी प्रतियोगिताका लागि कर बाहेक वार्षिक ७० लाख रुपैयाँ प्रायोजन गर्नेछ। यसको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने क्यानको हुनेछ।

सम्झौता अनुसार नेपाली राष्ट्रिय सिनियर महिला तथा पुरुष क्रिकेट टीम स्वत: नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर हुनेछन्। यो सम्झौतापछि नेपाली क्रिकेट खेलाडीको जर्सीमा नेपाल टेलिकमको लोगो हुनेछ।

च्याम्पियन्स ट्रफीमा पहिलो हुनेलाई १० लाख रुपैयाँ र दोस्रो हुनेलाई सात लाख रुपैयाँ पुरस्कार दिने पनि क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्